Comments Add Comment

कोरोना भाइरस : अमेरिकाका राम्रा र नराम्रा पक्षहरू

अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या पछिल्लो समय निरन्तर बढिरहेको छ । यसै साता अमेरिकामा एकैदिन ६० हजारभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् ।

भाइरस नियन्त्रणका लागि युरोप तथा एसियाका मुलुकहरूले जस्तो अमेरिकाले समयमा नै योजना ल्याउन नसकेका कारण पनि अमेरिकामा कोरोनाको असर कम हुन नसकेको विश्लेषकहरूको बुझाइ छ ।

एसियाली र युरोपेली मुलुकहरूले कोरोना रोकथामका लागि परीक्षण बढाउने र कन्ट्याक्ट ट्रेसिङ गर्ने काममा ध्यान दिँदा बिस्तारै यी क्षेत्रमा लगाइएको प्रतिबन्ध समेत हट्दै गयो । तर अमेरिकाले अहिलेसम्म पनि कोरोनाको जोखिम भोगिरहेको छ ।

अमेरिकामा कोरोना भाइरसको महामारी फैलिएको पाँच महिना पुगेको छ । यो समयसम्म अमेरिकामा के–के गलत र सही काम भइरहेको छ त ?

अमेरिकामा कोभिड रोकथाममा भएका कमजोरी

निकै छिटो लकडाउन खोल्नु

एक महिनाअघि अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या निकै कम र स्थिर देखिएको थियो । त्यतिबेला कोरोना भाइरसको संक्रमण केही सुस्ताएको थियो ।

यत्तिकैमा टेक्सास, क्यालिफोर्निया, फ्लोरिडा र एरिजोनाले कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको लकडाउन थप खुकुलो पार्ने निर्णय गरे । अन्य धेरै राज्यले पनि रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले तोकेको मापदण्ड पूरा नभई यस्तो निर्णय गरेका थिए । सीडीसीले १४ दिन निरन्तर कोरोना संक्रमितको संख्यामा कमी आएको र परीक्षणको तुलनामा पाँच प्रतिशतभन्दा कम संक्रमित भेटिएको खण्डमा लकडाउन खुकुलो बनाउन सकिने मापदण्ड बनाएको थियो ।

केही राज्यले सुरु गरेसँगै अमेरिकाका सबै राज्यले निकै छिटो लकडाउन खोल्ने निर्णय गरे । जसका कारण धेरै राज्यमा पुनः कोरोना भाइरसको संक्रमण बढ्न थाल्यो । अझै खराब अवस्था अमेरिकामा आउन सक्ने चेतावनी विशेषज्ञहरूले दिँदै आएका छन् । टेक्सास, क्यालिफोर्निया र एरिजोनामा नयाँ संक्रमितको संख्याले कीर्तिमानी कायम गर्न थालेपछि पुनः लकडाउन गर्नुपर्ने अवस्था आयो ।

कोरोना संक्रमितको संख्या बढ्नुको अर्को कारण पर्याप्त परीक्षण नगरिनु पनि हो । जसको कारण संक्रमित पहिचान गरेर उनीहरूलाई आइसोलेसनमा राख्न सकिएन । जसको कारण उनीहरूबाट संक्रमण फैलियो । तर अमेरिकाले परीक्षणलाई पुनः बढाउने निर्णय ग¥यो र अहिले उल्लेख्य मात्रामा परीक्षण भइरहेको छ ।

मास्क लगाउने विषयमा विभाजन

अमेरिकाको धेरै राज्यहरूमा लकडाउन खुकुलो पार्ने निर्णय भइसकेपछि कोरोना भाइरस नियन्त्रणको लागि गर्नुपर्ने महत्वपूर्ण काम भनेको मास्क लगाउनु हो । तर अमेरिकामा मास्क लगाउने वा नलगाउने भन्ने विषयमा त्यहाँ विभाजन कायमै छ । जुन महिनामा गरिएको एक सर्वेक्षणमा केवल ४९ प्रतिशत रिपब्लिकनले गत महिनाभर मास्क लगाएका थिए । डेमोक्रेटमा भने यो संख्या ८३ प्रतिशत थियो । यो विभाजनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैँले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले सार्वजनिक स्थलमा निस्किँदा पनि मास्क लगाउन अस्वीकार गरेका थिए । उनले विपक्षी नेताले पनि मास्क लगाएकोमा व्यङ्ग्य गरेका थिए ।

कारोनाप्रतिको बेवास्ता

कोरोना भाइरस नियन्त्रणको लागि सरकारले सार्वजनिक भेला र व्यवसाय सञ्चालनमा खुकुलो गरेसँगै मानिसहरूको पनि भिड बढ्यो । साथै नश्लीय विभेदविरुद्धको आन्दोलनले भौतिक दूरी कायम राख्ने र मास्कको प्रयोग गर्ने क्रम पनि कम भयो । साथै, युवाहरूलाई कोरोना भाइरसको जोखिम कम हुन्छ भन्ने समाचारको कारण युवाहरू बढी भिड भएको स्थानमा निर्वाध जान थाले जसको कारण धेरै युवाहरू संक्रमित भए । त्यसका साथै अमेरिकी राष्ट्रपति ट्रम्पले पनि अहिले अमेरिकामा ९९ प्रतिशत संक्रमितमा कोरोना भाइरसले कुनै हानि नगरेको बताएका थिए । तर विशेषज्ञहरूले भने ट्रम्पको भनाइमा कुनै सत्यता नरहेको र यो भाइरस निकै जटिल रहेको बताइसकेका छन् ।

शैक्षिक संस्था खोल्ने निर्णयप्रतिको आशंका

आगामी सेप्टेम्बरदेखि अमेरिकाले सबै शैक्षिक संस्थाहरूले खोल्ने निर्णय गरेको छ । यस्तो अवस्थामा विद्यालय प्रशासनहरूले पनि आगामी शैक्षित सत्रका लागि आफ्नो क्यालेण्डर निर्माण गर्न सुरु गरिसकेका छन् । तर अहिलेको अवस्थामा विद्यालय खोल्नु निकै घातक साबित हुन सक्ने विशेषज्ञहरूले बताइरहेका छन् ।

के छ सही कदम ?

न्युयोर्कमा सुधार

अमेरिकाका कोरोना भाइरसको महामारी बढ्दो क्रममा रहेको भए पनि न्युयोर्कको अवस्थामा भने सुधार आएको छ । कुनै समय कोरोना भाइरसको इपिसेन्टर बनेको न्युयोर्कमा अहिले कोरोना भाइरस नियन्त्रणमा देखिएको छ । अप्रिल ८ मा एकैदिन ७९९ जनाको मृत्यु भएको यो राज्यमा अहिले मृतकको संख्या एक अंकमा झरिसकेको छ । गत शुक्रबार गरिएको परीक्षणमा केवल एक दशमलव ३८ प्रतिशत मानिसमा मात्र कोरोना भाइरसको संक्रमण पाइएको थियो ।

अन्य राज्यमा लकडाउन पुनः लगाउने अवस्था आउँदा न्युयोर्कले भने लकडाउन थप खुकुलो बनाउँदै लगेको छ । विशेषज्ञहरूले न्युयोर्कलाई अमेरिकाको एक सफल कथाको रुपमा लिन थालेका छन् ।

अर्थतन्त्रमा सुधार

कोरोना भाइरसको महामारीमा अमेरिकाको अर्थतन्त्रको विषयमा धेरैले आशंका व्यक्त गरेका थिए । अमेरिकाले अहिलेसम्मकै ठूलो आर्थिक संकुचनको सामना गर्ने अनुमान पनि गरिएको थियो । तर अहिले भने अमेरिकाको अर्थतन्त्रमा सुधार आएको छ । मे महिनामा अमेरिकाको बेरोजगारी २० प्रतिशत नाघ्ने अनुमान थियो । यद्यपि यो संख्या १३ दशमलव ३ प्रतिशत थियो । जुन महिनामा बेरोजगारी ११ दशमलव ४ प्रतिशतमा झरेको थियो । अमेरिकी सेयर बजारमा भएको नोक्सानीमा पनि धेरैले आधाभन्दा धेरै फिर्ता पाइसकेका छन् ।

अन्य आर्थिक सूचकहरूले पनि अमेरिकाको अर्थतन्त्रमा सुधार आउन सुरु गरेको देखाएका छन् ।

विज्ञानमा अगाडि

कोरोना भाइरसको महामारीको समयमा अमेरिका वैज्ञानिक खोज तथा परीक्षणको हिसाबमा भने अगाडि देखिएको छ । अमेरिकामा उपचार र खोप निर्माणको हिसाबमा निकै तीव्र गतिमा काम भएको थियो । कोरोना भाइरसको उपचारको लागि अमेरिकाले रेमडेसिभिर औषधिको परीक्षण गरेको थियो । जसमा केही सकारात्मक नतिजा पाइएको थियो ।

त्यस्तै, अमेरिकाले प्लाज्मा थेरापीमा पनि केही सकारात्मक नतिजा आएको बताएको थियो । त्यस्तै, अहिले खोप निर्माणको काम पनि निकै तीव्र गतिमा अघि बढिरहेको अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार सन् २०२१ सम्म खोप बजारमा ल्याउने गरी अहिले खोप निर्माणको काम भइरहेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment