Comments Add Comment

म्याग्दीमा पहिरोमा बेपत्ताहरुको खोजी हुन सकेन, ३ पटक हेलिकप्टर नै फर्कियो

रघुगंगा खोलाले बगाएको पुल ।

२६ असार, पोखरा । म्याग्दीमा पहिरोमा परी बेपत्ता भएकाहरुको खोजीमा समस्या भएको छ ।

धौलागिरि गाउँपालिका–६ मराङमा २१, मालिका गाउँपालिका–७ बिममा विष्णु शर्मा र इच्छा पौडेलसहित ९ जना बेपत्ता छन् । मालिकाकै वडा नं ६ दुखुमा खोलाले बगाएर एक जना बेपत्ता छन् ।

पहिरोले बाटो र पुलै बगाइदिँदा उद्धार टोलीलाई पुग्नै मुश्किल परेको छ । मौसमले साथ नदिँदा ३ पटकसम्म हेलिकप्टर घटनास्थल पुग्न नसकेर फर्किएको छ ।

‘ठाउँ ठाउँमा पहिरोले बाटो नै बगाइदियो । रघुगंगा खोलाले पुलै बगाइदियो । उद्धार टोलीलाई पैदल मार्ग भएर जान समस्या पर्‍यो,’ म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘नेपाली सेनाको हेलिकप्टर २ पटक गयो तर मौसमका कारण पुग्नै सकेन । प्रभु एयरको हेलिकप्टर सानो हुने भएकाले पोखरादेखि मगाएका थियौं तर पानी र हुस्सुका कारण लुम्लेबाटै फर्किएको छ ।’

रात पर्दै गएकाले र फेरि पानी पर्न थालेकाले उद्धार टोलीलाई पुग्न समस्या पर्ने प्रजिअ ढकालले बताए । ‘अब आज उद्धार गर्न सकिँदैन होला । हेली जान नसकेपछि घटनास्थलमा घुमाउरो बाटो प्रयोग गरेर भए पनि उद्धार टोली जाँदैछ,’ उनले भने, ‘हामी पनि दरबाङसम्म जानका लागि हिँडेका थियौं तर बाटोभरि पहिरो नै पहिरो छ । मौसमका कारण पनि समरमुकाम फर्कियौं ।’

शुक्रबार विहान गएको पहिरोका कारण धौलागिरि गाउँपालिका–७ ताकममा ५१ वर्षीय जालिमा केसी र उनकै छोरा प्रकाश केसीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । रघुगंगा गाउँपालिका-६ मा गोठ जान हिँडेका ३४ वर्षका ललितमान छन्त्याल लापुखोला तर्ने क्रममा चिप्लिएर खोलामा खसेका थिए । उनको शव भेटिएको छ ।

पहिरोका कारण धौलागिरि गाउँपालिकाको मराङमा २०, ताकममा ५ र बिममा १० घर पहिरोमा पुरिएका छन् । मालिका गाउँपालिका–४ देवीस्थानमा पनि ५ घरमा पहिरोले क्षति पुर्‍याएको छ ।

प्रजिअ ढकालका अनुसार पहिरोले घरमा क्षति पुर्‍याएका ८० जनाको उद्धार भइसकेको छ भने २ सय जनाको उद्धार गर्न बाँकी छ । उद्धार गरिएकालाई पालिकाले खाने, बस्ने प्रबन्ध मिलाइरहेको छ ।

‘आज उद्धार टोली घटनास्थलसम्म पुग्ने र भोलिबाट उद्धारमा लाग्ने भन्ने छ,’ उनले भने, ‘सडक र सञ्चारकोसमेत सम्पर्क नहुँदा अप्ठेरो परिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment