Comments Add Comment

अरनिको राजमार्गमा ११ ठाउँमा ठूलो क्षति, बाटो खुलाउन पहल सुरु

सभामुख अग्नि सापकोटाले जनप्रतिनिधि र सडक विभागका अधिकारीहरुसँग अरनिको राजमार्ग खुलाउने विषयमा गरेको छलफल । तस्वीर : सभामुखको सचिवालय

२७ असार, काठमाडौं । गत बुधबार राति आएको बाढीपहिरोले अवरुद्ध भएको अरनिको राजमार्ग सन्चालनको पहल सुरु भएको छ । तत्कालीन उपाय अपनाएर सडक सम्पर्क स्थापित गर्ने पहल सुरु भएको हो ।

सडक सन्चालनको तयारीबारे सभामुख अग्नि प्रसाद सापकोटाले सरोकारवाला निकायका पदाधिकारीहरुसँग छलफल गरेका छन् ।

बिहीबार मात्रै सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेको जम्बु क्षेत्रको अवलोकन गरेर काठमाडौं फर्किएका सभामुख सापकोटाले शुक्रबार सिंहदरबारस्थित कार्यकक्षमा सम्बद्ध सरकारी अधिकारी, जिल्लाबाट प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री, स्थानीय तहका जनप्रतिनिधि र जिल्लाका राजनीतिक नेताहरुसँगको छलफलमा तत्कालीन उपाय अपनाएर टुटेको सडक सम्पर्क स्थापित गर्न पहल जारी राखेको जानकारी गराए ।

छलफलमा बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले क्षति भएका स्थानमा अस्थायी बाटो बनाएर सडक सम्पर्क स्थापित गर्नुपर्ने बताए ।

‘११ ठाउँमा ठूलो क्षति, बाटो बनाउने काम जारी’

असार २४ र २५ गते रातिको भारी वर्षापछि आएको बाढी र पहिरोका कारण अरनिको राजमार्गअन्तर्गत बाह्रविसे नगरपालिका र बलेफी गाउँपालिकाको सिमानामा पर्ने जुरेदेखि तातोपानीसम्मको बाटो अबरुद्ध छ

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले बाटो खुलाउने काम सुरु गरिसकिएको जानकारी दिए । कामका सिलसिलामा स्थानीय स्तरमा आउनसक्ने अप्ठेरोमा सहजीकरण गरिदिन सचिव कार्कीले जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

सडक विभागका महानिर्देशक केशव कुमार शर्माले अरनिको राजमार्ग अन्तर्गत जुरेदेखि तातोपानीसम्म ११ ठाउँमा ठूलो क्षति भएको जानकारी गराउँदै अवरुद्ध बाटो बनाउने काम जारी रहेको बताए । कुनै अवरोध नभए केही दिनमै बाह्रबिसेसम्मको बाटो सुचारु हुने उनले बताए ।

खागदल, झ्याले र डाकलाङमा गरी कम्तिमा तीनवटा बेलिब्रिज बनाउनुपर्ने प्रारम्भिक प्रतिवेदन आएको र स्थलगत अवलोकनपछि विस्तृत विवरण आउने जानकारी गराउँदै महानिर्देशक शर्माले स्थानीय तहहरुसँग भएका स्काभेटरहरु प्रयोग गरेर अबरुद्ध बाटो खुलाउन विभागले प्राविधिक सहयोग उपलब्ध गराउने बताए ।

सुरूमा एम्बुलेन्सल चल्ने बाटो

छलफलमा सहभागी नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा (सुवोध)ले बाढीले पक्की पुलसमेत बगाएकाले यथासक्य छिटो बेलिब्रिज बनाएर भए पनि बाटो खुलाउनुपर्नेमा जोड दिए । पहिलो चणमा एम्बुलेन्सलगायतका साना सवारीसम्म चल्ने बाटो बनाउने र दोस्रो चरणमा सामान ढुवानीका लागि बाटो बनाउनुपर्ने उनको सुझाव थियो ।

नेकपाका अर्का केन्द्रीय सदस्य सरल सहयात्रीले बाह्रबिसेदेखि जम्बुखण्डको बाटोमा धेरै क्षति पुगेकाले अस्थायी रुपमा बाटो सञ्चालनका लागि बाह्रबिसेदेखि खोलाबारीसम्मको बाटो मर्मत गरी जम्बुसम्म पुग्न सकिने बताए । त्यसका लागि स्थानीयस्तरमा सहजीकरण गरिने उनले बताए ।

नेकपाका सिन्धुपाल्चोक अध्यक्ष झम्क नेपाल र भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले स्थानीयस्तरमा आउने समस्या समाधान र सहजीकरणका लागि आफूहरुले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यही असार २४ र २५ गते रातिको भारी वर्षापछि आएको बाढी र पहिरोका कारण अरनिको राजमार्गअन्तर्गत बाह्रविसे नगरपालिका र बलेफी गाउँपालिकाको सिमानामा पर्ने जुरेदेखि तातोपानीसम्मको बाटो अबरुद्ध छ ।

बाढीपहिरोले अरनिको राजमार्गको बाह्रबिसे नगरपालिका अन्तर्गत जुरे सडकखण्ड, बाह्रबिसे चौकी नजिक हुँदै खुर्सानीबारी व्यारेक मुनिको सडक, खागदल खोलाको पक्की पुल, खागदल क्षेत्रको सडकखण्ड, खागदलदेखि जम्बु जाने सकडखण्ड, जम्बु बजार क्षेत्र, नयाँ पुल सडकखण्डमा क्षति पुगेको छ ।

यस्तै भोटेकोशी गाउँपालिका अन्तर्गत बुल्कुटे पुल र सडकखण्ड, डाक्लाङ सडकखण्ड, खोकुण्डोल सडकखण्ड, लार्चा बेलिब्रिज क्षेत्रको सडकखण्ड, १० किलो सडकखण्ड र तातोपानी–धारामाथिको सडकखण्डमा पनि क्षति पुगेको छ ।

बाढी र पहिरोमा परेर २ जनाको मृत्यु भएको छ भने २० जना वेपत्ता भएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment