Comments Add Comment

सुरक्षा सतर्कताका साथ अन्तर्राष्ट्रिय उडान खुलाउनुपर्ने पक्षमा पर्यटन व्यवसायी

शरद ऋतुभित्रै २० प्रतिशतसम्म पर्यटक आउने दावी

२७ असार, काठमाडौं । कोरोनाको सन्त्रास र हवाई उडान स्थगनले गर्दा नेपालमा करिब ४ महिनादेखि विदेशी पर्यटकको आगमन ठप्प छ । यसबाट आहत भएका पर्यटन व्यवसायी सरकारले चाँडो अन्तर्राष्ट्रिय उडान खुलाउने र पर्यटक आउन थाल्ने आशामा छन् ।

सरकारले सुरक्षा निर्देशिका पालना गर्ने गरी अन्तर्राष्ट्रिय उडान खुलाउने हो भने शरद ऋतुभित्रै करिब २० प्रतिशत पर्यटक नेपाल भ्रमणमा आउने अनुमान व्यवसायीको छ । अहिले विदेशबाट पर्यटकको चासो र  सोधखोज विस्तारै शुरु भएको ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) ले जनाएको छ ।

टानका अध्यक्ष खुमबहादुर सुवेदीले वसन्त ऋतुमा बुकिङ गरेर रद्द भएका पर्यटक नेपाल आउन चाहिरहेको बताए । आगामी असोज–कात्तिकमा पूर्ण सुरक्षा प्रवन्ध अपनाएर पर्यटकीय गतिविधि संचालन गर्ने हो भने उनीहरु नेपाल भ्रमणमा आउने उनको भनाइ छ ।

‘नेपाल विश्वका अन्य मुलुकको तुलनामा अझै पनि सुरक्षित गन्तव्य हो,’ सुवेदीले भने, ‘हाम्रो पर्यटन शहरभन्दा गाउँकेन्द्रित छ । मानिससँग नजिक नभइकनै पनि घुमघाम सम्भव हुने भएकाले नेपालमा पर्यटक आउन चाहन्छन् ।’

शरद ऋतुमा केही गतिविधि सुरु नभएमा एकसाथ धेरै व्यवसायी पलायन हुने अवस्था आउने टानका अध्यक्ष खुमबहादुर सुवेदीले बताए

खासगरी पदयात्रा र पर्वतारोहणमा पर्यटकको चासो बढी देखिएको उनले जानकारी दिए । यसमा समुदायसँग पर्यटक र पर्यटकसँग समुदायसमेत टाढै रहने हुनाले साहसिक पर्यटकहरु नेपाल आउन चाहिरहेको उनी बताउँछन् ।

नेपालमा शरद ऋतुमा पदयात्राका लागि बढी पर्यटक आउने गर्छन् । वसन्त ऋतुमा भने बढी पर्वतारोहण हुने गर्छ ।

व्यवसायी के गर्दैछन् ?

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार अहिले देशभर ३ हजार ६ सय ८० वटा ट्राभल एजेन्सी छन् । ट्रेकिङ एजेन्सीको संख्या २ हजार ७ सय ८० छ । ¥याप्mटिङसँग सम्बन्धित एजेन्सीको संख्या ८१ छ ।

कोरोना भाइरसको विश्वव्यापी महामारीसँगै अहिले यी सबै व्यवसाय ठप्प छन् । टानका अध्यक्ष सुवेदीका अनुसार व्यवसायी ‘पर्ख र हेर’ को अवस्थामा छन् । उनीहरु अब सरकारले क्रमशः हवाई र पर्यटकीय यातायात सुरु गरोस् भन्ने चाहन्छन् । त्यसअगाडि कोरोनाबाट बच्न अपनाउनु पर्ने सबै सावधानी अपनाएर सेवा सुरु गर्न व्यवसायी तयार रहेको उनले बताए ।

यता होटेल व्यवसायीसमेत सेफ्टी प्रोटोकल पूरा गरी व्यवसाय संचालन गर्न तयार छन् । सोहीअनुसार पर्यटन र होटेल व्यवसायीले सरकारको ध्यानाकर्षण समेत गरिरहेका छन् । कम्तिमा शरद ऋतुमा केही गतिविधि सुरु नभएमा एकसाथ धेरै व्यवसायी पलायन हुने अवस्था आउने टानका अध्यक्ष खुमबहादुर सुवेदीले बताए ।

‘हामी सहज परिस्थितिको प्रतिक्षा गरिरहेका छौं,’ उनले भने, ‘तर, आगामी सिजनमा पर्यटकीय गतिविधि सूचारु होस भन्ने हामी चाहन्छौं ।’

होटेल र एयरलाइन्स तयार

सरकारले विदेशबाट नेपालीहरुको उद्धारको काम जारी राखेको छ । तर, व्यवसायीक उडान कहिलेबाट शुरु हुन्छ भन्ने टुंगो छैन ।

व्यवसायी भने आफ्नो तर्फबाट सबै तयारी पूरा गरी सेवा सुरु गर्न सक्ने अवस्थामा छन् । ‘सार्वजनिक यातायातभन्दा हवाई यात्रा सुरक्षित हो,’ एक हवाई उद्यमीले अनलाइनखबरसँग भने, ‘सार्वजनिक सवारी चढ्दा ८ घण्टासम्म हुने जोखिमको यात्रा हवाईजहाजबाट ३० मिनेटमा गर्दा जोखिम पनि कम हुने थियो ।’

त्यसमाथि जहाज चढ्दा पूर्ण सुरक्षा अपनाइने भएकाले कोरोना सर्ने सम्भावना समेत कम हुने उनको भनाइ छ । यता, होटेल व्यवसायीले समेत अब सेवा सुरु गर्न तयार रहेको बताएका छन् । सोही अनुसार नेपाल पर्यटन बोर्डले निजी व्यवसायीलाई तालिमसमेत प्रदान गरिरहेको छ ।

सरकारको तयारी के छ ?

यता, पर्यटनमन्त्री योगेश भट्टराई भने तत्काल हवाई उड्डयन सुरु गर्ने पक्षमा छैनन् । यदि जहाजबाट आउनेहरुमा कोरोना संक्रमण भेटिएमा त्यसको अपजस आफूले भोग्नुपर्ने उनको चिन्ता छ ।

केही दिन अगाडि लकडाउनयता मन्त्रालयको तर्फबाट भएका काम सार्वजनिक गर्न आयोजित कार्यक्रममा मन्त्री भट्टराईले भनेका थिए, ‘अब पर्यटनले त्यो अपजस लिन चाहँदैन, जहाज चढेर आएका यात्रुमा कोरोना देखिनासाथ हामीले दोष बोक्नु परेको थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment