Comments Add Comment

रोनाल्डोको दुई पेनाल्टी गोलले पनि जिताउन सकेन युभेन्ट्सलाई, एटलान्टासँग बराबरीमा रोकियो

दोस्रो स्थानको लाजियो पराजित

२८ असार, काठमाडौं । क्रिस्टियानो रोनाल्डोले पेनाल्टीबाट दुई गोल गर्दा पनि सिरी एमा लिग लिडर युभेन्ट्स तेस्रो स्थानको एटलान्टासँग बराबरीमा रोकिएको छ । रोनाल्डोले ९०औं मिनेटमा गोल गरेपछि युभेन्ट्सले एटलान्टासँग २-२ को बराबरी खेल्दै अंक बाँडेको हो ।

त्यसअघि दोस्रो लाजियो ससुलोसँग २-१ ले पराजित भएको थियो । यसले युभेन्ट्सलाई शीर्ष स्थानमा अग्रता बढाउने मौका थियो भने एटलान्टालाई दोस्रो स्थानमा उक्लन मौका थियो । तर दुवै टिमले बराबरीपछि १-१ अंक बाँडेका छन् । युभेन्ट्सले दुई पटक पछि परेको स्थिति उल्टाउँदै पुनरागमन गरेर बराबरी गरेको हो ।

युभेन्ट्सको मैदानमा भएको खेलमा डुभान जापाट्टाले १६औं मिनेटमा गोल गर्दै एटलान्टालाई अग्रता दिलाएका थिए । ५५औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल फर्काउदै खेल बराबरी गरे । ८१औं मिनेटमा रुस्लान मालिनोभ्स्कीले गोल गर्दै एटलान्टालाई २-१ को अग्रता दिलाए ।

एटलान्टा जित नजिक पुगेको बेला ९०औं मिनेटमा युभेन्ट्सले पेनाल्टी पायो र त्यसमा रोनाल्डोले गोल गर्दै खेल बराबरी गरे । जसबाट एटलान्टा जितबाट बन्चित रह्यो । लुइस मुरियलले ह्याण्ड गरेपछि युभेन्ट्सले पेनाल्टी पाएको थियो ।

बराबरीपछि युभेन्ट्स ३२ खेलबाट ७६ अंकसहित शीर्ष स्थानमै यथावत छ । समान खेलबाट ६७ अंक जोडेको एटलान्टा तेस्रो स्थानमा छ ।

उता दोस्रो स्थानको लाजियो ससुलोसँग पराजित हुँदा युभेन्ट्ससँग अंक छोट्याउने मौका गुमायो । लाजियोले अग्रता जोगाउन नसक्दा हार बेहोरेको हो ।

लुइस अर्बटोले ३३औं मिनेटमा गोल गर्दै लाजियोलाई अग्रता दिलाएका थिए । ५२औं मिनेटमा जियकोमो रासपाडोरीले लाजियोको लागि बराबरी गोल फर्काए । फ्रान्सेस्को कापुटोले इन्टुरी टाइममा गोल गरेपछि ससुलोले पुनरागमन जित हात पारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment