Comments Add Comment

चितवनमा प्रचण्डको गर्जन : पार्टीमा कोही दलाल, कोही महान राष्ट्रवादी छैन

‘नक्सा जारी गर्न मैले निर्देशन दिएको हुँ, के यो लम्पसारवाद हो ?'

२८ असार, चितवन । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीभित्र कसैलाई राष्ट्रघाती दलाल र कसैलाई महान राष्ट्रवादी भन्दै जिन्दावाद र मूर्दावादको नारा नलगाउन कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको चितवन पुगेका प्रचण्डले आइतबार यहाँ आयोजित कर्यक्रममा आफूलाई विगतमा केपी ओलीले लम्पसारवादी भनेर आरोप लगाएको तर, इतिहासले त्यसलाई गलत सावित गरिदिएको बताए ।

केपी ओली पहिलोपटक प्रधानमन्त्री भएका बेला माओवादीले एमालेलाई दिएको समर्थन फिर्ता लिएर कांग्रेससँग गठबन्धन बनाएको प्रसंग कोट्याउँदै प्रचण्डले भने, ‘केही साथीहरुलाई लाग्यो, म लम्पसारवादी भएँ, यो लम्पसारवाद भयो, साथीहरुले कडा आलोचना गर्नुभयो । मैले संसदको रोस्टमबाट भनेको थिएँ, यो लम्पसारवाद होइन । यो हाम्रो आन्तरिक विवादको कुरा हो, भोलि इतिहासको घटनाक्रमले देखाउने छ, हो या होइन भन्ने कुरा ।’

‘केपी ओली प्रधानमन्त्री हुँदा चीनसँग ट्रेड एण्ड ट्रान्जिट सम्झौता भयो, म प्रधानमन्त्री हुँदा बीआरआई सम्झौता भयो । के यो लम्पसारवाद हो ?’

अध्यक्ष प्रचण्डले अगाडि भने, ‘केपी ओली प्रधानमन्त्री हुँदा चीनसँग ट्रेड एण्ड ट्रान्जिट सम्झौता भयो, म प्रधानमन्त्री हुँदा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता भयो । के यो लम्पसारवाद हो ? फास्ट ट्रयाक निर्माण के होला भन्ने थियो, मैले त्यसको जिम्मा नेपाली सेनालाई दिएँ, के यो लम्पसारवाद थियो ?’

आफू प्रधानमन्त्री भएपछि मधेसवादी दलहरुलाईसमेत समेटेर निर्वाचन सफल पारेको र लोडसेडिङको अन्त्य गरेको प्रचण्डले सुनाए । उनले भने, ‘संविधान त बन्यो, निर्वाचन हुन्छ त ? भन्ने थियो । मैले मधेसीहरुलाई पनि भरोसामा लिएर देशलाई निर्वाचन प्रक्रियामा अगाडि बढाएँ, त्यो लम्पसारवाद थियो त ?’

यस विषयमा प्रधानमन्त्री केपी ओलीसँग खुल्लमखुल्ला कुरा हुने गरेको प्रचण्डले सुनाए ।

‘पार्टीमा कोही दलाल, कोही महान राष्ट्रवादी छैन’

प्रचण्डले पार्टीमा कसैलाई दलाल र कसैलाई महान राष्ट्रवादी भन्दै जिन्दावाद र मूर्दावादको नारा नलगाउन कार्यकर्तालाई आग्रह गरे ।

करिब २७ मिनेट भाषण गरेका अध्यक्ष प्रचण्डले भने, ‘यो पार्टीलाई एकतावद्ध राख्नु नै छ । यहाँ कोही राष्ट्रघाती दलाल, कोही महान राष्ट्रवादी भन्ने होइन । हामी सबै मिलेरै नाकाबन्दीको सामना गरेको हो । हामी सबै मिलेरै नक्सा बनाएको हो । के राष्ट्रवाद जिन्दावाद र मूर्दावादको कुरा हो ? पार्टीभित्र जिन्दावाद र मूर्दावाद भन्ने कुरा हो त ?’

अध्यक्ष प्रचण्डले पार्टी फुट्ने र कार्यकर्ताहरु यता उता दौडनुपर्ने अवस्था नआउने बताए । र, यसका लागि नेतृत्वलाई खबरदारी गर्नसमेत उनले चितवनवासीलाई आग्रह गरे । ‘मेरो तपाईं सबै कमरेडहरुलाई विनम्रतापूर्व आग्रह छ, म फेरि दोहोर्‍याउँछु, यो पार्टीलाई विभाजन हुन दिइने छैन । पार्टी एकतावद्ध हुन्छ, तपाईहरुले अहिले यता र उता दौडिनुपर्ने परिस्थिति नआओस् भनेर म तपाईहरुलाई अपील गर्न चाहन्छु’ उनले भने, ‘सबैले जिन्दावादको नारा लगाऔं, यही नै यो राष्ट्रको हितमा छ । पार्टी र देशको हितमा छ ।

प्रचण्डले अगाडि भने, ‘अस्ति मेरै नेतृत्व चलेको बैठकमा पहिलो एजेण्डा सीमा सुरक्षा र समाधान थियो । त्यहाँ मैले बोल्दा होस् या अरु सबैले बोल्दा, सरकारलाई धन्यवाद दिइएको छ । केपी ओलीलाई धन्यवाद दिइएको छ, पार्टीको निर्णयले मात्रै पुग्दैनथ्यो, प्रधानमन्त्रीको हैसियतले अन्त्यमा तपाईले औपचारिकता दिनुभयो, धन्यवाद भनियो ।’

‘नक्सा जारी गर्न मैले निर्देशन दिएको हुँ’

कार्यकारी अध्यक्ष प्रचण्डले लिम्पियाधुरा समेटिएको नक्सा जारी गर्न सरकारलाई आफूले नै निर्देशन दिएको र त्यसलाई प्रधानमन्त्री केपी ओलीले औपचारिकता दिएको बताए ।

यसबारे व्याख्या गर्दै प्रचण्डले भने, ‘मलाई कुन अर्थमा गर्व छ भने मंसिर ४ गते मलाई पार्टीको कार्यकारी अध्यक्षसहित पार्टी सञ्जालनको जिम्मा भनिएको थियो । यद्यपि त्यो रामैसँग लागू हुन पाएन । तर, पनि मलाई कार्यकारी भनिएको लगत्तैपछि पहिलो स्थायी समितिको बैठक मंसिरको अन्तिममा भयो । त्यसबेला भारतले नक्सा प्रकाशित गर्‍यो र मैले स्थायी समतिको बैठकमा हामीले पनि तुरुन्तै नक्सा प्रकाशित गर्नैपर्छ, हाम्रो भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा हामीले पनि तुरुन्तै प्रकाशित गर्नुपर्छ भनेर स्थायी कमिटीबाट सर्वसम्मत निर्णय गराएको छु । त्यो लम्पसारवाद हो ?’

त्यसपछि माघमा सम्पन्न केन्द्रीय समितिको बैठकबाट ढीलो नगरी लिम्पियाधुरादेखि लिपुलेक र कालापानीसहितको भूभाग समेटिएको नक्सा प्रकाशित गर्नुपर्दछ र जरुरी पर्दछ भने हामीले त्यसलाई संवैधानिक व्यवस्था पनि गर्नुपर्दछ भनेर आफूले केन्द्रीय समितिमा पनि भनेको प्रचण्डले सुनाए ।

‘केन्द्रीय समितिले अविलम्ब नक्सा प्रकाशित गर भनेर सरकारलाई निर्देशन दियो, के यो लम्पसारवाद हो ?’ प्रचण्डले भने, ‘कमरेडहरु हामी सबैले छातीमा हात राखेर यो पार्टीलाई एकतावद्ध गर्नका लागि सच्चाइ के हो भने एउटा कम्युनिष्ट स्पिरिटमा बुझ्नुपर्दछ । चितवन जिल्लाले नेताहरुलाई सावधान रहन खबरदारी गर्नुपर्छ ।’

चीनको पार्टी फुटेन, हाम्रो पनि फुट्न दिइन्न

स्थायी कमिटीको बैठक जारी नै रहेकाले अध्यक्षको हैसियतमा त्यसबारे आफूले धेरै बोल्न नमिल्ने बताउँदै प्रचण्डले भने, ‘स्थायी कमिटीको बैठक चालु नै छ, पार्टीको अध्यक्षको हैसियतले निर्णय अगाडि नै भन्न उचित हुँदैन भन्ने तपाईंहरुले बुझ्नुहुनेछ ।

‘अहिले पार्टीभित्रको जटिलता, केही समस्या अनुभूत गर्नुभएकै छ । मैले नबोले पनि…’ प्रचण्डले भने, ‘मैले के भन्न चाहन्छु भने पार्टी विभाजन हुन दिइने छैन । हिजो गरेका संकल्प सहमति र समझदारीसहित ।’

यो पनि पढ्नुहोस मैले हतार गरेको भए के हुन्थ्यो भन्न सक्दिनँ : प्रचण्ड

चीनमा करोडौं सदस्य संख्या रहेको कम्युनष्टि पार्टी माओका पालादेखि सी जिनपिङका पालासम्म आइपुग्दा पनि एकढिक्का रहेको प्रचण्डले उदाहरण दिँदै भने, ‘त्यति बिशाल पार्टी विभाजित नभइकन एकतावद्ध रहन सक्यो । अहिले सी जिनपिङको नेतृत्वमा हुँदा पनि पार्टी फुटेको छैन ।’

प्रचण्डले भने, ‘हामी एकतावद्ध छौं । हामीले यो एकता सजिलै प्राप्त गरेको कुरा पनि होइन । यो एकतासम्म आउन हामीले धेरै ठूलो संघर्ष, धेरै ठूलो मेहनत, धेरै ठूलो बहस गरेका छौं । कुनै पनि पार्टीको विकास या विनास बाह्य कारणले पनि भूमिका त खेल्छ, तर प्रमुख कारण आन्तरिक नै हुन्छ ।

कोरोनासँगै बाँच्न र हिँड्न सिकौं

आफ्नो गृहजिल्ला चितवनमा बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि आएका प्रचण्डले कार्यकर्ता भेलादेखि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकसम्म राजनीतिक विषयका साथै कोरोनाका बारेमा पनि चर्चा गर्न छुटाएनन् ।

आइतबार बिहान जिल्ला प्रशासन कार्यालय चितवनको विपद् व्यवस्थापन समितिको बैंठकमा नेकपा अध्यक्ष प्रचण्डले भारतीय चर्चित अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोनाको संक्रमण भएको स्मरण गर्दै उच्च तहमा बस्ने र सावधानी अपनाउनेहरुलाई समेत कोरोना लागेको बताए ।

प्रचण्डले चितवनका सडकमा मानिसहरुको भिडभाड, विना मास्क पनि भइरहेको आवात–जावत देखेर आफ्नो दिमागमा दुईथरी कुरा पैदा भएको अनुभव सुनाए ।

प्रचण्डले भने, ‘यसो बजारतिर हेर्दा मानिसहरु केही नभएजस्तो गरी विनामास्क बडो तडक–भडक गरेर हिँडिरहेको देखेँ, साँच्चै मान्छेमा पैदा भएको भय कम भएछ, जनताले यसलाई सहज ठानेछन् जस्तो पनि लाग्यो, साथसाथै अर्कोतिर कतै कोरोना संक्रमण फैलिएर भयावह हुने हो कि भन्ने डर पनि पैदा भयो ।’

यो पनि पढ्नुहोस माडीमा दीर्घकालीन महत्वका काम गरेरै छाड्छु : प्रचण्ड

प्रचण्डले कोरोनासँगै हिँड्न र बाँच्न सिक्नुपर्ने बताए । ‘यो दुई–चार दिनमा नै हराउने रोग रहेन, वर्षौं लाग्ने देखियो । भ्याक्सिन बने पनि यो रोग निर्मूल हुँदैन । टीबीको उपचार भए पनि रोग त बाँकी छ नि त्यस्तै हुन्छ’ प्रचण्डले भने, ‘अब कति दिन डराएर बस्ने ? त्यसैले कोरोनासँगै हिँड्न र बाँच्न सिक्नुपर्छ । मान्छेले जित्छ, मानव जातिले जित्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment