Comments Add Comment

दाङमा फेरि भित्रियो सलहको हुल

फाइल तस्वीर

२८ असार, काठमाडौं । दाङको अन्न भण्डार मानिने देउखुरी उपत्यकामा पुनः सलह किराको हुल प्रवेश गरेको छ । राप्ती गाउँपालिका वडा नं. २, ३ र ४ मा ठूलो संख्यामा सलह किरा देखिएको छ ।

सलहको अर्को सानो समूह गढवा गाउँपालिकाका वडा नं २ महदेवा र वडा नं ३ धैरेेेनीमा पनि देखिएको थियो ।

गाउँ ढाक्ने गरी सलह किरा आकाशमा उडेको देख्नासाथ मानिसहरु आआफ्नो खेतबारीमा पुगेर रित्ता भाँडा ठटाइरहेका छन् । किसानहरुले सलह किरा भगाउन थाल, जर्किन, टिनका भाँडा ठटाउने गरे पनि, हल्लाखल्ला गरे पनि कतिपयको मकैबाली सलह किराले खाएर सखाप पारेको राप्ती गाउँपालिकाको लालमटियाका बासुदेव न्यौपानेले बताए ।

‘दिउँसो एक बजेदेखि प्यूठानतिरबाट सलह किरा आयो,’ न्यौपानेले भने, ‘किसानहरु आफ्ना बालीनाली जोगाउने प्रयास गरिरहेका छन् ।’ देउखुरी क्षेत्रमा आज घाम लागेको छ ।

यसअघि १६ असारमा पनि देउखुरी क्षेत्रमा सलह किराले मकैबाली सखाप पारेको थियो । फेरि पनि सलह किरा आएपछि किसानहरु त्रसित भएका छन् ।

‘अस्तिको सलहको झुण्ड त स्याम्पल भनेजस्तै रहेछ, आज त करोड होलान्,’ न्यौपानेले भने ।

दाङ देउखुरीको सिमाना प्युठानको दरबान क्षेत्रमा पनि सलह आएको स्थानीयले बताएका छन् । तर सलहको हुलले पुर्याएको क्षतिको विवरण भने आइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment