Comments Add Comment

एक महिनामा बाढी र पहिरोबाट ८५ जनाको मृत्यु, ४६ जना बेपत्ता

२९ असार, काठमाडौं । पछिल्लो एक महिनामा नेपालमा बाढी, पहिरो र डुवानका कारण ८५ जनाको मृत्यु भएको छ भने ४६ जना बेपत्ता भएका छन् ।

राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणका अनुसार जेठ ३१ गतेदेखि असार २९ गतेसम्म भएका बाढी, पहिरो र डुवानका घटनामा १५ भन्दा बढी जिल्ला प्रभावित भएका छन् । यस क्रममा ५० जना घाइते भएका छन् भने १३४ घर क्षति भएको छ ।

सबैभन्दा बढी मानवीय क्षति म्याग्दीमा भएको छ । असार २६ गतेको पहिरोले म्याग्दीमा २८ जनाको मृत्यु, ४ जना बेपत्ता र १२ जना घाइते भएका छन् । पहिरोका कारण ३७ घर प्रभावित भएको छ ।

प्राधिकरणका अधिकारीले सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा दिएको जानकारीअनुसार जेठ ३१ गते पर्वतमा पहिरोमा परी ९ जनाको मृत्यु र १ जना घाइते भएका छन् । यहाँ २ वटा घर पुरिएको छ । असार ८ गते पाल्पाको तानसेन नगरपालिमा पहिरोका कारण ४ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । २ वटा घरमा क्षति पुगेको छ ।

असार १९ गते बझाङमा गएको पहिरोका कारण ७ जनाको मृत्यु, १ जना बेपत्ता र १ जना घाइते भएका छन् । पहिरोका कारण १७ घर प्रभावित भएका छन् ।

असार १८ गते गुल्मीमा ४ जनाको मृत्यु, ७ जना घाइते र १ जना बेपत्ता भएका छन् । पहिरोका कारण ५ घरमा क्षति भएको छ ।

असार २५ गते सिन्धुपाल्चोकमा बाढीका कारण ३ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् । त्यस्तै ५ जना घाइते र ५० घरमा क्षति भएको छ ।

असार २६ गते लमजुङमा ३ जनाको मृत्यु भएको छ भने एउटा घर डुबेको छ । असार २६ गते नै कास्कीमा ७ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

रुकुम पश्चिममा असार २६ गते नै पहिरोका कारण २ जनाको मृत्यु भएको छ । त्यसै दिन जाजरकोटमा ११ जनाको मृत्यु, ३ जना बेपत्ता र २ जना घाइते भएका छन् ।

असार २६ गते गुल्मीमा पहिरोले १ जनाको मृत्यु भएको छ । असार २८ गते सर्लाहीमा बाढीका कारण १ जनाको मृत्यु भएको छ ।

असार २८ गते संखुवासभामा पहिरो जाँदा ११ जना बेपत्ता भएका छन् भने ८ घरमा क्षति भएको छ । असार २९ गते सोमबार तनहुँमा पहिरोका कारण ६ जनाको मृत्यु, ५ जना बेपत्ता भएका छन् । अन्य केही जिल्लामा बाढी र पहिरोका घटना भए पनि मानवीय क्षति नभएको प्राधिकरणले जनाएको छ ।

बाढी र पहिरोका कारण पछिल्लो एक हप्तामा बढी क्षति भएको छ । अत्यधिक वर्षा भएका कारण जनधनको क्षति बढी भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment