Comments Add Comment

उम्मेदवारी घोषणा गर्दै चन्द्र ढकालले भने-चुनाव जितेर गोल्छा टिमकै सदस्य हुन्छौं

३० असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावका लागि बरिष्ठ उपाध्यक्षसहितका पदमा चन्द्र ढकालले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । यो प्यानलबाट ढकाल बरिष्ठ उपाध्यक्ष पदको उम्मेदवार हुनेछन् ।

उनले आफ्नो प्यानल विजयी हुने दावी पनि गरेका छन् । ढकाल समूहले बुधबार कार्यक्रम गरेर प्यानल घोषणा गरेको हो ।

ढकालले वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अर्का प्यानललाई सहयोग गर्न खोजेको भन्नेतर्फ संकेत गर्दै चुनाव जितेर गोल्छाकै टिमको सदस्य हुने बताए । यद्यपि उनले गोल्छाको भूमिकाको विषयमा भने असन्तुष्टि जनाएका छन् ।

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्नुपर्छ भन्ने पक्षमा आफू उभिएको भन्दै उनले आफूले यस विषयमा नलागेको भए अवस्था फरक हुने बताए । गोल्छाले बरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार किशोर प्रधान समूहलाई सर्मथन गर्ने संकेत गरिसकेका छन् । ढकालले भने गोल्छालाई विगत सम्झन भनेका छन् ।

‘म शेखरजीलाई एउटा प्रश्न सोध्न चाहान्छु, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था केको लागि गरियो ?’ उनले भने, ‘वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने विषयमा म उभिएको हो, नउभिएको भए थाहा छैन अवस्था के हुने थियो ।’

ढकाल हाल महासंघको उपाध्यक्ष हुन् । ढकाल समूहबाट जिल्ला-नगरउपाध्यक्षमा गुणनिधि तिवारीलाई उठ्दैछन् । उनी हाल महासंघको प्रदेश ५ कमिटीको अध्यक्ष छन् ।

वस्तुगत उपाध्यक्षमा भने वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ नै दोहोरिने भएका छन् । यसैगरी एशोसिएट उपाध्यक्षमा ढकाल समूहले रामचन्द्र संघईलाई उम्मेदवार बनाउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment