Comments Add Comment

तिलावे नदीमा पौडी खेल्ने क्रममा एकजना बालक बेपत्ता

बेपत्ता बालकको खोजी गर्दै विपद् व्यवस्थापन गुल्मको टोली । 

३० असार, वीरगञ्ज । पर्साको तिलावे खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालक बेपत्ता भएका छन् । वीरगञ्ज महानगरपालिका–१९ बिन्दवासिनी बस्ने मुकेशकुमार साह कलवारको १२ वर्षीय छोरा सुमितकुमार साह कलवार बेपत्ता भएको स्थानीयले बताएका छन् । वीरगञ्जमा पढ्दै आएका उनी लकडाउनका कारण घरमा गएर बसेका थिए ।

उनीसहित ६ जना बालक पौडी खेल्न तिलावे नदीमा गएका थिए । पौडी खेल्ने क्रममा सुमित बेपत्ता भएको स्थानीयको भनाइ छ । उनीसँगै पौडी खेल्न गएका साथीहरुले सुमितलाई खोलाले बगाएको जानकारी दिएका थिए ।

बिन्दबासिनीकै रोहित कुमारले खोलामा शौच गर्न गएको बेलामा डुब्न लागेको देखेर एक जनाको उद्धार गरेको बताए । ‘म र एक जना साथी तिलावे खोलामा शौच गर्न गएका थियौं, पानीमा एउटा बालक चिच्याइरहेको थियो, त्यसपछि किनारबाट हात दिएर निकालेका हौं,’ उनले भने, ‘कति जना पौडी खेल्न गएको हो, कतिजना बेपत्ता छन् ? मलाई जानकारी छैन ।’

स्थानीयले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय पर्सा, विपद् व्यवस्थापन गुल्मको टोली गएर बालकको खोजी गरिरहेका छन् । नदीको पानी धमिलो र बहाव पनि बढी भएका कारण खोज्न समस्या भइरहेको छ । बेपत्ता बालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए ।

‘लाइफ ज्याकेटसहित पौडीवाजको टोलीलाई खोज्न लगाएका छौं, भारतीय सीमा क्षेत्रसम्म खोजी भइरहेको छ,’ उनले भने, ‘ अहिलेसम्म बालक फेला परेको छैन, कोसिस जारी छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment