Comments Add Comment

२ जना बेपत्ता भएपछि मेलम्चीको सुरुङ परीक्षण स्थगित

३० असार, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण रोकिएको छ । मंगलबार आयोजनाको अम्बाथानस्थित फ्लसिङ (आवश्यक गर्दा पानी फाल्न बनाइएको) गेट एक्कासी खुलेर दुर्घटनापछि आयोजनाको परीक्षण स्वरुप पानी हाल्ने काम रोकिएको हो ।

मंगलबार दिउँसो परीक्षणका क्रममा रहेको सुरुङको फ्लसिङ गेटमा पानी चुहावटको दर निरीक्षण गर्न गएका ४ जनालाई गेट फुटेर आएको पानीले बगाएको थियो । त्यसमध्ये २ जनाको उद्धार भएको छ भने दुई जना बेपत्ता छन् ।

चिनियाँ कम्पनीकातर्फबाट गेटको निरीक्षणमा गएका एकजना इन्जिनियर र आयोजनाका सवारी चालक मेलम्चीमा बेपत्ता भएका हुन् । परमर्शदाता इप्टिसा र मेलम्ची खानेपानी बोर्डका एक–एक जना इन्जिनियर घाइते छन् ।

आयोजनाका प्रवक्ता राजेन्द्र पन्तका अनुसार अनुसार विहानको खाना खाएपछि उनीहरु सुरुङमा पानी चुहावटको अवस्था अध्ययन गर्न अम्बाथानको अडिट टनेल (मुख्य सुरुङमा जान बनाइएको सुरुङ) हुँदै फ्लसिङ गेटमा पुगेका थिए ।

तर, उनीहरु त्यहाँ पुगेकै बेला सुरुङमा पानीको चाप अत्यधिक भएर गेटको मेकानिकल नटहरु फुस्किएको थियो । सुरुङभित्र पानीको चापले पानीले गेट नै खोलेपछि उनीहरुलाई पानीको बेगले मेलम्ची खोलामा ल्याएर खसालेको थियो ।

हाल प्रहरीले बेपत्ताको खोजी गरिहरहेको छ । दुर्घटनापछि हाललाई मेलम्चीको अस्थायी बाँधबाट सुरुङमा पानी हाल्न पूर्ण रुपमा रोकिएको छ । अब सुरुङलाई खाली गरेर गेटहरुको अवस्था निरीक्षण गरेपछि मात्रै पुनः पानी हालिने प्रवक्ता पन्तले बताए ।

‘दुःखद घटना भयो, अब अरु पनि फ्लसिङ गेटहरुको अवस्था हेर्छौं,’ उनले भने, ‘यस्तो समस्या दोहोरिन नदिन के गर्ने भन्ने योजना अब परामर्शदाता र ठेकेदारले बनाउँछन्, त्यसैअनुसार काम हुन्छ ।’

सरकारले २१ असारदेखि मेलम्ची सुरुङमा पानी हालेर परीक्षण सुरु भएको थियो । हाल अम्बाथानबाट ग्याल्थुमतर्फको सुरुङ भरिने क्रममा थियो । करिब २७ किलोमिटरको सुरुङ नभरिँदै समस्या भएपछि पुनः खाली गर्न लागिएको छ । आयोजनाले सुरुङ भरिन १५ देखि २० दिन लाग्ने बताएको थियो ।

परीक्षणका लागि प्राविधिक मापदण्डअनुसार प्रतिसेकेन्ड २६० लिटर पानीका दरले सुरुङमा पानी प्रवाह गरिए पनि सुरुङभित्र पानीको चाप बढ्दै जाँदा अहिले जडित गेटहरु त्यसको चाप थेग्न नसक्ने अवस्थामा रहेको पुष्टि भएको छ ।

आयोजनाका प्राविधिकहरुले नट कस्ने काममा त्रुटि भएको हुनसक्ने अनुमान पनि गरेका छन् । यसबारे अध्ययन गरेर सुधारका कामहरु गरेर मात्रै फेरि सुरुङमा पानी भर्न थालिने छ । यसले काठमाडौंमा पानी ल्याउने योजनालाई पर धकेलेको छ ।

यसअघिको तालिकाअनुसार सुरुङ भरिएपछि त्यतिकै दिन लगाएर खाली गर्ने र भित्र निरीक्षण र परीक्षणको काम गर्ने योजना थियो । परीक्षण सकेर सुरुङमार्फत आउने पानीलाई सुन्दरीजलमा तयार रहेका २ वटा प्रशोधन केन्द्र हुँदै वितरण प्रणालीमा पठाउने योजना छ ।

आयोजनाको स्थायी बाँध र बालुवा थिग्राउने संरचना (हेडवर्क्स) बनाइसकेको छैन ।

हेडवर्क्स २०७७ पुससम्म बनाउने गरी चिनियाँ कम्पनी सिनोले काम गरिरहेको छ । हेडवर्क्स बनाएर सुरुङमा पानी हाल्न अझै केही समय लाग्ने भएपछि नदीमा अस्थायी बाँध र डाइभर्सन बनाएर निर्माणाधीन हेडवर्क्स छल्ने गरी मूल सुरुङमा पानी हालिँदै आएका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment