Comments Add Comment

समग्रमा मौद्रिक नीति राम्रो, प्रभावकारी कार्यान्वयन होस् : निजी क्षेत्र

२ साउन, काठमाडौं । निजी क्षेत्रले शुक्रबार सार्वजनिक भएको मौद्रिक नीती समग्रमा स्वागतयोग्य भएको प्रतिक्रिया दिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार कोरोनाबाट प्भावित भएका उद्योगी व्यवसायीलाई राहत दिने गरी नीति सार्वजनिक गरेको भन्दै उनीहरुले प्रभावकारी रुपमा कार्यान्वनयन गर्नुपर्ने माग  गरेका छन् ।

कोभिड-१९पछिको आर्थिक पुनर्उत्थानमा निजी क्षेत्रले दिएको सुझाव समेटेर नीति आएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए ।

कृषि क्षेत्रमा बैंकको लागानी वृद्धि, पुनर्कजाको व्यवस्था, ब्याज छुट जस्ता विषय सकारात्मक भएको अध्यक्ष श्रेष्ठको भनाइ छ । सानादेखि ठूला सबै व्यवसायको हित गर्ने गरी मौदि्रक नीति आएको भन्दै श्रेष्ठले कार्यन्वयन र अनुगमनमा राष्ट्र बैंकले विशेष ध्यान दिनुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष पशुपति मुरारका अपेक्षा गरेभन्दा राम्रो मौदि्रक नीति आएको बताउँछन् । ‘निजी क्षेत्रले माग गरेका धेरै कुराहरु समेटेर यो आएको छ । पुनर्संरचना, ब्याजदर घटाउने, २० प्रतिशत पुँजी बढाउने, पुनर्कर्जा सेवा बैंकमार्फत नै प्रदान गर्नेजस्ता विषय निकै राम्रो छ ‘ उनले भने ।

उर्जामा १० प्रतिशत बैंकले लगानी गर्नैपर्ने, कृषिमा लगानी अनिवार्य जस्ता सराहनीय छन् ।

डकुमेन्ट एगेन्स्ट पेमेन्ट (डीएपी) र डकुमेन्ट्स एगेन्स्ट एसेप्टेन्स (डीएए) सम्बन्धी व्यवस्था बमोजिम आयात गर्दा प्रदान गरिने विदेशी मुद्राको सटही ५० हजार अमेरिकी डलरको सीमाले समस्या गर्छ कि भन्ने आशंका भने रहेको उनी बताउँछन् ।

केही विषयबाहेक समग्रमा निजी क्षेत्रले माग गरेजस्तै मौदि्रक नीति आएको व्यवसायी शौरभ ज्योतीको प्रतिक्रिया या छ । ब्याजदर तथा बैंकको सेवा शुल्क घटाउने, सीसीडी दर बढाउने जस्ता विषयले सरहानीय भएको उनले बताए ।

पुनर्कर्जा फराकिलो बनाउने तथा बैंकबाटै पुनर्कर्जा व्यवस्था गरिने विषय राम्रो छ, समग्र अर्थतन्त्रमा मौदि्रक नीतिले सकारात्मक टेवा पुग्छ,’ उनले भने ।कोभिड-१९का कारण समस्यामा परेका उद्योगी व्यवसायीका लागि ‘एक्जिट पोलिसी’को व्यवस्था गर्न नीति चुकेको ज्योतीको टिप्पणी छ । यस्तै क्रेडिट रिकभरी पोलिसी तथा अटोमोबाइल क्षेत्रमा मौदि्रक नीतिले केही नबोलेको भन्दै उनले आश्चर्य व्यक्त गरे ।

कोभिड-१९ पछिको अर्थतन्त्रलाई सहयोग पुग्नेगरी समग्रमा स्वागतयोग्य मौद्रिक नीति आएको उद्योगी प्रवलजंग पाण्डे बताउँछन् ।

बजेटले सम्बोधन नगरेको साना व्यवसायीको ऋण तथा ब्याजको विषयमा नीति बोलेको नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठ बताउँछन् । ऋण र ब्याज तिर्ने भाका सारिनु तथा सस्तो ब्याजदरमा ऋणको व्यवस्था हुनु स्वागतयोग्य भएको श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment