Comments Add Comment

घर बनाउनुअघि गरिने यस्ता गल्ती जसले तपाईंको लगानी डुब्न सक्छ

काठमाडौं महानगरपालिकाको वडा नं १६ सामाखुसीका दिवेश प्रधानले एक वर्षअघि तीन तलाको घर किने । घर नामसारीको सबै प्रक्रिया पूरा गरे पनि त्यतिबेला उनले घर बनाइएको जग्गाका बारेमा प्राविधिक विषयप्रति चासो दिएनन् । उनलाई प्राविधिक कुरा थाहा त थिएन नै इन्जिनियरलाई यस विषयमा सोधेर अतिरिक्त खर्च गर्न उनले चाहेनन् । तर एक वर्षपछि घर बेच्ने क्रममा उनी छाँगाबाट खसेजस्तै भए ।

तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले सडक विस्तारको क्रममा जीएलडी डिजाइन गर्दा प्रधानले किनेको घर बनेको जग्गा बाटो कायम भइसकेको थियो । घर किन्ने बेलामा यस विषयमा जानकारी नलिँदा उनको करोडौंको सम्पत्ति संकटमा परेको छ ।

त्यस्तै झमेला कलंकीका अर्का एक जग्गाधनीले पनि व्यहोरेका छन् । जग्गाको दुईतर्फ बाटो रहेको उनको जग्गामा कम्तीमा पनि तीनवटासम्म घर बन्ने अपेक्षा थियो । उनले जग्गा बाँडफाँट गर्नुपूर्व आवश्यक परामर्श लिँदा सो जग्गामा त मुस्किलले एउटा मात्रै घर बन्ने अवस्था देखियो । धन्न उनले सुरुमै जग्गाबारे इन्जिनियरिङ परामर्श लिएका कारण उनको घर निर्माणमा हुने सम्भावित लाखौंको जोखिम टरेको छ ।

धेरै इन्जिनियरको गुनासो सुनिन्छ, करोडौं रुपैयाँमा घर बनाउने घरधनीले एउटा इन्जिनियरलाई नियुक्त गरेर पारिश्रमिक दिन सक्दैनन् । यही कन्जुस्याइँका कारण २०७२ सालको भूकम्पमा धेरै धनजनको क्षति पुगेको बताउँछन्, काठमाडौं महानगरपालिकाका इन्जिनियर जनार्दन गिरी ।

सिकर्मी र डकर्मीको अनुभवको आधारमा घर बनाउने चलन सहरी भेगमा बिस्तारै कम हुँदैछ । तर अझै पनि इन्जिनियरको भूमिका केवल घरको नक्सा तयार पार्न मात्रै हो भन्ने बुझाइले समस्या सिर्जना गरेको इन्जिनियरहरू बताउँछन् ।

महानगरपालिकाका इन्जिनियर गिरी घर बनाउँदा इन्जिनियरको जिम्मेवारी समेत ठेकेदारलाई दिने गरिन्छ । उनी भन्छन् ‘अहिलेको समस्याको मूल जड नै यही हो ।’ सरकारी मापदण्डअनुसार घरको जग हाल्नेदेखि निर्माणसम्पन्न हुँदासम्मको जिम्मेवारी इन्जिनियरको हुनुपर्ने हो । तर इन्जिनियरलाई नियुक्त गरेर नियमित पारिश्रमिक दिनु अनावश्यक देख्ने प्रवृत्तिले स्वयं घरधनीले ठूलो नोक्सानी व्यहोर्ने गरेको गिरी बताउँछन् ।

त्यस्तै, डिजाइनर नेपालमा कार्यरत आर्किटेक महेन्द्र राज खत्रीले इन्जिनियरिङ गर्दा भोगेको समस्या फरक किसिमको छ । आफ्नो जग्गाको अवस्थिति नहेरी इन्टरनेटबाट घरको नक्सा प्रिन्ट गरेर त्यस्तै डिजाइनमा घर बनाउन खोज्ने घरधनीबाट सबैभन्दा धेरै समस्या भोग्नुपरेको उनी सुनाउँछन् । गिरी पनि त्यो समस्या खत्रीको मात्रै नभएर आम इन्जिनियर र आर्किटेकको भोगाइ रहेको बताउँछन् ।

घर निर्माणपूर्व त्यसको डिजाइन गर्ने विभिन्न आधार हुन्छन् । सबैभन्दा महत्वपूर्ण त जग्गा कति छ र कस्तो ठाउँमा छ भन्ने कुराले घरको डिजाइनलाई असर गर्छ ।

यसबाहेक जग्गाको अवस्थिति, हावापानी, घरधनीको पेसा र जीवनशैलीको आधारमा घरको डिजाइन फरक हुन्छ भन्ने बारेमा आममानिस जानकार नहुँदा इन्जिनियर र स्वयं घरधनीले समेत झमेला व्यहोर्नु परेको उनीहरूको अनुभव छ ।

खत्री घर बनाउनुपूर्व नै जग्गाको अवस्थिति र त्यसको नक्साको बारेमा यकिन जानकारी दिनुपर्ने बताउँछन् । आफूले भोगचलन गरेको जग्गामध्ये घर बनाउनको लागि योग्य जग्गा कति छ ? उनी मापदण्डअनुसार बाटोका लागि कति जग्गा छाड्नुपर्छ जस्ता विषयबारे जानकारी लिनुपर्ने सुझाव दिन्छन् । यसक्रममा वास्तुलाई पनि महत्व दिइन्छ ।

घर कति तला बनाउने भन्ने विषय पनि नगरपालिका तथा महानगरपालिकाले तयार पारेको मापदण्डको आधारमा निर्धारण गर्नुपर्ने हुन्छ । गिरीका अनुसार इन्जिनियरिङ परामर्शको अभावमा काठमाडौं महानगरपालिकाभित्र नै धेरै संरचनाहरू मापदण्ड विपरीत रहेका कारण जुनसुकै बेला भत्किने सम्भावनामा छन् । जग्गाको फार कभरिङ, कुन ठाउँमा र कति वर्गफिटमा जग्गा छ भन्नेबारे जानकारी, जग्गा व्यावसायिक क्षेत्रमा छ या सम्पदा क्षेत्रमा छ ? भन्ने विषयले आफ्नो घर कति तलासम्म बनाउन पाइन्छ र त्यसमा केके सुविधा राख्नै पर्छ भन्ने विषयलाई निर्धारण गर्छ ।

गिरी उदाहरण दिँदै भन्छन् ‘पुरानो सहरी क्षेत्रमा चार तलासम्मको मात्र संरचना बनाउन सकिन्छ । तर इन्जिनियरलाई घरको नक्सामात्रै बनाउन काम लगाउने घरधनीले सुरुमा नै छ तलासम्मको घर निर्माण गर्ने सोचाइ राखेका हुन्छन् । त्यहीँबाट सुरु हुन्छ गैरकानुनी काम । जसले लाखौं खर्च गरेर बनाएको घर जुनसुकै बेला महानगर वा नगरपालिकाले भत्काउन सक्ने अवस्था रहन्छ ।’

त्यस्तै, ६ तलाभन्दा माथिको घर निर्माण गर्दा अपांगमैत्री संरचना निर्माण र अग्निनियन्त्रक संरचना समेत निर्माण गर्नैपर्ने मापदण्डमा उल्लेख छ । तर आफ्नो व्यक्तिगत स्वार्थको लागि समेत ६ तलाभन्दा कमको नक्सा इन्जिनियरलाई बनाउन लगाएर थप संरचना समेत उभ्याउने गरिएको पाइन्छ । जुन घरधनी स्वयंको लागि जोखिमको विषय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment