Comments Add Comment

सिन्धुपाल्चोकको थकनी पहिरोको उच्च जोखिममा   

Photo Credit : RSS

४ साउन, सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका– ४ थकनीमा अविरल वर्षाका कारण पहिरो जाँदा अमलेका माधवराज खनालको घर पुरिएको छ । अमले बस्तीका मात्रै केदारनाथ खनाल, चिरञ्जीवी खनाल, दीपेश खनाललगायतका १२ घरमा पहिराले पूर्ण रूपमा क्षति पुर्‍याएको र बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्थामा छ । पहिरो पीडित दीपेश खनालका अनुसार मानवीय क्षति नभए पनि घरमा भएका सबै सरसामान तथा लत्ताकपडा सबै नोक्सान भएको छ ।

त्यस क्षेत्रका खनालबस्ती, डाँडा कठेरीलगायत बस्ती उच्च जोखिममा परेको स्थानीय जनप्रतिनिधि कृष्णबहादुर तामाङले बताए ।स्थानीय जनप्रतिनिधिको सक्रियतामा सिन्धु सुरुङमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले पहिरो पीडितको उद्धार गरेको र उनीहरुको वैकल्पिक बासस्थानका लागि छलफल भइरहेको नेपाली कांग्रेस मेलम्ची नगर सभापति मधुसूदन सिग्देलले जानकारी दिए । अमले, डाँडा कठेरीलगायत मेलम्ची–४ का विभिन्न स्थानमा पहिराका कारण ५०–६० घर जोखिममा परेका छन् । तिनलाई स्थानान्तरण गर्नुपर्ने अवस्था आएको जनप्रतिनिधि तामाङले बताए । उनका अनुसार डाँडा कठेरीका विस्थापितलाई तत्कालका लागि विद्यालयमा बसोबासको प्रबन्ध मिलाइएको छ । स्थायी स्थानान्तरणका लागि सम्बन्धित निकायमा पहल गरिएको पनि तामाङले जानकारी दिए ।

यसैबीच जिल्ला विपद् व्यवस्थापन समितिले विस्थापितलाई तत्काल नगरपालिकासँगको सहकार्यमा त्रिपाल र पाल उपलब्ध गराउने प्रजिअ उमेशकुमार ढकालले जानकारी दिए ।

बाढीपहिरामा सातको मृत्यु, २३ बेपत्ता   

जिल्लामा बाढीपहिरामा परी सात जनाले ज्यान गुमाएका छन् भने २३ जना बेपत्ता छन् । मृत्यु हुनेमा जम्बुका दुई, बुल्कोटका एक, फुल्पिङकट्टीका तीन जना छन् । बुल्कोट र जम्बुमा गत असार २४ गते आएको बाढी र पहिरामा परी मृत्यु भएको हो भने फुल्पिङकट्टीमा असार ३१ गते राति आएको पहिरामा पुरिएर तीन जनाको मृत्यु भएको हो । त्यस्तै मेलम्ची खानेपानी आयोजनाको ढोका फुटेर बगाउँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको तथ्याङ्कानुसार हालसम्म जिल्लामा आएको बाढीपहिराको घटनामा २३ जना बेपत्ता भएका छन् । बुल्कोट घटनामा तीन, जम्बुमा १७, फुल्पिङकट्टीमा दुई र मेलम्ची खानेपानी आयोजनामा ढोका फुटेर बगाउँदा एक जना बेपत्ता भएका छन् । उनीहरुको खोजी भइरहेको छ ।

बाढीपहिराको घटनामा जिल्लामा ६६ घर र एक गोठ पूर्ण रुपमा क्षति भएको छ भने १३९ घर आंशिक रुपमा क्षति भएको छ । त्यसैगरी बाढीपहिरामा १६ सवारीसाधन पूर्ण रुपमा क्षति भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment