+
+
Shares

‘जेलबाट त जसोतसो छुटायौं तर, त्यही छोरा गुमायौं’

श्रवण देव श्रवण देव
२०७७ साउन ४ गते १९:४५

४ साउन, सिरहा । मिर्चैया नगरपालिका–९ बतहा खोला नजिकै एक युवकको ३० असार साँझ ६ः ३० बजे शव भेटियो । मृतकको पहिचान नखुलेपछि शव परीक्षणका लागि लहान अस्पताल ल्याइयो । २ साउनसम्म पहिचान खुलेन ।

प्रहरीले अस्पतालमा एउटा शव ल्याएको खबर लहान नगरपालिका–१का सिफैत मोचीले थाहा पाए । उनका छोरा १८ वर्षका रोशन राम २७ गतेदेखि घर आएका थिएनन् । त्यसैले उनी अस्पताल पुगे । शव हेर्नासाथ मुर्छित भए ।

शव उनकै छोरा रोशनको थियो । ‘कतै हत्या त भएन भन्ने डर लागिरहन्थ्यो’ रोशनका बाबु सिफैतले भने, अस्पताल पुग्दा हाम्रो शंका सही सावित भयो ।’

जेलमा लिएको ऋण

रोशन राम

रोशन वैशाख अन्तिम साता लागूऔषधसहित लक्ष्मीपुर पतारीबाट पक्राउ परेका थिए । इलाका प्रहरी कार्यालय, लहानको थुनामा राखिएका उनलाई जिल्ला अदालतले जेठ अन्तिम साता १० हजार धरौटीमा रिहा गर्ने आदेश दियो ।

तर धरौटी बुझाउन नसक्दा जेल चलान भए । जेलमा उनको भेट लागूऔषधकै मुद्दामा थुनामा रहेका मिर्चेया नगरपालिका २ का जयकुमार यादवसँग भयो । उनले घर फर्किएपछि तिर्ने शर्तमा कारागारमै यादवसँग १ हजार रुपैयाँ सापटी लिए ।

बुबाले धरौटी रकम जोहो गरेपछि रोशन १० असारमा रिहा भए । त्यही दिन जयकुमार छुटे । त्यसको एक सातापछि जयकुमार जेलमा दिएको एक हजार सापटी माग रोशनको घरमा पुगे । त्यो बेला रोशन घरमा थिएनन् । जयकुमारले उनकी आमा सुनैरदेवीलाई रकम नदिए नछाड्ने भनी धम्की दिएर फर्किए ।

त्यसबेलासम्म आमाबुवालाई रोशनले कारागारमै जयकुमारसँग रकम लिएको थाहा थिएन । उनी २६ गते रकम माग्दै पुगे । रोशनका आमाबुवाले जसरी रकम दिने बताएपछि उनी फर्किए । भोलिपल्ट उनी अर्का साथी लिएर आए । ‘त्यसदिन जयकुमारले राम्रैसँग कुरा गरे’ रामका पिता सिफैतले भने, ‘तिमी ससुराली घुम्न जाने हो भन्दै छोरा रोशनलाई लिएर गए ।’

श्रीमती माइतमै रहेका कारण रोशन राजी भए । जयकुमारले मोटरसाइकल लिएर आएका थिए, त्यसमै रोशन मिर्चैयास्थित ससुराली पुगे । तर धेरै बेर बस्न नदिएको रोशनकी पत्नी अञ्जली बताउँछिन् । त्यहाँबाट फर्किएका रोशन एकाएक सम्पर्कविहीन भएपछि परिवार चिन्तित भए र, ३० गते उनको शव भेटियो ।

रोशनलाई जयकुमार र उनको साथमा आएका मुकेश कटुवालले धारिलो हतियार प्रहार गरी हत्या गरेको परिवारको दाबी छ । ‘जसोतसो १० हजार खोजेर छोरालाई जेलबाट छुटाएर ल्यायौं, तर त्यही छोराको हत्या भएको छ’ रोशनका पिता सिफैतले भने, ‘मलाई न्याय दिलाइदिन सबैसँग अनुरोध गर्दछु ।’

प्रहरीले जयकुमार र मुकेशलाई नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चेयाका प्रमुख डीएसपी सन्टु जयसवालले बताए ।

लेखक
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?