५ असार, काठमाडौं । गैरआवासीय नेपालीहरुको अभियानमार्फत ‘एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड कम्पनी’ दर्ता गरियो । यस कम्पनीको उद्देश्य थियो, नेपालको विकासमा एनआरएनको योगदान देखाउने । कम्पनीमा करिब ८ सय व्यक्तिले एक लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्म रकम जम्मा गरे ।
८० करोड हाराहारीमा पैसा जम्मा भएपछि कम्पनीले नेपालमा लगानी शुरु गर्यो । लमजुङको दोर्दी खोला जलविद्युत् आयोजनादेखि ताप्लेजुङको श्वेतगङ्गा हाइड्रोपावर लगायतका धेरै आयोजनाहरुमा कम्पनीले लगानी गरेको छ । यस कम्पनीमा अब एनआरएन मात्रै नभइ अन्य नेपालीहरुलाई पनि लगानी खुला गरिएको छ ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएसँगै कम्पनीेले ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँको साधारण सेयर आगामी १६ गतेदेखि निश्काशन गर्दैछ ।
यस कम्पनीको कार्यकारी अध्यक्षको रुपमा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछानेले नेतृत्व गरिरहेका छन् । कम्पनीमा सेयर हाल्ने सर्वसाधारणले राम्रो प्रतिफल पाउने उनको दावी छ । प्रस्तुत छ, लामिछानेसँग गरिएको कुराकानीको सम्पादित अंश :
एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको स्थापना किन र कसरी गरिएको थियो ?
गैरआवासीय नेपाली अभियान हामीले जतिबेला शुरु गर्यौ, त्यसको मूख्य उद्देश्य भनेको गैरआवासीय नेपालीमा रहेको पूँजी र सीपलाई नेपालको सर्वाङ्गीण विकासमा लगाउने भन्ने थियो । शुरुका दिनहरुमा हामी विश्वव्यापी सञ्जाल विस्तारमा केन्द्रीत भयौ । सन् २०११ मा गैरआवासीय नेपाली संघको नेतृत्वमा म आएँ ।
विश्वव्यापी सञ्जाल विस्तार गर्ने उद्देश्य पुरा गरीसके पछि अन्य उद्देश्यहरु पुरा गर्नुपर्छ भनेर मैले आफ्नो कार्यकालको मूख्य एजेण्डाको रुपमा यो कम्पनीको अवधारणा अघि सारेको थिए । गैरआवासीय नेपालीले नेपालमा सानो-सानो पुँजी लगानी गरिरहनुभएको छ । यसका संस्थापक अध्यक्ष उपेन्द्र महतो, शेष घले लगायतको ठूलो लगानी छ । हामीले पनि सानिमा ग्रुपबाट लगानी गरेका छौं ।
संख्यात्मक र गुणात्मक रुपले वृद्धि हुँदै गएको एउटा ठूलो एनआरएन समुदाय विदेशमा छ । उहाँहरुले नेपालमा लगानी गर्न खोज्दा राम्रो प्लेटर्फम पनि नपाउने समस्या थियो । साना सानो पुँजीले चाहेर पनि राम्रो क्षेत्रमा लगानी गर्न सकिँदैन ।
लगानीका लागि एउटा प्लेटर्फम पनि बनोस् भनेर अभियानकै रुपमा पनि मैले यसलाई चलाएको थिएँ । थोरै पुँजी भएका साथीहरुले पनि ठूला आयोजनामा स्वामित्व महसुस गर्नुहोस् भनेर हामीले यो शुरु गर्यौ ।
मैले प्रस्ताव लगेपछि झन्डै ८ सय साथीहरुले एकदमै उत्साहित भएर यसमा लगानी शुरु गर्नुभयो । सबैलाई समेट्ने भनेर हामीले एउटा मापदण्ड तयार पारेका थियौँ । एउटै व्यक्ति वा एउटै समूहको यसमा धेरै लगानी नहोस् भनेर हामीले सिलिङको पनि व्यवस्था गरेका थियौँ । यसमा कम्तिमा एक लाख रुपैयाँ र बढिमा एक करोड रुपैयाँ भन्दा बढी लगानी गर्न नपाउने गरी मापदण्ड बनाएका थियौँ ।
हामीले सबैलाई आहृवान गर्दा छोटो समयमा नै ८० करोड रुपैयाँ जतिको चुक्ता पुँजी उठाउन सफल भयौं । हामीले यो कम्पनी पव्लिक लिमिटेड कम्पनी भनेर नेपालको कम्पनी ऐनअनुसार दर्ता गरेका थियौँ । अन्त्यमा गएर पव्लिकमा लिस्टिङ गर्ने नै हाम्रो योजना थियो ।
पब्लिक लिमिटेड हुँदा यसको वित्तीय पारदर्शीता, बजारले कम्पनीको लगानीलाई कसरी विश्लेषण गर्छ भन्ने कुरा पनि अध्ययन गरेका थियौँ । हामी नेपाल धितोपत्र बोर्डसँगको पनि सम्पर्कमै थियौ । विस्तारै हामीले धितोपत्र बोर्डले तोकेका मापदण्डहरु पुरा गर्र्यौ र आईपीओका लागि आवेदन दियौं ।
यसमा करिब ८० करोड रुपैयाँ छ भने करिब ३४ करोड रुपैयाँ हामी सर्वसाधारणबाट उठाउछौँ । अहिले यस कम्पनीले हाइड्रोपावर क्षेत्रमा लगानी गरेको छ । विस्तारै हामी अन्य क्षेत्रमा पनि लगानी गछौँ । आगामी दिनमा राष्ट्रिय गौरवका योजनाहरुमा लगानी गर्दै जाने योजना छ ।
फेरी लगानी भन्ने कुरा भावनामा आएर मात्रै पनि हुँदैन । लगानीले प्रतिफल पनि देओस् । गैरआवासीय नेपाली अभियानमा आवद्ध रहनु भएका साथीहरु यसको बोर्डमा पनि हुनुहुन्छ । धेरै साथीहरुले यसमा लगानी गर्नु भएको छ । लगानी सुरक्षित होस् र केही न केही योगदान हामीले पनि गरेका छौं भन्ने महसुस होस् भनेर हामीले यसलाई अघि बढाएका हौ ।
सानो-सानो पुँजी समेटेर कम्पनी स्थापना गर्ने क्रममो के-कस्ता वाधा व्यवधानहरु आए ?
लगानीका लागि हामीले आहृवान गर्दाखेरी साथीहरु उत्साहित भएर आउनु भयो । छोटो समयमा राम्रै लगानी आयो । कम्पनी स्थापना गर्ने बेलामा हामीले खास त्यस्तो समस्या झेलेनौ । बरु कम्पनी स्थापना भइसकेपछि हामी पनि चाहन्थ्यौ, खबर नै पाएनौं भन्ने साथीहरु पनि हुनुहुन्थ्यो ।
लगानी गरिसकेपछि तुरुन्तै प्रतिफल आउँछ भन्ने पनि कतिपय साथीहरुले अपेक्षा गर्नु भएको रहेछ । यो स्वभाविक पनि हो । लगानी गरेपछि प्रतिफल चाँडो आओस भन्ने अपेक्षा सबैलाई भइहाल्छ ।
तर हामीले दिर्घकालिन हिसाबले सोचेका थियौं । जलविद्युत आयोजनाकै कुरा गर्ने हो भने पनि कन्ट्रक्सन अवधी नै ३/४ वर्ष हुन्छ । त्यसपछि पनि ‘पे ब्याक’ पिरियडहरु हुन्छ । त्यसकारण तत्कालै प्रतिफल आउँदैन ।
प्रतिफल आउन पूर्वाधारका योजनाहरुमा ४/५ वर्ष लाग्छ । केही साथीहरुले उत्साहित भएर लगानी गर्नुभयो, तर पछि प्रतिफल आएन भनेर गुनासो गर्नुभएको मैले सुने । तर, यसलाई मैले समस्याको रुपमा लिएको छैन् । थप प्रष्ट पार्ने गरेका छौं । नबुझेका साथीहरुले पनि बुझ्नु भएको छ ।
तपाईले कम्पनी स्थापनाको योजना बनाउँदा नै सर्वसाधारणलाई आईपीओ जारी गर्ने सोच्नु भएको थियो ?
नियम अनुसार नै ५० जनाभन्दा बढी कम्पनीको सेयर होल्डर छन् भने सर्वसाधारणलाई आईपीओ जारी गरेर पव्लिकमा सूचीकरण हुन पाइन्छ । यो इन्भेष्टमेन्ट कम्पनी हो । इन्भेष्टमेन्ट कम्पनीहरु अन्य धेरै छन् ।
धितोपत्र बोर्डले बैंक तथा वित्तीय क्षेत्रहरुलाई सजिलै आइपीओ जारी गर्न दिन्छ । यस प्रकारका कम्पनीलाई भने केही थप प्रक्रियाहरु पुरा गर्नु पर्ने रहेछ । हामीले ती सबै प्रक्रियाहरु पुरा गरेपछि बोर्डले हामीलाई अनुमति दियो ।
नयाँ नियममा चुक्ता पुँजी नै कम्तीमा ५० करोड रुपैयाँ हुनुपर्ने थियो । पूर्वाधारका क्षेत्रमा मूख्य लगानी गरिसकेको हुनुपर्ने लगायतका प्रक्रिया पुरा गर्ने नेपालमा १/२ वटा मात्रै कम्पनी छन् ।
अहिलेका यी सबै प्रक्रिया पुरा गरेर पब्लिकमा जाने सम्भवतः पहिलो नै हामी हौँ ।
धितोपत्र बोर्डले तोेकेका अन्य प्रक्रियाहरु पुरा गर्न कत्तिको सहज थियो ?
त्यस्तो धेरै प्रक्रियाहरु छैनन् । कम्पनीको पुँजी कम्तिमा ५० करोड हुनुपर्छ । पूर्वाधार क्षेत्रमा लगानी भएको हुनुपर्छ अथवा नेपाल सरकारको पनि कम्तिमा १० प्रतिशत लगानी भएको हुनुपर्ने गत वर्ष संशोधन भएको ऐनमा व्यवस्था छ ।
सरकारको लगानी नभए पनि हामीले अन्य सबै प्रक्रियाहरु पुरा गर्यौ । केही समय त लाग्यो नै । समय लगाएर भए पनि सबै प्रक्रिया पुरा गरेरकाले अनुमति पाइयो । धितोपत्र बोर्डले राम्ररी हेरेर यो एउटा काम गर्ने कम्पनी हो भनेर अनुमति दिएको हो ।
बोर्डले जुन तरिकारले अनुमगन गरेर, प्रक्रियाहरु सबै पुरा गरेपछि अनुमति दिएको छ, यसलाई मैले सकारात्मक लिएको छु । हाम्रो जस्ता कम्पनीहरु अरु धेरै अनुमतिका लागि बोर्डमा पुगेका थिए । मैले केही महिनाअघि पाएको जानकारी अनुसार ती कम्पनीहरुमध्ये हामी नै योग्य देखिने पहिलो हौँ ।
अब १६ गतेदेखि आउने आईपीओमा सर्वसाधारणको कत्तिको आकर्षण देखिएला ?
मैले समग्र बुझ्दाखेरी आकर्षण पाएको छु । तर यतिबेला कोभिड-१९ को महामारीले अवस्था केही फरक बनाएको छ । यसले केही न केही असर पार्छ कि जस्तो छ । हामीले योभन्दा अगाडि चैत महिनामा नै आईपीओ जारी गर्ने तयारी गरेका थियौ । त्यो बेला एकदमै उत्साह थियो ।
तर पनि अहिले हामीले पव्लिकबाट उठाउनु खोजेको त्यति ठूलो रकम होइन । ३४ करोड रुपैयाँ सजिलै जुट्छ भन्ने लाग्छ । हामीले जति पनि लगानी गरेका छौं, सबै राम्रा कम्पनीहरुमा गरेका छौ । ती प्रोजेक्टहरुबाट राम्रो प्रतिफल आउने अपेक्षा छ ।
एउटा प्रोजेक्टले त यही वर्षको मंसिर महिनादेखि आम्दानी पनि दिनेछ । पव्लिकबाट पैसा उठाइसकेपछि हामीलाई प्रेसर पनि हुन्छ ।
हामीले लाभांश पनि दिन सक्नु पर्छ । एउटा प्रोजेक्टको हामी अर्को वर्षदेखि नै लाभांश दिनसक्ने हैसियतमा पुग्छौ । कम्पनीले लगानी गरेका अन्य प्रोजेक्टहरु पनि निर्माणाधिन अवस्थामा छन् । केही प्रोजेक्टहरु सन् २०२२ मै सम्पन्न हुँदैछन् भने केही प्रोजेक्टहरु २०२३ मा सम्पन्न हुनेछन् ।
समग्रमा हामीले गरेको लगानी सुरक्षित छन् । हामी राम्रो ट्रयाकमा छौं । आगामी दिनमा पनि निकै सोचेर मात्रै लगानी गर्छौ । प्रतिफल पक्का भएकाले लगानीकर्ताहरुलाई म लगानीका लागि अनुरोध गर्न चाहन्छु । यो कम्पनीको हिस्सेदार बन्न पाउनु सर्वसाधारणका लागि एउटा राम्रो अवसर हो ।
कुन-कुन परियोजनाहरु निर्माण सम्पन्न हुने चरणमा पुगेका छन् ?
सबैभन्दा पहिलो प्रोजेक्टको रुपमा हामीले लमजुङको दोर्दी खोलामा लगानी गरेका थियौ । यहाँ हाम्रो कम्पनीको ५१ प्रतिशत प्रमोटर सेयर छ । ४९ प्रतिशत आइएमई ग्रुपले लगानी गरेको थियो ।
यो परियोजना २ वर्षभन्दा पहिले नै सम्पन्न हुनुपर्ने थियो । हामीले काम शुरु गर्ने बित्तिकै भूकम्प गयो । त्यसले गर्दा ४/५ महिना हामीले काम शुरु गर्न सकेनौँ । भूकम्पको इपिसेन्टर पनि नजिकै भएका कारण आयोजनामा धेरै असर पर्यो । यसैगरि, नाकाबन्दीले पनि समस्या भयो । प्राविधिक कठिनाईहरु पनि आए ।
कोभिड-१९ को असर नपरेको भए भदौमा नै हामीले राष्ट्रिय प्रशारणमा जोड्ने लक्ष्य राखेका थिर्यौ । कोभिडले अलि पर पार्यो । अहिलेसम्म ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । अब मंसिरभन्दा पछाडि पक्कै पनि जाने छैन । यसका अतिरिक्त श्वेतगंगा हाइड्रोपावर ताप्लेजुङ, मिडिल तमोर, मैलुङ्ग खोला लगायतका आयोजनाहरुमा कम्पनीको लगानी रहेको छ ।
कम्पनीको प्राथमिकतामा जलविद्युतबाहेक अरु के छन् ?
हामीले कम्पनी दर्ता गर्दा हाइड्रोपावर नै भनेका थियौ । तर हाम्रो प्राथमिकतामा अब हाइड्रोपावरका साथै पूर्वाधारका अन्य क्षेत्रहरु पनि हुनेछन् । पूर्वाधार विकासका राष्ट्रिय गौरवका आयोजनाहरुमा लगानी गर्ने भनेर हामीले निर्णय गरिसकेका छौँ ।
लगानीका नयाँ क्षेत्रहरु कुन-कुन हुन सक्छन् भनेर हामीले छलफल गरिरहेका छौँ । जस्तो कि सौर्य उर्जामा पनि एउटा सम्भावना छ । जापानको एउटा कम्पनीसँग सोलार उर्जाका विषयमा विभिन्न चरणमा कुराकानी भइसकेको छ ।
त्यसैगरि, कृषिमा सिधै कमर्सीयल फार्मिङ नगरी पूर्वाधार विकासका कामहरु जस्तै शीतभण्डारमा लगानी गर्ने पनि सोचेका छौं । अन्य साझेदार कम्पनीहरुसँग छलफलकै चरणमा छौं । अब हामी हाइड्रोपारवमा मात्रै सिमित हुने छैनौ ।
कोरोना त्रासभन्दा अगाडि हामीले पर्यटन क्षेत्रमा जाने कि भनेर पनि छलफल गरेका थियौ । त्यसका विषयमा पनि हामी अध्ययन गर्दर्छौ । तूरुन्तै जान त समस्या छ, तर भविष्यमा जानसक्छौँ ।
कुराकानीको भिडियो हेर्नुहोस्
प्रतिक्रिया 4