Comments Add Comment

सकियो ‘गाथामग: च:ह्रे’, सुरु भयो यस वर्षको चाडपर्व (फोटो फिचर)

४ साउन, काठमाडौं । आज घण्टाकर्ण चतुर्दशी अर्थात् नेवार समुदायले मनाउने गठेमग पर्व । यस दिनलाई काठमाडौं उपत्यका र आसपासका नेवार समुदायले गठामग चह्रे पर्वको रुपमा मनाउने गर्छन् भने उपत्यका बाहिर घण्टाकर्ण चतुर्दशीको रूपमा मान्ने गरिन्छ ।

घण्टाकर्ण चतुर्दशी र गठामग चह्रे पर्वबीच नाम, विधि र किंवदन्तीमा समेत धेरै समानता पाउन सकिन्छ । उपत्यकाभित्रका भने तीनै जिल्लामा यसको समान विधि रहेको इतिहासविद् चन्द्र चक्रधर बताउँछन् । उनका अनुसार नेवारी भाषाको गठामग संस्कृत शब्द घण्टाकर्णको अपभ्रंश रूप हो ।

घण्टाकर्ण होस् या गठामग पर्व, दुवै पर्वमा घण्टाकर्ण स्वरुपको राक्षसी प्रवृत्तिको दहन गर्ने गरिन्छ । तान्त्रिक विधिलाई प्रधानता दिइने यस पर्वमा बजारभरि एउटा पुत्ला डुलाएर त्यसलाई अनेक किसिमले गाली गर्दै निश्चित ठाउँमा लगेर दहन गर्ने गरिन्छ । भक्तपुरमा कसैले सल्लाघारीसम्म लगेर पुत्ला दहन गर्छन् भने कसैले दरबार परिसरमा नै दहन गर्ने गरेका छन् ।

यसदिन हरियो नर्कट, सुमेको छ्वाली, काँस र निगालोको पुत्ला बनाएर माथि एउटा मुकुट राखी त्यसको दहन गर्ने गरिन्छ । यो पुत्ला घण्टाकर्ण राक्षसको पुत्ला मानेर नगर परिक्रमा गर्ने समयमा चर्काे चर्काे स्वरमा गाली गर्ने गरिन्छ । भक्तपुरका संस्कृतिविद्हरु यो पर्व आफ्नो मनको रिस र कुण्ठा पोख्ने पर्वको रुपमा पनि मान्ने गर्छन् । यसरी ठूलो ठूलो स्वरमा चिच्याएर जो कोहीलाई गाली गर्दा पनि यसले मनको कुण्ठा पोखिने उनीहरुको तर्क छ ।

नेवार संस्कृति अनुसार यही दिनदेखि नै यस वर्षको चाडपर्व सुरु हुन्छ । कृषिप्रधान मुलुकमा खेतीपातीको सबै काम सम्पन्न भएपछि भूतप्रेत पिचार आदिलाई पन्छाएर अब नयाँ चाडपर्वको सुरुवात गर्ने भएकोले यो पर्व नेवार समुदायमा महत्वपूर्ण रहेको मानिन्छ ।

परापूर्व कालमा भूत, प्रेत, पिचास, डाकिनी जस्ता शक्तिलाई तान्त्रिक विधिबाट रिझाएर काम लगाउने गरिन्थ्यो भन्ने मान्यता छ । यसैगरी वैशाखमा पर्ने अक्षय तृतीयाको दिन यसैगरी मन्त्रले बाँधेर कोठामा थुनेर राखिन्थ्यो । तिनै भूत, प्रेतले रातिमा कसैले पनि नसकेको काम सम्पन्न गरिदिन्छ भन्ने मान्यता छ । तिनै भूतप्रेतलाई साउन कृष्ण चतुर्दशीका दिन तिनै भूतप्रेतलाई तन्त्रविधिबाट बिदाइ गरिन्छ । त्यसपछि अरु पर्व सुरु हुन्छ ।

यस जात्रामा हिँड्नेहरुले ठूला ठूला आवाजमा चिच्याएर आफ्नो मनको रिस र विकारलाई त्याग्ने विश्वास मानिन्छ । सधैंभरि आम मानिसलाई दुःख दिने राक्षस घण्टाकर्णलाई सबैले मिलेर मारेको भन्ने सम्झनामा यो पर्व मनाउने गरिन्छ । यस दिन बिहानै उठेर घर आँगन सबै सरसफाइ र लिपपोत गरी पवित्र बनाएर आफ्ना इष्टदेव कार्तिकेयको पूजा गर्ने गरिन्छ । त्यसैले यसलाई सरसफाइको पर्वको रूपमा पनि लिने गरिन्छ ।

यही दिन घरको मूल ढोका र मुख्य निदालमा पञ्चरङ्गी मयुरको प्वाँख र तीन खुट्टे फलामको किला ठोक्ने चलन छ। यसले घरमा भूतप्रेत पस्न सक्दैन भन्ने विश्वास छ । यो पर्वलाई भूत भगाउने पर्व पनि भनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment