Comments Add Comment

देवदहमा नगरपालिकाले ठेकदारको भुक्तानी रोक्यो

५ साउन, बुटवल । देवदह नगरपालिकाले सम्झौताअनुसारको काम नगरेको भन्दै एक ठेकदारको भुक्तानी रोकेको छ ।

देवदह-५ पानबारीको शहीद नरबहादुर नेपाली खेल मैदानमा माटो र बालुवा ‘फिलिङ’ गर्ने ठेक्कामा करिब १० लाख रुपैयाँको मात्रै गरेर ५० लाख भुक्तानी लिन खोजेको भन्दै नगरपालिकाले भुक्तानी रोकेको हो ।

नगरप्रमुख हिराबहादुर खत्रीले देवदह नगरपालिकाको बोर्ड बैठकले भुक्तानी रोक्ने र प्रदेश सरकारलाई प्राविधिक पठाएर खेल मैदानमा भएको कामको स्थलगत अध्ययन गर्न अनुरोध गर्न पत्राचार गर्ने निर्णय गरेको बताए ।

‘तीन-चारजना प्राविधिकले स्वीकृत गरेको बिल आफूले ठीकै होला भनेर अनुमोदन गरेको थिएँ, पछि वडा अध्यक्ष र प्रवक्ताले नै प्रश्न उठाएपछि नगरपालिकाको बोर्ड बैठक राखेर भुक्तानी रोक्ने र अध्ययन गर्ने निर्णय भएको छ,’ खत्रीले भने ।

खेल मैदानमा ६ सय घन मिटर क्षमताका १० चक्के टिप्परबाट ८७३ पटक माटो र बालुवा ल्याएर मैदान सम्याउनुपर्ने ठेक्का ५० लाखमा सम्झौता भएको थियो । ठेकदारले यसअघि पेश्की वापत २२ लाख रुपैयाँ भुक्तानी लगिसकेका थिए । आर्थिक वर्षको अन्तिम दिन बाँकी रकम भुक्तानीका लागि २५ लाख ७५ हजार ७१५ रुपैयाँको चेक काटिएको थियो ।

तर, वडा अध्यक्ष झिल्लुप्रसाद न्यौपानेले इन्जिनियरहरुसँगको मिलेमतोमा पूरै काम भएको मूल्यांकन गराई रकम दिन खोजिएको भन्दै असहमति जनाए । त्यसपछि नगरपालिकाले भुक्तानी रोकेको हो । नगरपालिकाका प्रवक्तासमेत रहेका वडाध्यक्ष न्यौपानेले भने, ‘जानकारहरुसँग बुझ्दा बढीमा १० लाखको काम भएको भन्ने तथ्य थाहा भएपछि राज्य कोषको ठूलो रकम ठगी गर्न खोजिएको देखिएकाले मैले चेक दिन अब्जेक्सन गरेको हुँ ।’

उनले भने, ‘गत बर्ष केही टिप्पर माटो खसालिएको र यस वर्ष सोही ठाउँमा रहेको डाँडोको माटो डोजरले यताउता पारेर थोरै कामलाई धेरै काम भनेर मूल्यांकन गराइ रकम हात पार्न खोजेको देखियो ।’

वडाध्यक्ष मात्र हैन, स्थानिय बासिन्दा पनि खेल मैदानमा बाहिरबाट माटो र बालुवा ल्याएर फिलिङ गरेको नदेखेको बताउँछन् । ‘खेल मैदानका लागि माटो र बालुवा खसालेको थाहा छैन, बरु यहाँ देवदहका खोलाहरुबाट चोरी गरेर ढुंगा, गिट्टी, बालुवा थुपारेर अन्यत्र बेच्ने काम भएको छ, त्यो पनि छानबिन गर्नुपर्छ,’ स्थानीय प्रेम थापाले भने ।

उक्त खेल मैदान प्रदेश सरकारको ‘एक पालिका, एक खेल मैदान’ कार्यक्रम अन्तरगतको हो । खेल मैदान बनाउने ठेक्का हेटौंडाको शास्वत कन्स्ट्रक्सन नामको कम्पनीले पाए पनि देवदह वडा नं. ७ का वडाध्यक्ष पदम थापाका छोरा सुशील थापाले जिम्मा लिएर काम गर्दै आएका थिए । वडाध्यक्ष थापा नेकपाका जिल्ला सदस्यसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

अलग भए सुधांशु र उषा

Advertisment