Comments Add Comment

भोलिदेखि वर्षा कम हुने

६ साउन, काठमाडौं । यस वर्ष मनसुन सुरु भएदेखि हालसम्म औसतभन्दा बढी वर्षा भएको छ । बुधबारदेखि भने पश्चिम क्षेत्रबाट वर्षा क्रमशः कम हुँदै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक सरजुकुमार वैद्यले दिएको जानकारीअनुसार भोलिदेखि पश्चिममा वर्षा कम हुँदै गए पनि प्रदेश १, २, गण्डकी र बागमती प्रदेशमा भने अझै केही दिन वर्षा जारी रहने छ ।

साउन चार गतेदेखि निम्नचापीय रेखा नेपालको ठीक माथि छ । त्यसैले देशभर मध्यमदेखि भारी वर्षा हुँदै आएको छ । महाशाखाका अनुसार मनसुनी निम्न चापीय रेखा साउन ९ गतेदेखि दक्षिण जाने छ ।

महानिर्देशक वैद्यका अनुसार निम्न चापीय रेखा दक्षिणतर्फ सर्दै गएमा भारतमा धेरै वर्षा हुन्छ भने नेपालमा सुक्खा हुन्छ ।

केही दिनयता जारी वर्षाका कारण देशभर बाढीपहिरो र डुबानको समस्या छ । मौसम विज्ञान विभागका अनुसार तीन दिनयता गण्डकी प्रदेश, प्रदेश ५ र प्रदेश २ मा भारी वर्षा मापन भएको छ ।

विगत २४ घण्टामा सबैभन्दा बढी मकवानपुरगढीमा १९९.२ मिलीमिटर वर्षा मापन भएको छ । त्यस्तै, गुल्मीमा १६८.८ मिलीमिटर, सूर्यपुरामा १९२.६ र आरुघाटमा १६०.२ मिलीमिटर वर्षा भएको थियो ।

जुन, जुलाई, अगष्ट र सेप्टेम्बर महिना मनसुन कायम रहने महिना हुन् । ‘जुन १ देखि आज विहानसम्म परेको पानीको अवस्था हेर्दा औसतभन्दा बढी पानी परेको अवस्था जनाउँछ,’ महानिर्देशक वैद्यले भने ।

वर्षासँगै खोला तथा नदीमा आउने बाढीका कारण सम्भावित जोखिममा परेका बासिन्दाहरुलाई मौसम विज्ञान विभागले एसएमएस र सामाजिक सन्जालमार्फत् पूर्वसूचना जारी गर्दै आएको छ । हालसम्म जोखिम क्षेत्रका बासिन्दालाई ५० लाख १७ हजारभन्दा धेरै एसएमएस पठाएर सतर्क रहन भनिसकिएको विभागका महानिर्देशक वैद्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment