
६ साउन, काठमाडौं । निरन्तरको वर्षापछि आएको बाढी र पहिरोका कारण काठमाडौं उपत्यकामा तरकारी आपूर्तिमा समस्या देखिएको छ ।
बाढी र पहिरोले उपत्यका भित्रने मुख्य सडक अवरुद्ध हुँदा कालीमाटी बजारमा पहिलेझैं तरकारी भित्रिन नसकेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
सामान्य बेलामा भन्दा झण्डै आधा मात्रै तरकारी आएको समितिका प्रवक्ता विनय श्रेष्ठले जानकारी दिए । ‘देशका विभिन्न भूभागबाट दैनिक झण्डै ६ सय टन तरकारी बजारमा भित्रिन्थ्यो ।
तर साउन २ गते ५४३ टन, ३ गते ४७४ टन, साउन ४ गते ४९० टन र साउन ५ गते ३२७ टन मात्र तरकारी कालीमाटी बजारमा आइपुग्यो ।
साउन ६ गते मंगलबार मध्यान्हसम्म एक सय ५० टन मात्रै तरकारी आइपुगेको समितिले जनाएको छ ।
मूल्य बढ्ने अनुमान
बाढी र पहिरोले सडक अवरुद्ध हुनु, तथा बाढीकै कारण भारतीय तरकारी आउन सक्दा बजारमा तरकारीको मूल्य बढ्ने अनुमान गरिएको छ । काठमाडौंमा तरकारीको माग नघट्ने तर आपूर्ति कम हुँदा मूल्य बढ्न सक्ने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
बजारमा अहिले घिरौला, सिमी, बोडीजस्ता तरकारी धेरै आउँछ । तर आपूर्ति कम हुँदा यी तरकारीकै भाउ बढ्न थालेको छ । पहिरोले सडक अवरुद्ध हुँदा काठमाडौंको टनेलमा उत्पादन भएको गोलभेडा उपत्यका बाहिर पठाउन नसक्दा यसको मूल्य भने सस्तो भएको छ ।
केही समय तरकारीको मूल्य उकालो लाग्न सक्ने भएकाले सम्भव भए गेडागुडी तथा अन्य तरकारी प्रयोग गरेर महँगीबाट जोगिन समितिले उपभोक्तालाई आग्रह गरेको छ ।
प्रतिक्रिया 4