Comments Add Comment

कोरोनामा केरलाको ‘सफल कथा’ किन भएन पूरा ?

काठमाडौं । भारतको दक्षिणी राज्य केरलाका मानिसहरुमा अहिले आक्रोश र द्विविधा बढेको छ । राज्यको पुन्थुरामा रहेका चार हजार परिवारले लकडाउनको सामना गरिरहेका छन् । उनीहरु आफ्नो ठाउँबाट बाहिर जान पाउँदैनन् र बाहिरबाट पनि कोही आउन सक्दैनन् । सबै व्यवसाय बन्द छ भने यातायात ठप्प छ । प्रहरीहरु लडाउनमा कडाइको लागि सडकमा उत्रिएका छन् ।

जुलाईको सुरुवातमा पुन्थुराको अत्याधिक भिड हुने क्षेत्रमा एक सयभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण देखियो । उनीहरुमध्ये केही माछा बजार घुमेर आएका मानिस थिए । त्यसपछि केरालामा उल्लेख्य मात्रामा कोरोना संक्रमण बढ्यो ।

सरकारले पनि समुद्री क्षेत्रका समुदायबाट स्थानीय संक्रमण भइरहेको बताएको छ ।

जबकी मे महिनामा केरलाले कोरोना भाइरस नियन्त्रणमा लिएको मानिएको थियो । भारत र अरु देशमा पनि कोरोना नियन्त्रणमा केरला मोडलको चर्चा हुने गरेको थियो ।

जनवरीमा केरलामा पहिलोपटक कोरोना भाइरसको पहिलो संक्रमित भेटिएको थियो, जो चीनको वुहानबाट फर्किएका विद्यार्थी थिइन् । यद्यपि गत मार्च महिनामा भने भारतमा आधा दर्जनभन्दा धेरै राज्यमा केरलामा भन्दा बढी संक्रमित थिए । केरलामा पनि कोरोना संक्रमित भने सानो संख्यामा भए पनि बढिरहेका थिए । मे महिनासम्म पनि केरलाको अवस्था राम्रो थियो । परीक्षण, ट्रेसिङ र आइसोलेटजस्ता विषयमा केरला अब्बल देखिएको थियो । यहाँसम्म कि केरला एक दिनमा कुनै पनि संक्रमित फेला नपर्ने राज्य पनि बनेको थियो ।

विशेषज्ञहरुका अनुसार केरलाको सीमानाका बन्द हुँदासम्म अवस्था नियन्त्रणमा थियो । ‘म आफैंले केरलाले कोरोना नियन्त्रणका लागि चमत्कारपूर्ण सफलता पाएको बताइरहेको थिएँ’, संक्रमण रोग विशेषज्ञ जयप्रकाश मुलियिल बताउँछन् । तर अहिले अवस्था बिग्रिएको छ । अहिले यो राज्य हटस्पट बनेको छ ।

जानकारहरुका अनुसार त्यतिबेला खुसीयाली मनाउनु परिपक्व निर्णय थिएन । केरलामा एक हजार संक्रमित पुग्न ११० दिन लागेको थियो । तर जुलाई मध्यसम्म आइपुग्दा भने केरलामा एकैदिन आठ सय नयाँ संक्रमित फेला पर्न थालेका थिए । जुलाई २० सम्मको तथ्यांक हेर्ने हो भने केरलामा कोरोना भाइरसका संक्रमित १२ हजार नाघिसकेका छन् भने यसबाट मृत्यु हुनेको संख्या ४३ नाघेको छ । अहिले एक लाख ७० हजारभन्दा धेरै मानिस क्वारेन्टिनमा छन् ।

विशेषज्ञहरुका अनुसार केरलामा यसरी संक्रमितको संख्या बढ्नुमा खाडी क्षेत्र र मुलुकका अन्य राज्यबाट फर्किएका पाँच लाखभन्दा बढी मजदुरहरु एक कारण हो । केरलाका काम गर्न सक्ने जनशक्तिको १७ प्रतिशत बाहिर रहने गरेका छन् । अहिलेसम्म फेला परेका संक्रमितमध्ये सात हजारको ट्राभल हिस्टी पाइएको छ । भारतीय विपक्षी पार्टीका नेता तथा सांसद शशी ठारुरका अनुसार मुलुकको अन्य राज्यमा लकडाउन खुकुलो भएसँगै सबै मानिस घर फर्किए, त्यो बेलामा संक्रमितलाई केरलामा प्रवेश रोक्नु असम्भव जस्तै भयो ।

बिरामी भए पनि आफ्नो मुलुक फर्किन पाउनु हरेक नागरिकको अधिकारको कुरा हो । तर यसले कोरोना भाइरसको संक्रमण बढाउनमा भने मुख्य भूमिका खेल्यो । र, अहिले केरलामा सामुदायिकस्तरमा संक्रमण फैलिएको छ । पछिल्लो समय ट्राभल हिस्टी नभएका मानिसहरुमा पनि कोरोना भाइरसको संक्रमण देखिन थालेको छ । अधिकारीहरुका अनुसार आइतबार भेटिएका ८२१ नयाँ संक्रमितमध्ये ६४० भन्दा धेरै मानिस स्थानीय रुपमा संक्रमित भएका थिए भने ४३ जनामा कोरोना संक्रमणको स्रोत पुष्टि हुन सकेको छैन ।

अहिले केरलामा परीक्षणको विषयमा पनि प्रश्न उठ्न थालेको । त्यहाँ प्रतिदिन नौ हजार नमुना परीक्षण भइरहेको छ । जबकी अप्रिल महिनामा प्रतिदिन चार हजार परीक्षण हुने गरेको थियो । केरलाको परीक्षण आन्ध्र प्रदेश र तामिलनाडु लगायत तीव्र गतिमा कोरोना संक्रमित बढिरहेको राज्यको तुलनामा कम छ । तर सबैभन्दा ठूलो हटस्पट बनेको महाराष्ट्रको भन्दा बढी छ ।

केरलामा संक्रमितको मृत्युदर निकै कम छ । अहिलेसम्म अस्पतालमा ठाउँ नपुग्ने अवस्था आएको छैन । विशेषज्ञहरुका अनुसार सामाजिक गतिविधिमा प्रतिबन्ध लामो समयसम्म भोग्नुपर्ने राख्नुपर्ने हुनसक्छ । हङकङ युनिभर्सिटीका संक्रामक रोग विशेषज्ञ ग्राबियल लिउङ भाइरविरुद्ध ठूलो संख्याका मानिसमा पर्याप्त प्रतिरोधी क्षमता विकास नहुँदासम्म सामाजिक प्रतिबन्ध लगाउने फेरि हटाउने र फेरि लगाउने गरिरहनुपर्ने अवस्था आउने बताउँछन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment