Comments Add Comment

साउन १५ बाट होटल खुल्ने, भोज र पार्टी गर्न नपाइने

६ साउन, काठमाडौं । साउन १५ गतेबाट होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्न पाइने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा होटल सञ्चालन गर्न दिने निर्णय गरेको हो । हाल होटलहरु बन्द नै छन् भने रेष्टुरेन्टहरुमा प्याकिङ र टेक अवे सेवा मात्र दिने अनुमाति छ ।

साउन १५ बाट भने होटल पनि खुल्ने भएका छन् । तर सामूहिक भोज, पार्टीजस्ता गतिविधि गर्न नपाइने सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी कार्यालय पनि साउन १५ बाट खोल्न सकिनेछ उनले बताए । ‘हिउँदे सिजनको पर्यटन व्यवसायलाई ध्यानमा राखेर यो निर्णय गरिएको हो’ उनले भने ।

चैत ११मा लकडाउन भएसँगै होटलहरु बन्द भएका थिए । त्यसभन्दा अघिदेखि नै पाहुना नभएर होटलहरुको अवस्था खराब बनेको थियो । लकडाउनले बढी प्रभावित क्षेत्रको सूचीमा होटल तथा उड्डयनलाई राखिएको छ ।

होटेल व्यवसायीले लकडाउन खुलेपछि पनि तत्कालै पर्यटक नआउने भएकाले लामो सयमसम्म असर परिरहने बताएका छन् । यसैका आधारमा उनीहरुले मजदुरसँग तलबबारे समझदारी पनि गरेका छन् ।
मजदुरलाई समेत रोजीरोटीबाट विमुख नबनाउने गरी मजदुर र व्यवसायीबीच समझदारी बनेको छ ।

समझदारी अनुसार पाँचतारे डिलक्स (२ सय कोठाभन्दा माथि) होटेलमा काम कर्मचारीले मासिक १० हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् । यो होटेल बन्द भएर घर बस्नु परेको अवस्थामा हो ।

होटेल खुलेर नियमित काम गरिरहेको समयमा भने साविकको सेवा सुविधा यथावत रहने भनिएको छ । त्यसपछि क्रमशः दुई सय कोठा भन्दा कम भएको पाँचतारे होटल तथा सोहि स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूलाई मासिक ९ हजार रुपैयाँ पारिश्रमिक पाउने भएका छन् ।

१ सय कोठा भन्दा बढि भएको चार तारे होटल तथा सोही स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूलाई मासिक रू. ८ हजार ४ सय ५५ रुपैयाँ उपलब्ध गराइने भएको छ । सय कोठा भन्दा कम भएको चार तारे होटल तथा सोहि स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूलाई मासिक ८ हजार रुपैयाँ रकम उपलब्ध गराउने समझदारी बनेको छ ।

तीन तारे तथा सोहि स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीले मासिक ५ हजार रुपैयाँ पाउने भएका छन् । दुई तारे तथा सोही स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीलाई मासिक ४ हजार ३ सय पाउनेछन् । एक तारे र पर्यटक स्तरीयको होटल तथा रिर्सोटहरूले भने आपसी समझदारीमा रकम उपलब्ध गराउने समझदारी भएको छ । यो सम्झौता अवधिभरी माथी उल्लेखित रकम बाहेक अन्य सुविधा उपलब्ध नहुने हानले उल्लेख गरेको छ ।

बन्दाबन्दीले होटल व्यवसायमा गहिरो प्रभाव परी पूर्ण रूपमा बन्द रहेको कारणले होटल संघ नेपालका सदस्य होटलको आम्दानी शून्य भएको र यसले कम्पनीहरु आर्थिक रूपमा ऋणात्मक अवस्थामा पुगेको हानले उल्लेख गरेको छ । यो सम्झौता ३१ डिसेम्वर, २०२० सम्म लागू हुने भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment