+
+

सांसद उषाकला भन्छिन्- कोदोको लोकल रक्सीमा औषधीय गुण हुन्छ (भिडियोसहित)

'हर्बल रक्सीलाई ब्याण्ड होइन, ब्राण्ड बनाउनुपर्छ'

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ६ गते २०:४६

७ साउन, काठमाडौं । प्रदेश नम्बर १ की सांसद उषाकला राई ‘ब्याण्ड भर्सेस ब्राण्ड’ अभियानमा लागेकी छिन् । सरकारद्वारा प्रतिवन्धित घरेलु मदिरालाई ब्राण्डका रुपमा विकास गरी देशको अर्थतन्त्र बलियो बनाउने उनले अभियान थालेकी छिन् ।

‘वर्षमा दुई खर्बको विदेशी रक्सी नेपालमा खपत हुँदोरहेछ’, सांसद उषाकलाको प्रश्न छ, ‘विदेशी रक्सी चाहिँ रेस्टुरेन्टहरुमा विनारोकतोक चियर्स गर्ने, अनि आर्थिक उपार्जनका लागि हाम्रा आमाहरुले तयार पारेको कोदोको लोकल रक्सी चाहिँ माटोमा खन्याइदिने ?’

सरकारले लोकल कोदोको रक्सीलाई वैधानिक बनाई घरेलु उद्योगलाई प्रोत्साहन गर्नुपर्ने सांसद नेकपा उषाकलाको माग छ ।

उनी यस्ता रक्सीको गुणस्तर मापन गर्न ल्याबको व्यवस्था गर्नुपर्ने र निश्चित ठाउँमा सिलप्याकको प्रवन्ध गर्नुपर्ने बताउँछिन् । सांसद राई भन्छिन्, ‘दूधमा फ्याट जाँचेजसरी लोकल रक्सीको पनि गुणस्तर मापन गर्नुपर्छ र त्यसलाई बोतलमा प्याकेजिङ गर्ने ठाउँमा पुर्‍याउनुपर्छ । र, देशभर एउटैखालको प्याकेजिङ हुनुपर्छ ।’

नेपाल सरकारले छिट्टै लोकल रक्सीको ‘पेनेन्ट राइट’ लिनुपर्ने पनि उनको भनाइ छ ।

‘गाउँ-गाउँमा हाम्रा दिदीबहिनी, आमाहरुले आफ्नो घरको आर्थिक संकट टार्नका लागि घरेलु मदिरा उत्पादन गरिरहनुहुन्छ । ती मदिरा जडिबुडीयुक्त हुने भएकाले औषधीय गुण पनि हुन्छ’, उनी भन्छिन्, ‘ती मदिरालाई चाहिँ प्रहरीहरु गएर खोसिदिन्छन् । तर, विदेशी र ब्राण्डेड रक्सीको भने कहिल्यै बोतल फुटाल्दैनन् ।’

सरकारको यस्तो गतिविधिका कारण विदेशी साम्राज्यवादले कप्लक्कै खाएको नेकपा सांसद उषाकलाको विश्लेषण छ ।

गाउँगाउँबाट गुणस्तर मापन गरी घरेलु मदिरा खरिद गर्ने व्यवस्था गरेमा बहुसंख्यक युवाहरु विदेशिनुसमेत नपर्ने सांसद राईले बताइन् ।

‘हामीले कोदोदेखि विभिन्न किसिमका जटीबुटी राखेर उत्पादन गर्न सक्छौँ’, उनले भनिन्, ‘यसले घरघरमा रोजगारी पनि सिर्जना हुन्छ र हाम्रो अर्गानिक स्वादलाई विदेशमा समेत निर्यात गर्न सकिन्छ ।’

आफूलाई पीडित आमा-बुवाहरुले ठाउँठाउँबाट फोन गरेका कारण पनि यस अभियानमा लागेको उषाकला बताउँछिन् । ‘धेरै ठाउँमा दिदीबहिनीले मदिरालाई प्रहरीबाट बचाउनका लागि रक्सीसँगै पैसा -घुस) पनि खुवाउनु पर्दोरहेछ । कतिपयले रुँदै अब घर कसरी चलाउने भन्नुहुन्छ’, सांसद उषाकलाको माग छ, ‘अब हर्बल रक्सीलाई ब्याण्ड होइन, ब्राण्ड बनाउनुपर्‍यो ।’

तर, यस्तो रक्सी कुनै एक डिस्ट्रीलरीलाई उत्पादन गर्न दिने भन्दा पनि गाउँगाउँबाट खरिद गर्नुपर्ने उषाकला बताउँछिन् । स्थानीयस्तरमा यसबारे थप तालिमको व्यवस्था गरी गुणस्तरीय मदिरा उत्पादन गर्नमा पहल गर्नुपर्ने पनि उनले बताइन् ।

लोक्कल कोदोको रक्सीलाई जसरी भए पनि वैधानिक बनाउने उषाकलाले अडान लिइन् । प्रदेश १ की सांसद रहेकी उनले भनिन्, ‘मैले प्रदेशमा कुरा गरिरहेको छु । तर, कतिपय साथीहरुले सुनेको नसुन्यै गर्नुभएको छ ।’

उषाकलाले थपिन्, ‘यससम्बन्धी सरकारले विधेयक ल्याएर कानुन बनाउनुपर्छ । नत्र, गैरसरकारी विधेयकका रुपमा भए पनि पास गरेरै छोड्छु ।’

आफू यसको विधेयकको काममा लागिसकेको उनले बताइन् । उनी भन्छिन्, ‘कोरियाले आएर हाम्रो देशमा छ्याङ बेचिसक्यो । हामीले चाहिँ हाम्रो उत्पादनलाई प्रमोट गर्नुपर्दैन ?’

जापान, चीन, दक्षिण कोरियामा लोकल मदिरा प्रोडक्टलाई त्यहाँको सरकारले अनिवार्य बनाएको दाबी गर्दै उनले अब नेपाल सरकार पनि यसबारे गम्भीर बन्नुपर्ने बताइन् ।

नेकपा नेतृ उषाकलाले घरेलु मदिरालाई ब्राण्ड बनाएर अर्थतन्त्र उकास्न सकिने बताइरहँदा उनकै दलले नेतृत्व गरेको सरकारले चाहिँ घरेलु रक्सीको कारोबारलाई रोक लगाउँदै आएको छ । र, अखिल नेपाल महिला संघका नेतृहरुले विगतदेखि नै गाउँमा जाँडरक्सी विरोधी अभियानहरु चलाउँदै आएका छन् । विभिन्न जिल्ला र गाउँहरुलाई मदिरामुक्त गाउँ घोषणा गर्ने कार्यमा नेकपाकै नेता कार्यकर्ताहरुको संलग्नता रहँदै आएको छ ।

अर्कोतर्फ, घरेलु रक्सी उत्पादन गाउँका विपन्न मानिसहरुको आयआर्जनको स्रोत बन्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?