Comments Add Comment

बाढीले ओलाङचुङगोलाका दुई पुल बगायो

फाइल तस्वीर/तमाेर नदी

७ साउन, ताप्लेजुङ । अविरल वर्षासँगै तमोर नदीमा आएको बाढीले ताप्लेजुङको ओलाङचुङगोलाका दुई पुल बगाएको छ । फक्ताङलुङ गाउँपालिका–७ मा पर्ने चीनसँगको सीमावर्ती ओलाङचुङगोलाका पुल गएराति बगाएको वडाध्यक्ष छेतेन भोटेले जानकारी दिए।

उनका अनुसार बाढीले ओलाङचुङगोलाबाट दाङ्जेन जाने पक्की पुल र मिक्वाखोला गाउँपालिकाको पापुङ जाने काठेपुल बगाएको हो । बाढीले पुल बगाएपछि घाँसदाउरा ओसारपसारलगायतका काममा ओहोरदोहोर गर्न बन्द भएको छ ।

यस्तै बाढीले तिब्बतको रिउ जोड्ने सडक र चिनियाँ ठेकेदारको एउटा गाडीसमेत बगाएको बताइएको छ । सडक निर्माणका क्रममा ठेकेदारले ल्याएको गाडी सडक अवरुद्ध भएपछि ओलाङचुङगोलामा नै छाडिएको थियो ।

यस्तै दुई पुल बग्दा करिब १४ लाख रुपैयाँ बराबरको क्षति भएको छ । पक्की पुल १२ लाख रुपैयाँ र काठको पुल भने दुई लाख रुपैयाँको लागतमा निर्माण भएको थियो ।

यता तमोरको उद्गमस्थलबाट नै बाढी आएपछि नदी किनारमा पर्ने तापेथोक, सिवाँ, थिवा, हान्द्रुङ, दोभान बजारलगायतका बासिन्दा त्रसित बनेका छन् । तमोरमा करिब एक दशकयताकै ठूलो बाढी आएको स्थानीयवासीको भनाइ छ । नदीको उद्गमस्थलमा पर्ने पोखरी फुटेर बाढी आएको हुनसक्ने स्थानीयवासीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment