Comments Add Comment

कोरोना महामारी : वीरगञ्जका होटल व्यवसायी हरिले यसरी देखाए हिम्मत

७ साउन, वीरगञ्ज । खास नाम उनको बुद्धिप्रसाद पन्त हो । तर वीरगञ्जमा सबैले उनलाई हरि पन्त भनेर चिन्छन् । मुख्य पेसा होटल व्यवसाय हो । ४० वर्षीय पन्त यसलाई होटल तथा पर्यटन व्यवसाय भन्न रुचाउँछन् । उनी होटल तथा पर्यटन व्यवसायी संघ पर्सा, वीरगञ्जका अध्यक्ष पनि हुन् । हुन त उनको परिचय त्यति मात्रै छैन ।

‘राजनीति’ र ‘मेला’ चलचित्र मार्फत् चलचित्र क्षेत्रमा समेत उनले आफ्नो सहभागिता जनाइसकेका छन् । ‘राजनीति’ व्यावसायिक रुपमा खासै सफल नभए पनि ‘मेला’ चलचित्रलाई तुलनात्मक रूपमा दर्शकले मन पराए ।

वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा वि.स. ०५४ सालमा उच्च शिक्षा अध्ययन सुरु गरेका उनले क्लासिक होटलबाट होटल व्यवसाय सुरु गरे । यहीँबाट उनको व्यावसायिक जीवनको सुरुवात भयो ।

सोही होटलबाट सेवा विस्तार गर्दै ५ वर्षअघि उनले अर्का होटल व्यवसायी रचेन्द्र थापासँगको साझेदारीमा कन्ट्री इन होटल पनि सञ्चालन गर्दै आएका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारीले विश्वका धेरै मुलुक प्रभावित भइरहेका थिए । देशको मुख्य नाका वीरगञ्ज झनै जोखिममा हुनु स्वाभाविक हो । कोरोना भाइरसलाई फैलिन नदिन अन्य मुलुकले क्वारेन्टिन र आइसोलेसनमा राखेको उनले थाहा पाएका थिए । २०६७ को चैतको पहिलो सातामै उनले क्लासिक होटल क्वारेन्टिनका लागि निःशुल्क दिने घोषणा गरे । विविध कारणले त्यो प्रयोगमा आउन सकेन ।

यो पनि पढ्नुहोस क्वारेन्टाइन बनाउन एक व्यवसायीले दिने भए होटल

सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गते लकडाउनको घोषणा गर्‍यो । सुरुमा २०६७ चैत ३० गतेदेखि वीरगञ्जमा बस्दै आएका तीन जना भारतीय जमातीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो पनि पढ्नुहोस वीरगञ्ज बसेका ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि

उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र अन्य सहयोगी कर्मचारीलाई राख्न होटल क्वारेन्टिन आवश्यक पर्‍यो । अरू होटल व्यवसायी होटल दिन तयार भएनन् । अन्ततः होटललाई क्वारेन्टिनको रूपमा प्रयोग गर्नको लागि उनै हरि अघि सरे ।

२ वर्षको छोरा, ५ वर्षकी छोरी र श्रीमतीसहित वीरगञ्जमा डेरामा बसेका हरिलाई यो निर्णय लिन त्यति सहज थिएन । कोरोनाको डरमा होटलका कर्मचारी पनि काममा खटिन डराउँथे । उनीहरूको डर घटाउन उनी आफैँ काममा अघि सर्थे । दुई महिनासम्म परिवार, छोरा, छोरीसँग भेट गरेनन् । वैवाहिक वर्षगाँठसमेत सँगै मनाउन नपाएको उनी सुनाउँछन् । श्रीमतीबाट ‘तपाईंलाई घर परिवारभन्दा कामै प्यारो’ भन्ने गुनासो धेरै सुन्नु पर्‍यो । तर परिस्थितिको बारेमा सम्झाएपछि उनले समेत सकारात्मक रूपमा परिस्थितिलाई बुझ्न थालेको उनी सुनाउँछन् ।
‘वीरगञ्ज महानगरपालिकाका प्रमुखज्यूले क्वारेन्टिनका लागि होटल दिन आह्वान गर्नुभयो, तर कुनै पनि होटल व्यवसायी साथीहरू दिन तयार भएनन् ।’ पन्त भन्छन् ‘डाक्टर डराएर उपचार नगर्ने, सुरक्षाकर्मी डराएर सुरक्षा नदिने हो भने कसरी हुन्छ ? यस्तो अवस्थामा डराएर जिम्मेवारीबाट पछाडि हट्न हुँदैन भन्ने लाग्यो । जोखिम मोलेरै होटललाई क्वारेन्टिनको रूपमा दिने निर्णय गरियो ।’

होटललाई क्वारेन्टिन बनाउँदाको अवस्था त्यस्तो सहज पक्कै थिएनन् । किनकि वीरगञ्जमा संक्रमित थपिने क्रम जारी थियो । प्रशासनले निषेधाज्ञा समेत लगायो । बाहिर निस्कने स्थिति नहुँदा क्वारेन्टिनमा दैनिक तरकारीलगायत अन्य आवश्यक सामग्रीको जोहो गर्ने स्थिति सहज थिएन । सामान्य दिनमा भन्दा सामानको लागत पनि बढी । यसरी काम गर्दा समेत आफूले विभिन्न आरोपको सामना गर्नुपरेकोमा उनलाई दुःख लाग्छ ।

त्यसै क्रममा संक्रमितको उपचारमा खटेर कन्ट्री इन होटल क्वारेन्टिनमै बसेकी एक नर्समा वैशाख ३२ गते कोरोना संक्रमण पुष्टि भयो ।

यो पनि पढ्नुहोस छोराले सोध्यो – ममीलाई कोरोना भएको हो ?

त्यसको भोलिपल्ट होटलमा खाना बनेन । केही चिकित्सक, स्वास्थ्यकर्मीले नर्समा कोरोना संक्रमण पुष्टि भएका कारण खाना नदिएको भनेर प्रचार गरे ।

यो पनि पढ्नुहोस होटलले प्याकेटको खाना थमाइदियो, डाक्टरहरु भोकै काममा गए

तर खाना नबन्नुको कारण महानगरपालिकासँग भएको सहमति रहेको उनी बताउँछन् । उनीसँग महानगरपलिकाले जेठ १ गतेदेखि आफैँले खाना खुवाउने प्रतिबद्धता जनाएको थियो ।

‘नर्समा कोरोना संक्रमण पुष्टि भएपछि स्टाफहरू डराउनु स्वाभाविक हो । तर जेठ १ गते कतिपय चिकित्सक, एवं स्वास्थ्यकर्मीले बाहिरको खाना खान नमानेपछि मैले आफैँले खाना बनाएर खुवाएको छु ।’ उनी भन्छन् ‘लाभ हानि हेरेर काम गरेको होइन, सेवा भावले गरिएको हो । हुँदै नभएको आरोप लाग्दा नरमाइलो लाग्ने रहेछ ।’

होटलमा सामान्य अवस्थामा २२ सय ६० मा एउटा कोठा भाडा लाग्छ, बिहान बेलुका दुई पटक ननभेज खाना, दुई पटक नास्ता, चिया, पानीको १५ सय ५० रुपैयाँ जति पर्न जान्छ ।
‘अस्पतालका कर्मचारी राख्दा महानगरपालिकासँग कुनै दर निर्धारण भएको थिएन, जति दिनुहुन्छ त्यति लिन्छु । भनेको थिएँ ।’ पन्त भन्छन् ‘एउटा कोठाको ७ सय रुपैयाँ र खाना नास्ताको ८ सय प्रतिव्यक्ति दिएका हुन । ’

वैशाख ३० गते वीरगञ्जमा दुई जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भयो । पत्रकारलाई समाजले हेर्ने दृष्टिकोण नै बदलियोे । संक्रमित पत्रकारको सम्पर्कमा आएका र भाडामा बसेका दुईजना पत्रकारलाई परिवारसँग छुट्टै बस्न ठाउँ भएन । समस्या लिएर पत्रकारहरू हरि कहाँ पुगे । उनीहरूलाई क्लासिक होटलमा सात दिन राखेर पीसीआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाएको हरि बताउँछन् ।

सर्वसाधारणलाई पेड होटल क्वारेन्टिन, हरिले नै दिए पहिलो सेवा

चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मी र अन्य सहयोगी कर्मचारीलाई राखेपछि सर्वसाधारणका लागि ‘पेड होटल क्वारेन्टिन सञ्चालन गर्न पनि हरि नै अघि सरे । उनले दुई महिना जति कोभिड संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी लगायतलाई राखे ।

हाल वीरगञ्जमा चारवटा होटल क्वारेन्टिनको रूपमा सञ्चालनमा छ । दुईवटामा कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मी र अन्य कर्मचारी राखिएका छन् ।

वीरगञ्जको टाउन हलमा नारायणी अस्पतालअन्तर्गतको गण्डक कोभिड अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी क्वारेन्टिन बसेका छन् । होटल हिमाल एण्ड भान्छा घरमा कलैया अस्पतालअन्तर्गगतको कोभिड अस्पतालका चिकित्सक स्वास्थ्यकर्मीलगायत क्वारेन्टिनमा छन् । कुमु होटलको क्वारेन्टिनमा भारतबाट आएका ४९ जना बसेकोमा ६ जनामा संक्रमण पुष्टि भएको छ । होटल क्वारेन्टिनमा अहिले ६ जना व्यक्तिहरु मात्रै छन् ।

कन्ट्रीले एसी भएको कोठामा २ जना बस्दा १८ सय, एसी नभएकोमा प्रतिव्यक्ति ७ सय रुपैयाँ भाडा लिने गरेको छ । दाल भात, भुजिया, साग, मिक्स भेज, पापड, सलाद र अचार सहितको खाना २ सय रुपैयाँमा खुवाइरहेको छ ।

क्वारेन्टिनमा बस्नेलाई छुट्टै प्लेट कचौरा दिइएको हुन्छ । पालैपालो बोलाएर होटलका कर्मचारीले खानेकुरा दिन्छन् । २ मिटरको दुरी बनाउने, मास्क लगाउने लगायतका सतर्कता अपनाइएको हुन्छ । सेनिटाइजेसनका लागि महानगरपालिकाले सहयोग गर्छ । क्वारेन्टिनमा बसेकाको पीसीआर परीक्षण पछि रिपोर्टको आधारमा घर पठाउने वा आइसोलेसन तय हुन्छ ।

जेठ २० गते २२ जनालाई राखेर सेवा सुरु गरिएको कन्ट्री इनमा ७० जनालाई सेवा दिइएको अर्का सञ्चालक रचेन्द्र थापा बताउँछन् । जसमध्ये ६ जनामा संक्रमण पुष्टि भएको थियो ।  १ जना नर्ससहित ६ जना संक्रमण पुष्टि भएको थियो । अरूले क्वारेन्टिनका लागि होटल दिन तयार नभएपछि कन्ट्री इनमा बसेका अस्पतालका कर्मचारीलाई टाउन हलमा सारेर सर्वसाधारलाई सेवा दिइएको थियो । कन्ट्री इनमा अहिले कोरोना संक्रमित छैनन् । होटललाई सेनिटाइजेसन समेत गरिसकिएको थापाले बताए ।

स्थानीय पालिकाले भारत तथा अन्य देशबाट आएकालाई विद्यालयलगायत सार्वजनिक स्थलमै क्वारेन्टिन बनाएर राखिरहेका छन् । छुट्टै ट्वाइलेट बाथरुमको सुविधा, स्तरीय खाना हुनेहुँदा पैसा हुनेले होटल क्वारेन्टिनलाई रूचाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment