
७ साउन, काठमाडौं । प्रदेश १ र २ का पाँच जिल्लाका गाईगोरुमा अनौठो रोगको संक्रमण देखिएको छ ।
सुरुमा शरीरमा खटिरा देखिने, भोलिपल्टसम्म शरीरभरी खटिराले ढाकिने, उच्च ज्वरो आउने र केही दिनमा मृत्यु हुने देखिएको पशुरोग अन्वेषण प्रयोगशाला विराटनगरले जनाएको छ ।
झापा, मोरङ, सुनसरी, सप्तरी र सिराहामा गाईगोरुमा यस्तो अनौठो रोग देखिएको प्रयोगशाला प्रमुख डा. सञ्जयकुमार यादवले बताए । ‘मोरङमा छिटो छिटो रोग फैलिरहेको छ, अहिलेसम्म पाँच जिल्लामा गरेर १०/१२ वटा गाईगोरुको मृत्यु भएको विवरण केन्द्रलाई प्राप्त भएको छ’ उनले भने ।
संक्रमण निकै छिटो फैलिएको र मृत्युदर बढी हुँदा चिन्ता थपिएको उनको भनाइ छ ।
लक्षण
एक महिनाअघि मोरङका नेपाल भारत सीमावर्ती गाउँका गाईगोरु तथा बाच्छाबाच्छीमा रोगको संक्रमण देखिएको थियो । सुरुमा सानो खटिरा देखिने र करिब ८/१० घण्टामा जीउभरी फैलिने तथा पाक्ने लक्षण गाईहरुमा देखिएको छ ।
संक्रमणपछि गाईगोरु र बाच्छाबाच्छीमा चर्को ज्वरो आउने र खुट्टा सुन्निने तथा लुलो हुने पाइएको डा. यादवले बताए । रोग लागेको २४ घण्टामै पशु शिथिल देखिने तथा दुध दिने गाईको दूध उत्पादनमा ७० प्रतिशतसम्म ह्रास आउने गरेको पाइएको छ ।
असर
असारको मध्यतिर मोरङमा देखिएको उक्त रोग एक महिना अवधिमा प्रदेश एक र दुईका पाँच जिल्लामा फैलिएको पशुरोग अन्वेषण प्रयोगशाला विराटनगरले जनाएको छ । एउटै गोठ तथा चरनमा रहने गाई गोरुमा रोगको संक्रमण फैलिएको पाइएको प्रयोगशालाले जनाएको छ ।
मोरङमा मात्रै १२ सय गाईवस्तु रोगबाट संक्रमित रहेको प्रयोगशालाका चिकित्सकहरुले बताएका छन् । लामखुट्टे, जुका तथा किर्नाबाट रगतको माध्यमबाट रोगको संक्रमण फैलिएको उनीहरुको आशंका छ ।
सुरुआती दिनमा मोरङमा पाँच सय हाराहारीमा देखिएको रोगको संक्रमण एक महिनामा दोब्बरले वृद्धि भएको पाइएको छ । संक्रमणपछिको मृत्युदर करिब एकदेखि दुई प्रतिशतसम्म रहेको र दुग्ध उत्पादन भने ७० प्रतिशतसम्मले ह्रास आएको प्रगोगशाला प्रमुख डा.यादवले बताए ।
गाईबाहेक एउटै थलोमा बाँधिएकोे बाख्रा र भैंसीमा भने रोग नदेखिएको उनले बताए ।
रोकथाम
अनौठो रोगको लक्षण देखिएपछि पशु रोग अन्वेषण प्रयोगशालाका चिकित्सकहरुले संक्रमित पशुलाई ज्वरो कम गर्ने एन्टीवायोटिक औषधि सिफारिस गरेका छन् ।
नेपालमा यसअघि यस्तो रोगको लक्षण नदेखिएका कारण संक्रमणबारे नै अध्ययन गर्नुपर्ने प्रयोगशाला प्रमुख यादव बताउँछन् । ‘हामीले लक्षण हेर्दा नम्पी स्किन जस्तो देखिन्छ तर हामीले यसअघि नभोगेका कारण थप अध्ययन गर्न जरुरी छ’ डा. यादवले भने ।
रोग निको हुने दर राम्रै रहे पनि पशुको वृत्ति विकास, उत्पादन तथा उत्पादकत्वमा ठूलो ह्रास आएको उनको भनाइ छ ।
रोगको पहचान गर्न मंगलबार केन्द्रीय ल्याब काठमाडौंमा नमूना पठाइएको विराटनगर प्रयोगशालाले जनाएको छ । यस्तै प्रकृतिको लक्षण भएको रोग यसअघि बंगलदेशको रगंपुर र भारतको केरला तथा उडिसामा देखिएको प्रयोगशालाका चिकित्सकहरुले जनाएका छन् ।
ती ठाउँमा यस्तै लक्षणबाट ठूलो मात्रामा गाईको मृत्यु भएको पाइएको डा. सञ्जयकुमार यादवले बताए ।
प्रतिक्रिया 4