Comments Add Comment

शौचालयबाट भागेका थुनुवा दुई घण्टापछि समातिए

७ साउन, विराटनगर । कोशी अस्पताल विराटनगरको शौचालयको भेन्टिलेसनबाट भागेका थुनुवा दुई घण्टापछि पक्राउ परेका छन् ।

बलात्कार आरोपमा पक्राउ परेका मोरङको ग्रामथान गाउँपालिका– २ का २१ वर्षीय विजय सरदार भेन्टिलेसनबाट भागेको दुई घण्टापछि होटलबाट पक्राउ परेका हुन् ।

३० असारमा १९ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोपमा मंगलबार पक्राउ परेका सरदारलाई बुधबार बिहान इलाका प्रहरी कार्यालय बेलबारीले स्वास्थ्य परीक्षणका लागि कोशी अस्पताल ल्याएको थियो । अस्पतालमा करिब १२ बजे आएका विजयलाई स्वास्थ्य जाँचका लागि ओसीएमसी कक्षमा लगिएको थियो । स्वास्थ्य जाँचका लागि हत्कडी खोलिएको थियो ।

जाँचपछि प्रहरीले हत्कडी लगाउन खोज्दा विजयले शौचालय जान्छु भने ओसीएमसी मै रहेको शौचालयमा पसेका थिए । बाहिर ढोकामा प्रहरी रुँगेर बसे । पाँच मिनेटभन्दा बढी समय बित्दा पनि विजय बाहिर आएनन् । बोलाउँदा जवाफ दिएनन् । पछाडिबाट हेर्दा चप्पलमात्र भेटिए पछि थुनुवा फरार भएको भन्दै प्रहरी भित्र हल्लीचल्ली मच्चियो ।

सानो भेन्टिलेसनमा एउटा रड थिएन । रड नभएको ठाउबाट बाहिर निस्कने क्रममा एउटा विजयको एउटा चप्पलभित्र र अर्काे चप्पल बाहिर झरेपछि पैदल भागेका थिए ।

थुनुवा भागेपछि प्रहरीले खोजी तीब्र बनायो । अस्पतालबाट खाली खुट्टा भागेका विजय दुई घण्टापछि अस्पतालबाट करिब तीन सय मिटरको दूरीमा रहेको शहीद रंगशाला छेउमा रहेको एउटा नास्ता पसलबाट पक्राउ परे ।

भेन्टिलेसन खुल्ला रहेका कारण सुरक्षामा रहेका प्रहरीको आँखा छल्दै पछाडिबाट भागेका थुनुवा खोज्न दुई घण्टा लागेको प्रहरी स्रोतको भनाइ छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले फरार भएका थुनुवालाई एउटा पसलबाट पक्राउ गरेको बताए । उनले थुनुवा फरार भएको केहीसमय पछि पक्राउ गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment