Comments Add Comment

पर्सामा थप १७ जनामा कोरोना संक्रमण, अधिकांशमा लक्षण

कोरोना समुदाय स्तरमा फैलिएकाले सतर्कता अपनाउन अपिल

८ साउन, वीरगञ्ज । पर्सामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बुधबार राति आएको रिपोर्टमा दुई जना चिकित्सकमा समेत कोरोना संक्रमण देखिएको छ । गण्डकमा मृत्यु भएका वृद्धसहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालको पीसीआर प्रयोगशालाले जानकारी दिएको छ ।

एक सय २८ वटा नमुना परीक्षण गर्दा ४ जना महिलासहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको ल्याब प्रमुख प्याथोलोजिस्ट डाक्टर निरा पाठकले बताइन् ।

नारायणी अस्पतालमै कार्यरत ४७ वर्षीय चिकित्सक, दुई वर्ष पहिले अवकाश पाइसकेका ६० वर्षीय चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सिर्सिया सुख्खा बन्दरगाहमा काम गर्ने २९ र ३६ बर्षीय कर्मचारी र ड्राइपोर्टकै ट्रक चालक ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

एडभान्स अस्पतालबाट पठाइएको स्वाबमध्ये ८५ वर्षीया महिला, २६ र ६८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । नारायणी अस्पतालमा कार्यरत स्वीपरमा साउन ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको २२ र २० बर्षिया दुई छोरीमा पनि कोरोना देखिएको छ ।

नारायणी अस्पतालमा कार्यरत एक चिकित्सकको बुवा नारायणी अस्पतालको आईसियुमा उपचारत थिए । ५० वर्षीय उनको पनि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

तीन दिनदेखि सुख्खा खोकी लागेर पीसीआर परीक्षण गराउन आएका श्रीपुर पचगावाका ३९ बर्षिय पुरुष, कादम्बरी एकेडेमीमा कक्षा १० मा अध्ययनरत वीरगञ्ज–१० बस्ने १५ बर्षिय किशोर, नारायाणी अस्पतालको अर्थो वार्डमा उपचाररत वीरगञ्ज–१ छपकैयाकी ३२ बर्षिया महिला, पटेर्वासुगौली गाउँपालिका–५ देवरियाका २३ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पताल पीसीआर प्रयोगशालाले जनाएको छ ।

मारुती फर्मामा कार्यरत ३१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । मारुती फर्मामा यसअघि पनि ६ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ ।

लक्षणसहितका संक्रमितको संख्या बढी

गण्डक अस्थायी कोभिड अस्पतालमा ६ महिला र २३ पुरुष गरी कुल २९ जना संक्रमित उपचाररत थिए । जसमध्ये १ जना आइसीयूमा उपचारत छन् । उनको अवस्था सामान्य छ । २३ जनामा कोरोनाको लक्षण देखिएको छ ।

उनीहरुमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने जस्ता लक्षण देखिएको गण्डक कोभिड अस्पतालका कोअर्डिनेटर डा. उदय नारायण सिंहले जानकारी दिए । उनका अनुसार संक्रमति एक जनामा डायरियाको समेत समस्या देखिएको थियो ।

वीरगञ्जमा लापरबाही बढेकोेले कोरोनाले जटिल रुप लिन सक्ने आंकलन चिकित्सकले गरिरहेका छन् । डा.सिंहका अनुसार वीरगञ्ज कोरोनाको इपिसेन्टर हुँदा कन्ट्याक्ट ट्रेसिङ राम्रोसँग हुन सकेन्, पछिल्ला दिनमा भारतबाट लुकेर मानिस आउने क्रम बढेको छ, उनीहरु क्वारेन्टिनमा बसिरहेका छैनन् ।

‘स्वास्थ्य कार्यालयसँग जनशक्ति छैन वा भएर पनि नखटिएको हो, एक जनाले मात्रै काम गरिरहेको देखिन्छ’, उनले भने, ‘वीरगञ्जमा जोखिम बढेको छ, स्वास्थ्यकर्मीको टोली पुगेन ।’

नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्याय पर्सा, बारामा समुदाय स्तरमा कोरोना फैलिसकेको बताउँछन् ।

‘वीरगञ्ज र आसपासका क्षेत्रमा समुदाय स्तरमा कोरोना देखिसकेको छ । देशको मुख्य प्रवेशद्वार अनि खुल्ला सीमाका कारण जति नै कडाई गरेपनि मानिस आउने क्रम रोकिएको छैन’, उनले भने, ‘सीमा क्षेत्रमा आवागमनमासँगै वीरगञ्जमा लकडाउनमा कडाई गर्नपर्छ । हामीले लापरबाही गर्‍यौं भने कोरोना संक्रमण झनै फैलन्छ ।’

अहिलेको अवस्थामा अत्यावश्यक काममा बाहेक घर बाहिर निसक्न नहुने उनको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment