Comments Add Comment

मुलुकभर धान रोपाइँ सकिँदै

८ साउन, काठमाडौं । साउनको दोस्रो सातासम्म आईपुग्दा देशभरको रोपाइँको अवस्था राम्रो रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । देशभर कुल १३ लाख ७१ हजार ७०६ हेक्टर रोपाइँ योग्य भूमिमध्ये १२ लाख ५७ हजार ६०७ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिए ।

देशभरको उच्च पहाडमा धान खेती हुने ४८ हजार एक सय हेक्टर जमिनमध्ये ४२ हजार दुई सय हेक्टर अर्थात ८७ प्रतिशत भन्दा बढी क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

मध्य पहाडको तीन लाख ४६ हजार हेक्टरमध्ये दुई लाख ९४ हजार ९ सय हेक्टर करिब ८५ प्रतिशत भू-भागमा रोपाइँ सकिएको सम्पन्न भएको छ भने तराईमा ९४ प्रतिशत भू-भागमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ ।

धानको भण्डार मानिने तराई क्षेत्रमा देशभर ९ लाख ७७ हजार ४ सय १४ हेक्टर जमिनमा धान खेती गरिन्छ जसमध्ये ९ लाख २० हजार ३ सय ८२ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको प्रवक्ता डा.केसीले जानकारी दिए ।

सविकको अवधिमा गत वर्ष कुल रोपाइँयोग्य भूमिको ६३.७९ प्रतिशत भू-भागमा रोपाइँ सकिएको थियो । समयमै मनसुन सक्रिय हुनु तथा कोभिडका कारण गाउँ घरमा जनशक्ति प्रशस्त हुनुले रोपाइँ छिट्टै सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment