Comments Add Comment

रुपन्देहीमा खानेपानी कार्यालयमा तालाबन्दी 

८ साउन, बुटवल । रुपन्देहीको शंकरनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था योगीकुटीको कार्यालयमा तालाबन्दी भएको छ । संस्थाको नयाँ नेतृत्व चयनका लागि विधान विपरित निर्वाचन समिति बनाइएको र समावेशीतालाई बेवास्ता गरिएको भन्दै राष्ट्रिय जनमुक्ति पार्टीले कार्यालयको मूल गेटमा बिहीबार बिहान तालाबन्दी गरेको हो ।

उपभोक्तासहित झण्डै पाँचसय जनाको उपस्थितिमा नाराबाजी गर्दै उक्त पार्टीले गेटमा तालाबन्दी गरेपछि कर्मचारीहरु कार्यालय प्रवेश गर्न पाएका छैनन् ।

तालाबन्दी गर्ने सूचना पाएपछि सुरक्षाकर्मी तैनाथ गरिएपनि ठूलो संख्यामा उपभोक्तासहित पार्टीका कार्यकर्ता आएकाले प्रहरीले हस्तक्षेप गरेको थिएन ।

संस्थाको असोज अन्तिम साता गर्ने तय भएको छैटौं अधिवेशनका लागि कार्यसमिति वैठकले निर्वाचन समिति गठन गर्नुपर्नेमा विधान विपरित सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई जिम्मा दिएर दुई दल निकट व्यक्ति र संस्थाका कार्यसमिति सदस्य समेतलाई राखेर गठन गरिएको जनमुक्तिको आरोप छ ।

निर्वाचन समितिको सदस्यमा विधान विपरित संस्थाका कार्यसमिति सदस्य बेलप्रसाद शर्मालाई राखिएको, निर्वाचन समितिमा महिलाको सहभागिता नभएको र नगरमा क्रियाशील राष्ट्रिय जनमुक्ति, जनता समाजवादी पार्टी लगायत अन्य पार्टीलाई उपेक्षा गरिएकाले आन्दोलनमा उत्रिनुपरेको संघर्ष समितिकी संयोजक राधिका पुनले बताइन् ।

सहमतिविना तालाबन्दी खोलिए थप आन्दोलनका कार्यक्रम गरिने राष्ट्रिय जनमुक्ति पार्टीका तिलोत्तमा नगर अध्यक्ष भोमबहादुर बुढामगरले बताए ।

संस्थामा करोडौं रुपैयाँ वजेट रहेको र आफ्नो पार्टीले मितव्ययिता, पारदर्शिताको पक्षमा आवाज उठाउने गरेकाले वजेटमा मनोमानी गर्नका लागि दुई दलको मिलेमतो भएको उनले आरोप लगाए ।

वार्षिक करिव ४ करोड बराबरको आर्थिक कारोबार हुने संस्थामा हाल ६ हजार ३५० उपभोक्ता रहेका छन् । २१ जना कर्मचारी रहेको उक्त खानेपानी उपभोक्ता समितिमा १८ करोड बढीको कोष रहेको छ ।

संस्थाका अध्यक्ष हरि तिवारीले भने निर्वाचन समिति विधान अनुसार नै गठन गरिएको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment