Comments Add Comment

रकम लुटिएको नक्कली योजना बनाउने तीनजना पक्राउ

८ साउन, जनकपुरधाम । धनुषामा रकम लुटिएको नाटक गरेर आपसमा बाँड्ने सहमति गरेका तीनजनालाई प्रहरीले  पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका २ बस्ने २० वर्षीय धिरजकुमार अधिकारी, शहीदनगर नगरपालिका-७ ताराटोल बस्ने २१ वर्षीय सुजित मण्डल र जनकपुर उपमहानगरपालिका-१६ का २१ वर्षीय छोटु झा छन् । पक्राउ परेकामध्ये अधिकारी यदुकोहास्थित मोटरसाइकल शोरुमका कर्मचारी हुन् ।

प्रहरीका अनुसार अधिकारीले शोरुमले बैङ्कमा जम्मा गर्न पठाएको रकम मण्डल र झासँगको आपसी सहमतिमा लुटपाट भएको नाटक गरेर भागबण्डा गर्ने योजना बनाएको खुलेको छ ।

‘शोरुमका कर्मचारी अधिकारी रकम लिएर बैंकमा जम्मा गर्न भनी आइरहेको अवस्थामा बुधबार जनकपुरधाम १७ कपिलेश्वर जलाद पुल नजिकै रकम लुटिएको सूचना आएको थियो’ धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले भने, ‘अनुसन्धान गर्दा तीनै जनाले आपसी सहमतिमा लुटपाटको नाटक गरेका रहेछन् ।’

यसरी बन्यो लुटपाटको योजना

अधिकारी, मण्डल र झा चिनजानका व्यक्ति हुन् । यी तीनै जनाले ३ लाख ७६ हजार रुपैयाँ आपसी सहमति गरेर बाँड्ने योजना बनाएको र त्यसपछि रकम लुटिएको हल्ला फैलाएको पाइएको प्रहरीको भनाइ छ ।

अधिकारीले टीभीएस शोरुम यदुकुहाबाट जनकपुरस्थित बैंकमा राख्नको लागि  ३ लाख ७६ हजार रुपैयाँ ज १० प ९७ नम्बरको मोटरसाइकलमा लिएर आइरहेका थिए ।

तर बीच बाटोमा उनले रकम लुटिएको भन्दै प्रहरीलाई खबर गरे ।

‘यो सूचना पाएलगत्तै प्रहरीले अनुसन्धान थाल्यो,’ कार्कीले भने, ‘घटनाको अनुसन्धान गर्ने क्रममा आशंकित व्यक्ति मण्डल र झालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा आपसमा बाँडफाँट गर्ने योजना अनुसार नै लुटपाट गरिएको रहेछ ।’

उक्त रकम तीनै जनाको सहमतिमा छोटु झाको जनकपुरस्थित घरमा राखिएको थियो । तत्काल छोटु झाको घरमा प्रहरी टोलीले खानतलासी गर्दा माटोको भाँडामा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ ।

तीनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment