Comments Add Comment

‘मन्त्रीज्यू, काठमाडौंका सडकमा हिँड्न सकिएन’

सडक विभागका हाकिम भन्छन्- विगतकै कथा दोहोरिने चिन्ता भो

९ साउन, काठमाडौं । वर्षायाम लागेसँगै देशभर बाढी पहिरोको प्रकोप बढेको छ । बाटाहरु थुनिएका छन् । राजमार्गहरु अवरुद्ध छन् । ग्रामीण भेगका सडकमा पैदल हिँड्नसमेत सकिँदैन । ग्रामीण भेगको कुरा छाडौं, यतिबेला मुलुकको संघीय राजधानी काठमाडौंकै सडकको अवस्था पनि दयनीय बनेको छ । काठमाडौंमा यस्तो रोग वर्षेनी देखा पर्ने गर्छ ।

करिब तीन महिना पूर्णरुपमा लडकडाउन हुँदा काठमाडौंका सडकहरु चिल्ला एवं प्रदूषणरहित देखिएका थिए । सेतो रेखांकनले टिलिक्क टल्किएका सडकको तस्वीर खिचेर वैशाख पहिलो साता सामाजिक सञ्जाल रंगिएका थिए ।

बिगतमा बजेट सक्नका लागि असारमा गरिने पिच यसपालि काठमाडौंमा चैत-वैशाखमै गरियो । सडकको अवस्था राम्रो देखेर कतिपयले प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङको प्रशंसा समेत गरे । तर, त्यो प्रशंसा दुई महिना पनि टिकेन । पार्नी पर्न थालेपछि काठमाडौंको सडक हिँड्नै नसकिने गरी बिग्रिएको छ । पाइप बिछ्याउन भत्काइएको सडक अहिले भद्रगोल बनेको छ ।

सोह्रखुट्टे-चावाहिल-पुतलीसडक

बिहीबार मध्यान्ह सोह्रखुट्टे चोक पुग्दा न घाम लागेको थियो, न त पानी नै परेको थियो । बुधबार बिहानसम्म परेको पानी सुकिसकेकाले सडकमा थोरै धुलो उड्न शुरु भइसकेको थियो ।

सोह्रखुट्टेबाट डल्लुतर्फ जाने सडक किनाराको हालत अझ खराब थियो । ठाउँ-ठाउँमा खाल्डा थिए । खाल्डोमा पानी । बाटामा हिलो । ढल निर्माणका कारण खनेर पुरेको सडक किनारामा भर्खर बाढी आएर बनेको बगरजस्तै देखिन्थ्यो ।

चाबहिल चोकको अवस्था झनै दर्दनाक छ । त्यहाँ अनलाइनखबरको टोली पुग्दा गाडीहरु हिलो उछिट्याउदै गुडिरहेका थिए । दुई चक्के सवारी साधन चढ्ने कतिपय यात्रुहरुको घुँडा भन्दा तल हिलोले ढाकेको थियो । पैदल हिँड्नेलाई उस्तै सास्ती थियो ।

एक वृद्ध सडक पार गर्नै लाग्दा चिप्लिए । छेउमै रहेको पेटीको बारमा हातले समाउन भ्याएर जसोतसो उनी दुर्घटनाबाट बचे । तर, उट्टएिको हिलोको छिट्टा उनको मुखसम्मै पग्यो । हामीले केही कुरा गर्न खोज्यौं । हिलोबाट जोगिएका उनी रिसाए, ‘जानुस्, केपी ओलीलाई सोध्नुस्, हाम्लाई सोधेर के हुन्छ ?’

नजिकै आएर गाडी रोकियो । एक यात्रु ओर्लिइन् । गाडीबाट ओर्लिने वित्तिकै उनको खुट्टा पानी जमेको खाडलमा पर्‍यो ।

सिमसिम पानी परिरहेको थियो । अर्का एक अधबैँसे व्यक्ति सडक किनारामा हिँडिरेहका थिए । छेउबाट एउटा मोटरसाइकल हुइँकियो । मोटरसाइकलले हिलो उछिट्याएर ती व्यक्तिको ज्याकेटसम्म पुर्‍यायो । उनी रिसाए, ‘आँखा हेरेर बाइक चलाउन पनि जान्दैन ? कि आँखा फुटेको छ ?’

चाबहिल चोकको यो दृश्य केहीबेर नियालिसकेपछि हामी पुतलीसडक पुग्यौँ । चाबहिल चोकको भन्दा कम थिएन पुतलीसडकको अवस्था । फरक थिए त केवल यात्रा गर्ने मान्छेहरु ।

चाँडो हिँडौं हिलोमा लडिएला, विस्तारै हिडौं, गाडीले हिलो छ्यापिदेला । पैदल हिँड्नेहरु यस्तै त्रासमा थिए ।

सडक किनारामा रहेका व्यापारीहरु पनि हिलोले निकै तनाबमा रहेछन् । हिलोका कारण धेरै ग्राहकहरु पसलमा आउनै छाडेको व्यापारीले गुनासो सुनाए । पुतलीसडकमा कम्प्युटरका पार्टपूर्जा व्यापार गर्ने ओमकान्त साहले भने ‘पसल खोल्न दिने सरकारको निर्णयपछि पसल त खोल्यौं, तर पसल अगाडि हिलोको थुप्रो छ । यस्तो देखेपछि कसरी ग्राहक आउँछन् ?’

एक व्यक्ति साइकल डोर्‍याउदै कमलादीतर्फ अघि बढिरहेका थिए । यस्तो सडकमा साइकल चलाउन सकिने कुरै भएन । गाडीले हिलो छ्याप्ने डरले गर्दा किनारमा साइकल डोर्‍याउनु परेको उनले सुनाए । उनले भने, ‘हाम्रो कुरा कसैले सुन्दैन, तपाईहरु त पत्रकार मान्छे, मन्त्रीज्यूलाई भनिदिनुहोला, बाटोमा ढुक्कसँग हिँड्न पाइएन ।’

विगतकै कथा दोहोरिने चिन्ता

काठमाडौंका सडकमा वर्षा लागेसँगै खाल्डा पर्ने समस्या देखिन्छन् । यसै वर्ष आवधिक मर्मत गरिएका ५० किलोमिटरभन्दा बढी सडक खण्डमध्ये केहीमा नयाँ खाल्डाहरू पर्न थालिसकेका छन् । भदौसम्म यी सडकमा फेरि विगतकै कथा दोहोरिने चिन्ता विभागका अधिकारीहरूलाई पनि छ ।

सरकारले नागरिकलाई खाल्डोबाट जोगाउन भन्दै पेट्रोल/डिजेलमा प्रतिलिटर १५ रुपैयाँ पूर्वाधार कर असुलिरहेको छ । तर, सडक आवागमन भने खाल्डाहरुकै कारण असहज बन्न थालेको छ ।

सडक विभागका अधिकारीहरु ढल र खानेपानीका अन्य अड्डामाथि दोष खन्याउँछन् । अझ सडक विभागले नहेर्ने सडकको कन्तबिजोक देखाएर आफूहरूलाई गाली गर्ने गरिएको गुनासो उनीहरूको छ ।

फेरि वर्षा सकिँदासम्म यो सडकले पुरानै अवस्थामा फर्किने डर विभागलाई नभएको भने हैन । तर, पनि विभागका अधिकारीहरु यो वर्ष धेरै सडकहरुमा आवधिक मर्मत गरिएकाले समस्या नआएको दाबी गर्छन् ।

चाबहिल, पुतलीसडक लगायतका क्षेत्रमा सडक पकट-पटक बिग्रने समस्या हल गर्ने गरी काम भइरहेकाले केही समस्या भएको भएको विभागका महानिर्देशक तथा प्रवक्ता केशवकुमार शर्मा बताउँछन् ।

‘चाबहिल-गौशाला सडक वर्षा अगावै काम सक्ने भनिए पनि विद्युत प्राधिरकणले समयमै तार अन्डरग्राउन्ड गर्ने काम नसकेकाले ढिला भयो,’ उनी भन्छन्,’यो खण्डमा सधैं खानेपानी र ढल फुटेर सडक बिग्रियो भनेर यसपटक एउटै प्याकेजमा ठेक्का लगाएर नयाँ पाइप हाल्ने र सडक बनाउने काम गरेका छौं ।’

पुतली सडकमा पनि ढलका कारण वर्षैपिच्छे समस्या भएकाले लकडाउनको मौका छापेर ढल हाल्ने काम गरिएको विभागले बताएको छ । तर, काम सक्दा नसक्दै वर्षा लागेका कालोपत्रे गर्न नसकिएको र अवस्था सहज हुनासाथ काम सुरु गरिने विभागको भनाइ छ ।

सोह्रोखुट्टे लगायतका सहरका विभिन्न स्थानमा खानेपानी र ढलका पाइपहरु फुट्दा सडकमा खाल्डा पर्ने समस्या परेको भन्दै विभागले समस्या समाधानका लागि पहल भइरहेको बताए । ‘हामीले यो वर्ष सडकको अवस्थामा धेरै सुधार ल्याएका छौं,’ उनी भन्छन्,’जहाँ-जहाँ समस्या छन्, त्यहाँ ध्यान केन्दि्रत पनि गरेका छौं ।

तस्वीरहरु : आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment