Comments Add Comment

स्क्यान्डलका पर्याय दुर्गेश थापा : फ्यानको मुटु जलिरहेछ !

पछिल्ला दिनहरुमा नेपाली संगीत क्षेत्रमा स्क्यान्डल किङको उपमा पाउन थालेका छन् गायक दुर्गेश थापाले । उनीमाथि एकपछि अर्को विवाद आइरहँदा अब त यस्तो लाग्छ कि उनी विवादमा नै मज्जा लिन थालिसके ।

गत वर्षको तिजमा ‘हामी पनि नाच्नु पर्छ बीच्च बीच्चमा’ बोलको गीतबाट हिट भएका थिए दुर्गेश । एउटै गीतले चर्चाको शिखरमा पुर्‍याएपछि उनले फेरि पछाडि फर्किनु परेको छैन । उनले जे छोए पनि हिट भइरहेका छन् । तर, सँगसँगै उनलाई विवादले पनि पिछा छाडेको छैन । एकपछि अर्को गल्ती गर्दै उनले आफूलाई स्क्यान्डल किङको रुपमा उभ्याएका छन् ।

दुर्गेशले अघिल्लो तिहारमा ल्याएको गीतले निकै ठूलो विवाद सिर्जना गरेको थियो । उनले गाएको ‘डन आयो डन..’ बोलको गीतमा प्रयोग गरेका शब्दहरुमाथि चौतर्फी आलोचना भयो । विवाद झांगिँदै जाँदा प्रहरीले उनलाई पक्राउ नै गर्‍यो । हिरासतबाटै आफ्नो गीत यूट्यूबबाट हटाएर उनी छुटे । छुटेपछि विवादित शब्दहरु झिकेर फेरि अपलोड गरे ।

त्यसपछि दुर्गेशले अर्को स्क्यान्डल मच्चाए, चलचित्र छक्का पञ्जाको प्रमोसनल गीतमार्फत । ‘बीच्च बीच्चमा’ कै थेगोमा गाएको सो गीतको एउटा लाइन थियो– ‘यसपाली त फलानो ब्याउने कुरो छ ।’

दुर्गेशले स्क्यान्डलकै लागि यस्तो आपत्तिजनक शब्द राखेको आरोप पनि लाग्यो । त्यसो त यस गीतको रचनामा उनलाई छक्का पञ्जाका निर्माता दीपकराज गिरीको पनि साथ थियो । सम्भवत दीपकराज पनि चर्चाको लोभले गर्दा यस्तो शब्द राख्न सहमत भएका थिए ।

दुर्गेशले यसपालीको तीजलाई लक्षित गर्दै दुईवटा गीत ल्याएका छन् । १६ दिनको अन्तरालमा ल्याएका ‘बीच्चबीच्चमा २’ र ‘बीच्चबीच्चमा ३’ दुवै गीतले राम्रो भ्यूज पाइरहेका छन्, तर विवादबाट मुक्त छैनन् । ‘बीच्चबीच्चमा २’ को अन्तरामा उनले एउटा पुरानो गीतका दुई लाइन हुवहु चोरेको पुष्टि भइसकेको छ ।

दुर्गेशको गीतको अन्तरामा रहेको ‘आकाशैमा बादलु डम्मै छ, मनमा के छ भन्नेलाई सम्मै छ..’ भन्ने लाइन प्रेमराजा महत र हरिदेवी कोइरालाले धेरै पहिले गाएको गीतको मुखडा हो । दुर्गेश स्वय‌ंले पनि यो स्वीकारेका छन् ।

पाँच दिनअघि उनले ल्याएको बीच्चबीच्चमा–३ गीत पनि विवादित नै छ । यो चाहिँ शब्दले होइन, म्युजिक भिडियोका कारण विवादमा परेको हो । म्युजिक भिडियोमा दुर्गेश सहितका पुरुष कलाकारहरु साडी लगाएर महिलाको भेषमा प्रस्तुत भएका छन् । यो प्रयोगलाई कतिपय दर्शकले रुचाएका छैनन् । यो भिडियोले महिलाहरुको अपमान भएको भनेर आलोचना गरिएको छ । धेरैले यसलाई ‘गाइजात्रे गीत’को संज्ञा दिएका छन् । हुन पनि यो गीत तिजमा भन्दा गाइजात्रामा गाउने खालको छ । गीतका केही लाइनहरु उत्कृष्ट छन् तर भिडियोले गर्दा दुर्गेश ट्रोलको शिकार हुनुपरेको छ ।

कुनै गीत विवादमा आयो भने त्यसलाई धेरैभन्दा धेरेले हेर्न खोज्छन् । यूट्यूवमा स्वतः भ्यूज बढ्छ । भ्यूज बढ्नु भनेको  युट्युबबाट हुने आम्दानी बढ्नु हो । यही बुझाइले गर्दा दुर्गेशले जानाजान विवादित काम गरिरहेको कतिपयको आरोप छ । हुन पनि उनका गीत जति विवादित छन् उति चलेका पनि छन् ।

‘बीच्चबीच्चमा २’ ले २२ दिनमा ६४ लाख भ्यूज कमाइसकेको छ भने ‘बीच्चबीच्चमा ३’ को भ्यूज पाँच दिनमै २४ लाख पुग्न लागेको छ । संसोधित ‘डन आयो डन’ ७४ लाखपटक हेरिएको छ । सुरुको ‘बीच्चबीच्चमा’ को भ्यूज डेढ करोड पुग्न लागेको छ ।

यता म्युजिक भिडियोमा अभिनय गर्न पनि दुर्गेशको डिमान्ड छ । अरुले गाएका थुप्रै गीतमा उनले मोडलिङ गरेका छन् । उनको यूट्यूब च्यानलमा ७ लाखभन्दा बढि फलोअर्स पुगेका छन् । यस हिसाबले दुर्गेशले सफलताको उकालो चढ्न स्क्यान्डलको सहारा लिइरहनुपर्ने अवस्था छैन । आवाजमा खासै दम नभए पनि उनी मज्जाले चलिरहेका छन् ।

अब कुरा गरौं ताजा स्क्यान्डलको । यो चाहिँ उनको गीतका कारण नभएर अन्तर्वार्ताका कारण उब्जेको स्क्यान्डल हो । उनले ऋषि धमलालाई दिएको अन्तर्वार्ताको एउटा अंश अहिले भाइरल भएको छ ।

धमलाले दुर्गेशलाई भन्छन्, ‘स्वर सम्राट नारायण गोपाललाई सम्झेर एउटा गीत गाइदिनुस् ।’

दुर्गेश जवाफदिन्छन्, ‘उहाँको गीत… म सुन्छु ।’

अनि गाइदिन्छन्ः मुटु जलिरहेछ, यो मन गलिरहेछ …यत्ति आउँछ ।

नेपाली संगीतको थोरै मात्र ज्ञान भएकालाई पनि थाहा छ, यो नारायण गोपालले नभएर भक्तराज आचार्यले गाएको गीत हो । उनले नारायण गोपालको भनेर भक्तराजको गीत बेसुरा तरिकाले गाउँछन् ।

दुर्गेशले गलत गीत गाउँदा धमलाले कुनै प्रतिक्रिया जनाउँदैनन् । उनलाई पनि के थाहा दुर्गेशले गाएको गीत नारायण गोपालको हो कि होइन । बरु धमला अर्को प्रश्न सोध्छन्, ‘यम बरालको गीत पनि तपाईंलाई मन पर्छ ? उहाँ पनि गायक हो नि ?’

केही सम्झेजस्तो गर्दै दुर्गेश भन्छन्, ‘यम बरालको गीत … अँ दाइको मन पर्छ । मलाई उहाँको… ओराली लागेको हरिणको चाल भो भन्ने ।’

यसमा पनि चुके दुर्गेश । यो गीत यम बरालले नभएर रामकृष्ण ढकालले गाएका हुन् । सम्भवतः रामकृष्णको करिअरकै सर्वाधिक चर्चित गीत हो यो । धमला यहाँ पनि प्रतिक्रिया जनाउँदैनन् ।

स्वरसम्राट नारायण गोपाल नेपालको संगीत इतिहासकै सर्वाधिक प्रख्यात र आदरणीय गायक हुन् । सारा नेपालीले नारायण गोपाललाई चिन्छन् । उनका गीत सुनेका छन् । तर, संगीत क्षेत्रमै चर्चा कमाएका कलाकारले नारायणगोपालकै गीत गलत गाउनु भनेको दयनीय हो ।

केही दिनअघि आफ्नो क्षेत्रभन्दा बाहिरका सामान्य विषयवस्तुबारे सोधिएका प्रश्नको सही जवाफ दिन नसक्दा नायिका पूजा शर्मा निकै दिन ट्रोल भइन् ।

दुर्गेशमा भने आफ्नै संगीत क्षेत्रको ज्ञान कमजोर देखियो । बढ्दो संख्यामा रहेका उनका फ्यानको मुटु जलिरहेको होला ।

–चिरञ्जीवी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment