Comments Add Comment

चेपाङको घर जलाएको घटनाबारे मानव अधिकार आयोगद्वारा अनुसन्धान सुरु

९ साउन, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले माडी नगरपालिका–९ कुसुमखोलाका चेपाङ समुदायको घरमा आगो लगाएको र सेनाको कुटपिटबाट चेपाङ युवकको मृत्यु भएको घटनाको अनुसन्धान सुरु गरेको छ ।

आयोगको वागमती प्रदेश कार्यालय सानेपाले घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएको आयोगका सचिव वेद भट्टराईले जानकारी दिए ।

२०५३ सालदेखि बसोबास गर्दै आएका सुकुम्बासी चेपाङ समुदायको घरमा चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको टोलीले निकुञ्जको जग्गा खाली गर्ने भन्दै दुईवटा घरमा आगजनी गर्नुका साथै आठवटा घरहरूमा हात्ती लगाएर भत्काएको थियो ।

त्यस्तै राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङ्गको निकुञ्जमा खटिएका नेपाली सेनाले २०७७ साउन १ गते नियन्त्रणमा लिई कुटपीट गरी यातना दिएको र उनको मृत्यु भएको घटनाप्रति ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।

‘यस प्रकृतिका कार्यबाट व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकार कुण्ठित हुन पुगेको तथा सामाजिक न्याय, आवासकोे हक लगायतका अधिकारहरूको समेत उल्लंघन हुन गएको देखिन्छ’ आयोगले भनेको छ ।

आयोगले आगजनी गरिएको र घर भत्काई विस्थापित तुल्याइएका व्यक्तिको उचित बासको लागि तत्कालै वैकल्पिक व्यवस गर्न सरकारलाई आग्रह गरेको छ ।

त्यस्तै दुवै घटनाको निष्पक्ष छानविनमार्फत घटनामा संलग्नलाई यथाशीघ्र कानूनी दायरामा ल्याउन र मृतक राजकुमार चेपाङको परिवारलाई उचित क्षतिपूर्ति दिन पनि आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment