घुर्मीतिरबाट ओखलढुंगा, सोलुखुम्बु र खोटाङतिर जाने सडक खनिएपछि राईघाटको बाटो ठ्याप्पै सुक्यो । अब बिहानै उठेर दोकानमा चिया पकाउन उसलाई जाँगर नै छैन । बाटो हिँड्ने मान्छे भए पो चिया खान्छन् ।
अचेल बाटोमा दिनभरमा दश जना पनि हिँड्दैनन् । कहिलेकाहीँ वरपरका गाउँका केही मानिसले बिस्कुट, चिनीलगायत अलिअलि खिच्रिङमिच्रिङ किन्नेसम्म हुन् ।
‘अब यो दोकानले दुई जनाको ज्यान पनि नपाल्ने भो !’ खोजुले बिहानै उठेर दिक्दार मान्यो ।
‘खुट्टा नभएको मान्छेले अरू पेसा के नै पो गर्न सकिन्छ र ! तिमी यही पसल चलाऊ, म सकेजानेको खेतीपाती गर्छु !’ निराशाको बेला उसलाई श्रीमतीले ढाडस दिई ।
खोजुले जनयुद्धमा लागेर एउटा खुट्टा गुमाएपछि श्रीमती बेलाबेला आक्रोश पोख्थी ।
‘हामी नलडेको भए गणतन्त्र कहाँ आउँथ्यो र !’ खोजु श्रीमतीलाई बुझाउन खोज्थ्यो ।
****
खोजु धेरैपछि मात्र जनयुद्धमा लाग्यो । एकमात्र सन्तान कमरेड वसन्त पश्चिम खाराको भिडन्तमा मारिएपछिको करिब तीन वर्ष ऊ युद्धका विभिन्न मोर्चामा रह्यो ।
‘म छोराका कारण क्रान्तिमा लागेको थिएँ, कोही नेताको प्रभावले होइन । मेरो छोरो शहीद भएकोमा मलाई गर्व छ ।’ खोजु अझै पनि मानिसहरूलाई उत्साहका साथ आफ्नो कथा सुनाउँथ्यो ।

पार्टी शान्ति प्रक्रियामा आएपछि ऊ पनि घर फर्कियो । आफ्नै बारीछेउको बाटोमा चिया पसल राखेर जीविकोपार्जन गरेको पनि अब त धेरै भइसक्यो ।
पार्टीमा लाग्नुभन्दा अघिको कमरेड खोजुको नाम लालबहादुर श्रेष्ठ । पार्टी नाम जुराउँदा कमरेडहरूले यस्तो नाम नराख्न सल्लाह नदिएका होइनन् तर उसलाई यो शब्दप्रति असाध्यै प्रेम थियो । उसले खोजु नाम राख्नुको पछाडि खास कारण थियो ।
तीन पुस्ता भएछ उसको परिवार यस ठाउँमा बस्न आइपुगेको । व्यापार चल्ने ठाउँ खोज्ने क्रममा उसको हजुरबुबा धुलिखेलबाट यहाँ आइपुग्नुभएछ । उसले सानैमा हजुर’बाकै मुखबाट सुनेअनुसार धुलिखेलबाट कटारी र त्यसपछि यहाँ आउनुभएको हो ।
कोही निबुुवाटार कोही निबुवाघाट भन्छन् मान्छेहरू यो ठाउँलाई । खास नामचाहिँ निबुवाटार नै हो । कोसी नदी वारपार गर्ने डुंगा यही लागेपछि यात्रुहरूले निबुवाघाट पनि भनिदिएका हुन् ।
आफ्ना हजुर’बाभन्दा अगाडिको पुस्ताबारे कमरेड खोजुलाई केही थाहा छैन । धुलिखेल गएर आफ्ना वंश भेट्ने उसको पुरानो रहर मनमै खुम्चिएर बसेको छ ।
‘हामी श्रेष्ठ जातिभित्रको खोजु थरी हौं, बुझिस्’, हजुरबाले बेलाबेला जोड दिएर भन्नुभएको उसले बिर्सेको छैन ।
हजुर’बा आफ्ना शाखासन्तानलाई नेवारी भाषा सिकाउन खोज्नुहुन्थ्यो तर अरू नै भाषीसँगको दैनिक घुलमिलले त्यो सम्भव भएन । आफ्नो भाषा बिर्सेकोमा कामरेड खोजुलाई ठूलो अपसोच छ ।
जनयुद्धमा लागेको बेला काठमाडौं उपत्यकाका नेवार साथीहरूबाट भाषा सिक्ने कोसिस पनि गर्यो उसले तर कार्यक्षेत्र परिवर्तन भइरहँदा सम्भव भएन । सिक्यो तर थोरै मात्र ।
****
छेउको सुनकोसी नदी आफ्नै गतिमा बगिरहेको थियो । हिउँद सुरु भएपछि ऊ भित्रभित्रै खुसी हुन्छ । यो गाउँको पहिलेको रमाइलोपन त्यसैत्यसै हराएर गयो । वर्षायाम सुरु भएपछि यो बस्ती मानिसहरूबाट एक्लिँदै सन्त्रासमा बाँच्न विवश हुन्छ । तलबाट कोसीको बाढी, माथिबाट पहिरोको डर ।
४१ सालको बाढीले यो गाउँको गुलजारपन पूरै लुटेर लग्यो । तर कमरेड खोजुलाई बगरमा परिणत भएको यही गाउँ सबैभन्दा प्रिय लाग्छ ।
भुङ्जु डाँडामुन्तिर गोरुजुरेसम्म घाम देखानपरुन्जेल आज उसलाई ओछ्यान छोड्ने इच्छा भएन । सुनकोसीबाट चिसो स्याँठ आउन रोकिएको थिएन ।
‘आज दोकान खोल्ने विचार छैन कि के हो ? एक–दुई गिलास चिया बिक्री हुन्थ्यो कि ?’ बाहिर टाट्नामा बाख्रालाई घाँस राखिदिँदै श्रीमती कराई ।
‘कोही आउँदैनन्, कोसीको चिसो खानमात्र किन खोल्नु ?’ खोजु सिरकबाट अलिअलि मुख निकालेर बोल्यो ।
‘आज कमरेड दिनेशले चिनजान गराउन पार्टीको उमेदवार लिएर आउँछु भनेको ?’
चुनाव आउनमात्र एक महिना छ तर गाउँमा पहिलेपहिले जस्तो चहलपहल छैन । दिउँसो पसलमा आउने एकाध मानिसले गर्ने चर्चामा सीमित छ, आसन्न चुनावी चलहलपहल ।
कमरेड खोजुले समेत आफ्नो पार्टीको उम्मेदवार चिनेको थिएन । पार्टीले बनाएको ‘जनयुद्धका घाइते तथा अपाङ्गहरूको सङ्गठन’को केन्द्रीय तहमै छ, ऊ । यसको बैठक नभएको वर्षौं भइसक्यो ।
दिनेशले माओवादी पार्टीको तर्फबाट कमरेड मंगलमान सांसदको उम्मेदवार बनेको खबर सुनाउँदा खोजुले अचम्म मान्दै सोधेको थियो, ‘को मंगलमान ?’
‘उहाँ २०६२/०६३ को जनआन्दोलनपछि पार्टी प्रवेश गर्नुभएको कमरेड । पार्टीमा उहाँको पुरानो योगदान छ अरे !’ कमरेड दिनेशले जानेसम्मको परिचय दिएको थियो ।
‘मैले कहिल्यै, काहीँ पनि यो नाम सुनेको थिइनँ…’ खोजुले निकै बेर घोरिएर भनेको थियो ।
आज कमरेड दिनेश पार्टीबाट सांसदको टिकट पाएका तिनै उम्मेदवारलाई लिएर आउँदैछन् । खोजुले सोच्यो– यसरी आफूलाई महत्व दिएर भेट्न आउनु पनि राम्रै कुरा हो !
दिनेश पनि कमरेड खोजुले नै पार्टीमा संगठित गरेको कार्यकर्ता हो । ऊ अत्यन्तै सक्रिय भएर लागिरहेको छ । कमरेड खोजुलाई केही परेको बेला अन्तरहृदयले सहयोग गर्छ । अहिले त खोजुको अभिभावक नै भन्दा पनि हुन्छ, उसलाई । पार्टीले यस क्षेत्रको चुनाव प्रचार–प्रसार समिति प्रमुख पनि उसैलाई तोकेको छ ।
त्यही दिनेश आज उम्मेदवार कमरेडलाई लिएर आउँदैछ । सिरक भित्तातिर हुत्याएर जुरुक्क उठ्यो, खोजु ।
बाहिर निस्केर बाटोतिर हेर्दा आठ/दश जना मानिस आइरहेको देखियो । निकै खाइलाग्दो एकजना मौरीको रानोजस्तो भएर समूहको बीचमा हिँडिरहेको छ । त्यही होला हाम्रो पार्टीको उम्मेदवार ! खोजुले लख काट्यो ।
समूह नजिक आइपुग्यो । त्यो खाइलाग्दो मान्छेको अनुहार कतै देखेदेखे जस्तो लाग्यो, उसलाई । पार्टीको भेलामा हो ? अहँ होइन । कतै जुलुसमा हो ? त्यो पनि होइन । खोजुले निकै कोसिस गर्यो तर सम्झन सकेन ।
‘कमरेड, लालसलाम !’ रातोपिरो मानिसले ठूलो स्वर निकालेर खोजुलाई अभिवादन गर्यो ।
‘लालसलाम ! लालसलाम !! आउनुस्, बस्नुस् !’ खोजुले आँगनमा गुन्द्री फिजाउँदै भन्यो ।
उम्मेदवार कमरेडलाई गुन्द्रीमा बसाएर आफू उभिएर दिनेशले घरबेटीको परिचय दियो– ‘तपाईंलाई मैले भन्ने गरेको हाम्रो आन्दोलनको महत्वपूर्ण मानिस उहाँ नै हो । उहाँ जनयुद्धको घाइते । उहाँको छोरा कमरेड वसन्त जनयुद्धका शहीद । त्यस अर्थमा उहाँ शहीद परिवार पनि । जनयुद्धमा उहाँले भोजपुर, रामेछाप, ओखलढुंगा, बन्दीपुरजस्ता ठूला मोर्चामा लड्नुभयो । उहाँ जनयुद्धको जिउँदो शहीद हुनुहुन्छ ।’
मंगलमानको अनुहारको रङ्ग एक्कासी बदलियो । नाकको डाँडीमा चिटचिट् पसिना निस्कन थाले । उसको ओठमुख पूरै सुकेको सबैले देखे । हेर्दाहेर्दै उसको टाउको लत्रियो ।
कमेरड खोजुले एकाएक बदलिएको मंगलमानको अनुहार नियाल्ने कोसिस गर्यो । त्योसँगै ऊ झसंग भयो ।
****
यो त त्यही मेजर हो, दानव मेजर !
कमरेड खोजुको मगज फनफनी घुम्न थाल्यो । उसलाई यो त सपनै हो कि जस्तो भयो । तर यो विपनाको वास्तविकता थियो ।
उम्मेदवार र घरबेटी कमरेडको मनोदशा देखेर समूहका मानिसहरू छक्क परिरहेका थिए । त्यही बेला मंगलमान उठेर सुइँकुच्चा ठोक्यो ।
‘एक छिन कमरेड… !’ कमरेड दिनेश करायो, ‘खोजु अंकल हाम्रो पार्टीको सम्मानित कमरेड हुनुहुन्छ, यहाँ केही समय नबसी हिँड्न मिल्दैन ।’
निकै पर पुगिसकेको मंगलमान केही नसुनेझैं दौडिरहेको थियो । आश्चर्यमा परेको समूह पनि कमरेड खोजुसँग बिदा मागेर मंगलमान गएकै बाटोतिर लागे ।
सबै हिँडेपछि खोजु आँगन डिलको पर्खालमा थचक्क बस्यो । उसका आँखा अघिल्तिर बीस वर्ष पहिलेका कहालीलाग्दा घट्नाहरू नाच्न थाले ।
****
त्यसबेला कमरेड खोजु मकवानपुर जिल्लाको भीमफेदी इलाकामा इन्चार्जको जिम्मेवारीमा थिए । तत्कालीन शाही नेपाली सेनाको फेला परेपछि पाएको यातना सम्झँदा अहिले पनि उसको मुटु काँप्न थाल्छ ।
उनीहरू आफ्नै साथीको सुराकीबाट शाही सेनाको हातमा परेका थिए । बैठक गरिरहेको घर घेरेर सबैलाई त्यहीँ सिध्याउने सेनाको पहिलो योजना रहेछ । त्यहीबीचमा माथिबाट थप सूचना प्राप्त गर्ने निर्देशन आएपछि उनीहरूलाई सुपारेटार ब्यारेक लगिएको थियो ।
समातिएका पाँच जनामध्ये इलाका कमिटी इन्चार्ज खोजुबाट मनग्गे सूचना मिल्न सक्ने सम्भावना थियो । निरन्तर छ घण्टाको यातनापश्चात् आधा रातमा सबैलाई चुरेको कुनै जङ्गलमा पुर्याइयो ।
‘हामीले मागेको सूचना दिन्छौं भने तिमीहरू बाँच्न सक्छौ !’ मेजरले भन्यो, ‘पार्टीमा को–को नेता छन् ? कहाँ–कहाँ बस्छन् ? हतियार कहाँ–कहाँ छन् ? यो इलाकामा तिमीहरूको सहयोगी को–को हुन् ?’
पाँचमध्ये एक जना महिला थिइन्– कमरेड सरला । उनीसहित पाँचैजना कमरेड सेल कमिटीमा संगठित थिए ।
मेजरले पाँचैजनालाई ब्यारेकबाटै लगिएका कोदालोसँगै आ–आफ्नो साइजका खाडल खन्न आदेश दिए । यातनाको बीचबाट उनीहरूले ठूलाठूला दुईवटा खाडल खने ।
अघि ब्यारेकमा यातना पाउँदा सात महिनाकी गर्भवती कमरेड सरला ‘बरु मलाई मार’ भन्दै चिच्याएकी थिइन् । मेजर मंगलमानले सकिनसकी कोदालो समातेकी उनलाई त्यही, सबैको अगाडि बलात्कार गर्यो र पेटमा बन्दुकको कुन्दाले हानेर हत्या गर्यो ।
‘आतंककारीलाई कसो गर्नुपर्छ, देखिस् ?’ खोजुतिर फर्केर मेजर मंगलमानले भनेको थियो ।
ब्यारेकमा बुट, लाठी र बन्दुकका कुन्दाले जथाभावी कुट्दा कसैको आँखा फुटिसकेका थिए, कसैको दाँतहरू झरिसकेका त कसैको हात वा खुट्टा भाँचिएका थिए । खोजुलाई भने सूचना चुहाउन सक्ने भएकोले अंगभंग पारिएको थिएन ।
खोजुकै अगाडि एक जनालाई लास बनाएर अनि तीन जनालाई ज्युँदै पुरियो । मारिन बाँकी खोजु यातनाले निकै कमजोर भइसकेको थियो ।
आधारात कटिसकेको हुनुपर्छ, पूर्वमा जून उदायो र रुखहरूका छाया देखिन थाले ।
‘यसलाई बेग्लै ढंगले सिध्याउनुपर्छ, केटा हो !’
खोजुतिर हेर्दै यति भनेर मेजरले एक सिपाहीलाई मालको झोला खोल्न इसारा गर्यो । अन्तिममा मारिन लागेको बुझेर खोजुले यसो वरिपरि हेर्दा बाटोजस्तो लाग्ने मधुरो धर्सो देखियो ।
मेजर मंगलमान र सिपाहीहरू ढुक्कले सितनसँग रक्सीको खाजा खान थाले । केही बेरमा लट्ठिएको स्वरमा मेजरले भने, ‘आजकल मलाई आतंककारीको छाला काढ्दा मजा आउन थालेको छ ।’
त्यही क्षणमा खोजुले बिजुलीवेग मार्यो । सैनिक टोलीले ऊ भाग्न सक्छ भन्ने सोचेकै थिएन ।
यातनाबाट मरणासन्न खोजुको शरीरमा कहाँबाट, कुन शक्ति आएर हो, उसले पछि लागेका सैनिकहरूलाई झन्झन् पछाडि पार्दै लग्यो । अन्ततः ऊ भागेर बाँच्न सफल भयो ।
घाइते शरीर लिएर कसोकसो पार्टी सम्पर्कमा पुगेको उसलाई कमरेडहरूले उपचारका लागि भारत पुर्याए । तर उसको खुट्टा काट्नैपर्ने भयो ।
खोजुले आँगनको डिलमा बसेर एकै निमेषमा ती दिन सम्झ्यो ।
****
कमरेड खोजुलाई त्यस रातभर निद्रा परेन । मंगलमानको अनुहार झल्झल्ती भइरह्यो । आधा रातमा उठेर एक ओम्खरा पानी खायो अनि भित्तातिर अडेस लाग्दै सोच्यो– हत्तेरी, हिँड्दाहिँड्दै कहाँ आइपुगिएछ !