Comments Add Comment

निर्मला हत्याको २ वर्ष : न दोषी पहिचान, न परिवारले पाए न्याय

फाइल तस्वीर : निर्मलाको तस्वीर हेर्दै आमा दुर्गादेवी ।

१० साउन कैलाली । साथीकहाँ गृहकार्य गर्न गएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त अबेरसम्म घर आइनन् । परिवार र छिमेकीले खोज्दा पनि नभेटिएकी उनको शव भोलिपल्ट अर्थात ११ साउन २०७५ मा भीमदत्त नगरपालिका-२ र १८ को सिमाना पर्ने निम्बुखेडा खोला नजिक उखु बारीमा भेटियो ।

पन्तको बलात्कारपछि हत्या भएको प्रहरीले ठहर गरेको छ । तर घटनाको दुई वर्षसम्म पनि दोषी पहिचान गर्न सकेन ।

शनिबार निर्मलाको हत्या भएको दुई वर्ष पुगेको छ । यो अवधिमा प्रहरीले थुप्रै आरोपी पक्राउ गर्‍यो । तर कसले, कसरी र किन हत्या गर्‍यो भन्ने गतिलो प्रमाण भेटिएको छैन । त्यसैले पक्राउ परेकाहरू केही समयमै छुटे ।

एक सयभन्दा बढीलाई केरकार गरेर छोडेको प्रहरीले दिलिपसिंह विष्टलाई भने दोषी ठहर पनि गरेको थियो । घटना भएको २४ औं दिन अर्थात् ४ भदौ २०७५ मा प्रहरीले विष्टलाई मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो ।

तर विष्ट अभियुक्त भएको प्रहरी दाबीमा कञ्चनपुरबासी सहमत भएनन् र आन्दोलन सुरु भयो । स्थिति नियन्त्रणमा लिन भन्दै प्रहरीले गोली चलाउँदा भीमदत्त नगरपालिका १८ का १४ वर्षीय किशोर सन्नी खुनाको ज्यान गयो भने १२ जनाभन्दा बढी घाइते भए । आन्दोलन उग्र बन्दै गर्दा विष्टको डीएनए मेल नखाएपछि उनी छुटे । त्यसपछिका अनुसन्धानमा प्रहरीले दर्जनभन्दा बढीको डिएनए परीक्षण गर्‍यो । तर सबैको डिएनए मेल खाएन र छुटेका छन् ।

सुरुबाटै अनुसन्धान कमजोर हुँदा दोषी पहिचान हुन नसकेको प्रहरीले स्वीकार गरेको छ । ‘सुरुमा अनुसन्धानमा केही कमजोरी भए,’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले भने, ‘प्रहरीलाई अनुसन्धानमा बाधा पुग्ने गरी आन्दोलन भयो र अनुसन्धान प्रभावित बन्यो ।’

यद्यपि अब केही समयमै उपलब्धि हात पार्ने उनको दाबी छ । प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको भन्दै उनले भने, ‘विज्ञसहित टोली अनुसन्धानमा छ, घटनाको वास्तविकता बाहिर आउँछ ।’

नेपाल प्रहरीका प्रमुख शैलेश थापा क्षेत्रीले घटनालाई नयाँ शिराबाट अनुसन्धान गर्न निर्देशन दिएको प्रहरी स्रोतको दाबी छ । यसअघिका दुई आईजीपी सर्वेन्द्र खनाल र ठाकुर ज्ञवालीले आफ्नो कार्यकालमा यो मुद्दा टुंग्याउन चाहेका थिए । तर अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन दुवै सफल भएनन् ।

न्यान नपाउने चिन्ता

निर्मलाको परिवारलाई भने न्यान नपाइने हो कि भन्ने चिन्ता छ । ‘छोरीको हत्या भएको पनि दुई वर्ष पुगिसक्यो,’ आमा दुर्गादेवीले भनिन्, ‘अझै न्याय पाउन सकिएको छैन । न्यायका लागि आवाज उठाउँदा पनि प्रहरीले अपराधी समात्न सकेन ।’

अनुसन्धान गर्ने भन्दै कयौं पटक प्रहरी आएको र आफूले वास्तविकता बताउँदा पनि दोषी पक्राउ नगरेको उनको भनाइ छ । ‘प्रहरीहरू आइरहन्छन्, हामीले सबै भन्छौँ,’ उनले अनलाइनखबरसँग भनिन्, ‘हिजो अस्ति पनि आएका थिए । तपाईहरू केही गर्नुहुन्न, हाम्रो आशा मरिसक्यो भनेर फर्कायौं ।’

निर्मलाका बुवा यज्ञराजले न्यायका लागि कुनै कसर बाँकी नराखेको बताए । ‘न्यायका लागि आवाज उठाउँदा मानिसको ज्यान नै गयो, तर सरकारले चासो दिएन,’ उनले भने ।

परिवारका सदस्य मात्रै होइन, छिमेकी र अधिकारकर्मीहरू पनि पन्त परिवारले न्याय पाउँदैनन् कि भन्ने चिन्तामा छन् । ‘हिजो अस्ति पनि हामी प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई भेट्न गएका थियौँ,’ महिला अधिकारकर्मी माया नेगीले भनिन्, ‘पहिले जस्तै आश्वासन पाएर फर्कियौँ ।’

समिति आए, गए !

गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । मैनाली नेतृत्वको समितिले निर्मला पन्तको अन्यत्रै सामूहिक बलात्कार भएर उखुबारीमा ल्याएर फालिएको निष्कर्ष निकालेको छ । प्रतिवेदनमा प्रहरीले अनुसन्धानमा चरम लापरबाही गरेको देखिएको उल्लेख छ ।

लगत्तै प्रहरी प्रधान कार्यालयले तत्कालीन डिआइजी धिरु बस्न्यातको नेतृत्वमा छानबिन टोली गठन गरेको थियो । राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधि पनि उल्टाखाममा पुगे । आयोगले डिएनए परीक्षणको विधि नै सही नभएको निष्कर्ष निकालेको थियो । उसका नमुना सकंलन प्रक्रिया त्रुटिपूर्ण थियो ।

निर्मलाकी आमा दुर्गादेवी पन्तले दर्जनौँ छानबिन समिति आए पनि दोषी पहिचान नभएको भन्दै दु:ख पोखिन् । ‘कयौँ समिति आए, हामीलाई अनेकौँ कुरा सोधे, लेखे अनि गए,’ उनले भनिन्, ‘तर कसैले दोषी किटान गर्न सकेनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment