Comments Add Comment

पूर्वी चितवनमा तयार भयो १३२ केभी क्षमताको सबस्टेसन

११ साउन काठमाडौं । पूर्वी चितवन १३२/३३/११ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ । चितवनका रत्ननगर, खैरहनी, राप्ती र कालीका नगरपालिकाको विद्युत् आपूर्तिलाई गुणस्तरीय र विश्वसनीय बनाउन पूर्वी चितवन सबस्टेसन निर्माण गरिएको हो ।

निर्माण सम्पन्न भएपछि मकवानपुरको हेटौंडाबाट चितवनको भरतपुरतर्फ गएको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई पूर्वी चितवन सबस्टेसनभित्र छिराएर बाहिर निकाली सफलतापूर्वक चार्ज गरिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

हेटौडा-भरतपुर प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई त्यस क्षेत्रमा आपूर्ति गर्न पूर्वी चितवन सबस्टेसन निर्माण गरिएको हो ।

‘सबस्टेसन राखिएका १३२/३३ केभी, ३० एमभीएका दुईवटा पावर ट्रान्सर्फमरमध्ये एउटा नो लोडमा चार्ज गरिएको छ, अब त्यसलाई लोड दिएर चार्ज गरिने छ’,कार्यकारी निर्देशक घिसिङले भने ।

‘त्यहाँबाट स्थानीय उपभोक्तालाई विद्युत् आपूर्तिका लागि ३३/११ केभी, १६.६ एमभीए पावर ट्रान्सर्फमर आइतबार चार्ज गरिएको छ, सबस्टेसन स्वचालित प्रणालीको सञ्चालन र ११ केभी फिडरबाट एकहप्ताभित्र विद्युत् वितरण गर्ने लक्ष्यका साथ काम गरिरहेका छौं ।’

उनले सबस्टेसन संचालनमा आएपछि प्राविधिक चुहावट करिब ४/५ प्रतिशत घट्ने, ग्राहकले पनि गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् पाउने र प्रसारण क्षमताले नधानेर गर्मीमा बाध्यकारी लोडसेडिङ गर्नुपर्ने अवस्थाको पनि अन्त्य हुने बताए ।

अहिले भरतपुरमा रहेको १३२ केभी सबस्टेसनबाट करिब २१ किलोमिटर ३३ केभी लाइनमार्फत ३३/११ केभी चैनपुर सबस्टेसनमार्फत चितवनको पूर्वी क्षेत्रमा विद्युत् आपूर्ति भइरहेको छ ।

लामो लाइन र क्षमताले नधान्दा लाइन चुँडिने, टि्रपिङ हुने, लो भोल्टेज र विद्युत्को प्राविधिक चुहावटको समस्या थियो । पूर्वी चितवन सबस्टेसनबाटै विद्युत् आपूर्ति हुन थालेपछि भरतपुर सबस्टेसनको लोड पनि काम हुने छ ।

नेपाल सरकाको लगानीमा राप्ती नगरपालिका-६ हर्दीमा सबस्टेसनको निर्माण भएको हो । आयोजनाको अनुमानित लागत ५४ लाख अमेरिकी डलर छ ।

आयोजनाको आर्थिक वर्ष २०७२/०७३मा सुरु भएको थियो । गत चैतभित्रमा सञ्चालन गर्ने लक्ष्य राखिएको सबस्टेसनको निर्माण विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९का कारण प्रभावित हुँदा केही ढिला भएको हो ।

स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि हर्दीबाट पर्सा सबस्टेसनसम्म करिब १० किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइन र ११ केभी वितरण लाइन पनि निर्माण गरिएको छ ।

दमक र बर्दघाट सबस्टेसनको क्षमता बढाइयो

नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्तिलाई व्यवस्थित,भरपर्दो र प्रभावकारी बनाउन झापाको दमक र नवलपरासीको बर्दघाटस्थित सबस्टेसनहरुको क्षमता बढाएको छ ।

दमकको पाडाजुँगीस्थित सबस्टेसनमा १३२/३३ केभी, ६३ एमभीएको पावर ट्रान्सर्फमर थपी शनिबारबाट संचालनमा -चार्ज) ल्याइएको प्राधिकरणका प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक बज्रभूषण चौधरीले जानकारी दिए । त्यहाँ अहिले ३० एमभीएको ट्रान्सर्फमर थियो ।

अब नयाँ थप गरिएपछि ट्रान्सर्फमको क्षमता ९३ एमभीए पुगेको छ । अब दमक क्षेत्रको विद्युत आपूर्ति विश्वसनीय हुने चौधरीले बताए ।

यसैगरी, नवलपरासीको बर्दघाट सबस्टेसनको क्षमता बढाउन १३२/११ केभी, २२.५ एमभीएको पावर ट्रान्सर्फमर राखिएको छ । ७ एमभीएको ट्रान्सर्फमरलाई हटाएर २२.५ एमभीएको राखिएको हो । त्यहाँ २२.५ र ७ एमभीएका ट्रान्सर्फमर थिए ।

अब सस्टेसनमा रहेका ट्रान्सर्फमरको क्षमता ४५ एमभीए पुगेको छ । प्राधिकरणले विद्युतको पहुँच बढाउन गुणस्तरीय तथा विश्वसनिय विद्युत् आपूर्तिका लागि मुलुकभर नै नयाँ सबस्टेसनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छ ।

सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत आपूर्तिका लागि उच्च क्षमताका प्रसारणलाइन बनाउने नीति लिएको छ । यसका लागि प्राधिकरणले सबस्टेसनको क्षमता स्तरोन्नती तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सबस्टेसन बनाउने लगायतका काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment