१२ साउन काठमाडौं । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १३औं संस्करण यूएईमा गर्ने मनसायसहित यूएईको क्रिकेट बोर्डलाई पत्र पठाएको छ ।
इमिरेट्स क्रिकेट बोर्ड (ईसीबी)ले आईपीएल टि-२० आयोजनाका लागि बीसीसीआईले पत्र पठाएको सोमबार पुष्टि गरेको छ ।
ईसीबीका महासचिव मुबशशिर उश्मानीले बीसीसीआईबाट आईपीएल आयोजना गर्ने प्रस्ताव सम्बन्धी पत्र आएको बताउँदै अब भारतीय सरकारको निर्णय पर्खेर बसेको बताएका छन् ।
‘हामीले आधिकारिक पत्र प्राप्त गरिसकेका छौं र अब भारत सरकारको निर्णय पर्खाइनेमा छौँ । त्यसपछि अन्तिम सम्झौता हुनेछ,’ महासचिव उश्मानीले भने ।
कोरोनाभाइरस महामारीले गर्दा मार्चमा तय भएको आईपीएल स्थगित भएको थियो । पछिल्लो समय अष्ट्रेलामा हुने टि-२० विश्वकप एक वर्षपछि सरेको अवस्थामा बीसीसीआईले आईपीएल युएईमा गर्ने तयारी गरिरहेको छ ।
आईपीएलको यस संस्करण सेप्टेम्बर १९ देखि नोभेम्बर ८ सम्म हुने बताइएको छ । तर बीसीसीआईले यसबारे आधिकारिक निर्णय सार्वजनिक गरिसकेको छैन ।
युएईमा आईपीएल हुन लागेको यो दोस्रो पटक हो । यसअघि सन् २०१४ मासमेत पहिलो चरणको खेलहरु युएईमा भएका थिए ।
प्रतिक्रिया 4