Comments Add Comment

कपिलवस्तुमा थप ३४ जनामा कोरोना, कर्मचारी र शिक्षक पनि संक्रमित

१३ साउन, बुटवल । मंगलबार कपिलवस्तुको शिवराज नगरपालिकामा ३२ जना र कृष्णनगरका २ जना गरी ३४ जनामा कोरोना संक्रमण देखिँदा समुदायमा कोरोना फैलिएको आशंका गरिएको छ ।

पछिल्लो समय घरबाहिर ननिस्केका व्यक्तिमा पनि संक्रमण भएको पाइएपछि स्थानीयमा त्रास उत्पन्न भएको छ ।

मंगलबार कोरोना संक्रमण पुष्टि भएकामा १९ जना हालै विदेशबाट फर्किएका र १३ जना स्थानीय व्यक्ति हुन् । स्थानीय संक्रमितमा शिवराज नगरपालिका वडा नं १ का कर्मचारी, उनका परिवारका सदस्य, एक जना जनप्रतिनिधिका छोरा र दुई जना शिक्षक छन् ।

‘कोरोना पोजेटिभ देखिएकामध्ये केहीको ट्राभल हिस्ट्रीसमेत पाइएको छैन’ शिवराज नगरपालिकाको सुपा देउराली आइसोलेसनका इन्चार्ज जीतबहादुर बिसीले भने ।

शिक्षक र वडा कार्यालयका कर्मचारीमा कोरोना देखिएपछि समुदायमा कोरोना फैलिएको हुन सक्ने त्रास नगरवासीमा छाएको चन्द्रौटा बजारका व्यवसायी महादेव पोखरेलले बताए ।

विदेशबाट फर्किएका संक्रमितमध्ये ७ जना होम क्वारेन्टिनमा बसेका थिए भने १२ जना क्वारेन्टिनमा बसेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले जानकारी दिए ।

कृष्णनगर नगरपालिकामा देखिएका दुई जना संक्रमित भने स्थानीय विद्यार्थी भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

शिवराज नगरपालिकाको चन्द्रौटा बजार क्षेत्र, शिवपुर, लालपुर, खरेन्द्रपुर र कृष्णनगर नगरपालिकाको बहादुरगञ्जमा समुदायका कोरोना फैलिएको स्थानीयको आशंका छ ।

शिवराज नगरपालिकामा यसअघि नै ८ जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरु क्वारेन्टिनमा नगई समुदायमा घुमफिर गर्दै आएका स्थानीय वासिन्दा दावी गर्छन् ।

पछिल्लो समय शिवराज नगरपालिकाले कक्षा ४ देखि माथिल्लो कक्षाका लागि विद्यालयमा दैनिक ३ घण्टा वैकल्पिक कक्षा चलाएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख योगेन्द्र भगतले अहिले नै समुदायस्तरमा कोरोना फैलिएको मान्न नमिल्ने बताए । जिल्लामा हालसम्म संक्रमितको संख्या ७ सय ९६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment