Comments Add Comment

नेपाली कफी : विदेशमा माग उच्च, उत्पादन सुस्त

१४ साउन, काठमाडौं । आकासिदो आयातले व्यापार घाटा चुलिइरहँदा नेपाली कफीको बजार भने विश्वभर फैलिरहेको छ ।

कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय व्यापारमा कमी आए पनि आर्थिक वर्ष २०७६/०७७ मा नेपालले ४५ हजार ८१४ किलो तयारी र कच्चा कफी निर्यात गरेको छ ।

जापान, दक्षिण कोरिया, सिंगापुर, जर्मनी, स्वीट्जरल्याण्ड, नर्बे, अमेरिका, क्यानडालगायत एक दर्जनभन्दा बढी विकसित मुलुकमा नेपाली कफी निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ (हे. तालिका) ।

आव २०७६/०७७ मा नेपालले कफी निर्यात गरेको मुलुक र विवरण

देश    परिमाण (किलोमा)     मूल्य (हजारमा)
अष्ट्रेलिया २४६० २८३४
क्यानडा ६७७ ५४४
डेनमार्क २२०० ३०८५
फ्रान्स ६०० ६८१
जर्मनी १३००२ १५१०४
हङकङ २८० ६२
जापान ५५५२ ४३९१
द.कोरिया ४५२५ ४००३
नेदरल्याण्ड २५०० ३७५४
नर्बे १८ १३
सिंगापुर ५० ९०
स्वीट्जरल्याण्ड ९०५८ १४०३४
चाइना ताइवान ३९९ ४०९
संयुक्त अरब इमिरेट्स ३० १९
अमेरिका ४४१५ ७५९२
बेलायत ३२० ६०१

स्रोतः भन्सार विभाग

 प्रतिकिलो औसत मूल्य १० अमेरिकी डलर

नेपालमा वाषिर्क ५३० मेटि्रक टन कफीका दाना उत्पादन हुने राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । देशभर दुई हजार ७६१ हेक्टरमा ३३ हजार ९८४ कृषकले कफी खेती गरेका छन् ।

बोर्डका निर्देशक दीपक खनालका अनुसार, गत वर्ष मोटामोटी ५३० मेटि्रकटन ग्रीन कफी बीन उत्पादन भएको थियो । चालु आर्थिक वर्षको उत्पादन विवरण भने आउन बाँकी छ ।

‘कुल उत्पादनमध्ये वाषिर्क ८४ मेटि्रकटन मात्र निर्यात हुने गरेको छ’, खनाल भन्छन्, ‘नेपाली कफी प्रतिकिलो ८ देखि १५ डलर, औसत १० डलरमा निर्यात हुने गरेको छ ।’

उनका अनुसार, नेपालका सबै भूभागमा अराबिका जातको कफी हुन्छ । समुन्द्री सतहबाट ८०० देखि १५०० मिटरसम्मको उचाइमा फल्ने भएकाले नेपाली कफी विदेशीहरुले धेरै रुचाउँछन् ।

सगरमाथाको देशको कफी भनेरै नेपाली कफीको प्रचार हुने खनाल बताउँछन् । ‘नेपालको भौगोलिक सुन्दरताको कथासँगै कफी पनि बिक्छ’, उनी भन्छन्, ‘केही मात्रामा अर्गानिक प्रमाणित पनि भएका हुन्छन्, धेरै त नेपाली हावापानीकै कारण अर्गानिक हो भन्ने स्वीकारिन्छ ।’

ग्रेडिङमा नेपाली कफीले ८० प्रतिशत मापदण्ड पूरा गरेका कारण कतिपय कफी उच्च गुणस्तरको ठहरिएर निर्यात हुने गरेको खनालले बताए ।

कफीखेती प्रोत्साहन

नेपाली कफीको बजार राम्रो भएपनि व्यवसायीक खेती प्रणाली विकास भएको छैन । बोर्डका अनुसार, जिल्ला सहकारीहरुको संलग्नतामा थोरै जग्गामा कफी खेती हुने गरेको छ ।

व्यक्तिगत रुपमा लागिपरेका किसानहरुमा प्राविधिक र रोग किराबारे ज्ञान छैन । किसानको समस्या समाधान गर्न बोर्डले अनुदानसहितको चक्लाबन्दी खेतीको कार्यक्रम तर्जुमा गरेको बोर्डका निर्देशक खनाल बताउँछन् ।

‘किसानहरु कमजोर अवस्थामा छन्, उहाँहरुको सहयोगका लागि बोर्डले सहयोग गर्छ,’ खनालले भने ।

नेपाली कफीमा भारतीय आयातित कफी मिसाएर निर्यात गरेको भन्ने सूचना आएको भन्दै उनले स्वदेशी उत्पादनको बजार बिगि्रन नदिन अनुगमन गर्ने तयारी थालेको पनि जनाए ।

निर्यातभन्दा आयात धेरै

स्वदेशी उत्पादनको राम्रो गुणस्तर भएपनि नेपालमा आयातित कफीको उपभोग धेरै छ । आव ०७५/७६ मा नेपालले ८४.३० मेटि्रकटन कफी विदेश निर्यात गर्दा ९ करोड ८० लाख रुपैयाँ बराबरको १२ सय ६२ मेटि्रकटन कफी आयात गरेको थियो ।

पछिल्लो पाँच वर्षमा २४ करोड ८८ लाखभन्दा बढी मूल्यको रोष्ट नगरिएको २ लाख २० हजार २३५ किलो र ६८ लाख २८ हजार मूल्य बराबरको रोष्ट गरिएको ४६ सय ५७ किलो कफी निर्यात गरेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment