१२ कात्तिक, काठमाडौं । मुस्ताङ भ्रमणमा पुगेका आन्तरिक पर्यटकका लागि सशस्त्र प्रहरी बल, नेपालले स्वास्थ्य परीक्षण र औषधि वितरण सुरु गरेको छ ।
बुधबार बिहानदेखि त्यसक्षेत्रमा पर्यटकहरूको अक्सिजन लेभल र रक्तचाप परीक्षण गर्नुकासाथै आवश्यक औषधि वितरण गरिएको हो ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ३३ गुल्म मुस्ताङले बुधबार बिहान ९० महिला र ६० पुरुष गरी १ सय ५० जनाको अक्सिजन लेभल चेक गरेको थियो । यस्तै ६० महिला र ४० पुरुष गरी १ सय जनाको रक्तचाप परिक्षण गरिएको छ ।
त्यसक्षेत्रमा हिमपात भएको र चिसो एक्कासी बढेका कारण धैरै पर्यटकहरुमा टाउको दुख्ने, वाकवाकी लाग्ने तथा श्वासप्रश्वासमा समस्या देखिएको छ । उनीहरूको समस्या पहिचान गरी सामान्य प्राथमिक उपचार समेत गरिएको छ ।
यसैबीच मुक्तिनाथ मन्दिर जाने बाटो र मन्दिर परिषरको हिउँ पन्छाउनको लागि बुधबार बिहानैदेखि सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङबाट सुरक्षाकर्मी परिचालन गरिएको छ । बाटोमा जमेको हिउँ पन्छाएपछि मुक्तिनाथ दर्शनमा सहजता भएको छ ।
प्रतिक्रिया 4