Comments Add Comment

अमेरिकामा कोरोनाले कसरी ध्वस्त पार्दैछ बालबालिकाको जिन्दगी

काठमाडौं । जुन १२ को दिन शुक्रबार परेको थियो । भर्जिनियाकी क्याथरिन स्मार्टको ठूलो छोरा साउथ क्यारोलाइनामा साथीहरुसँग एउटा सानो भ्रमण सकेर घर फर्किएका थिए ।

परिवारका सदस्यहरुले उनीसँग लिभिङ रुममा केही समय बिताए । क्याथरिनले छोरासँग अंकमाल गरिन् र आफ्नो कोठामा गइन् । चार सदस्य रहेको यो परिवारलाई सोमबार छोरासँगै भ्रमणमा गएका एक जना कोरोना भाइरस (कोभिड–१९)का संक्रमित भएको थाहा भयो । क्याथरिनको छोराको पनि कोरोना भाइरसको परीक्षण गरियो ।

क्याथरिन

भोलिपल्ट क्याथरिनका सानो छोरालाई बान्ता आउन थाल्यो । जर्मन भाषा पढाउने शिक्षिका रहेकी क्याथरिन भन्छिन्, ‘ऊ उभिन सकिरहेको थिएन र उसलाई रिंगटा लागिरहेको थियो ।’

तर परीक्षणका क्रममा छोरा मात्र होइन, परिवारका सबै सदस्य कोरोना भाइरसबाट संक्रमित भएको थाहा भयो ।

त्यसपछिको ३० दिन निकै समस्यामा बिताएको र यो जिन्दगीको सबैभन्दा खराब महिना रहेको क्याथरिन बताउँछिन् । यसअघि क्याथरिन विद्यालयहरु पुनः खोलिनुपर्छ भन्ने पक्षमा थिइन् तर अहिले उनको सोच बदलिएको छ । भन्छिन्, ‘एक आमा र एक शिक्षिकाको रुपमा मैले स्कुल पुनः जाने विचारलाई एक डरको रुपमा देखेको थिएँ ।’

क्याथरिन भन्छिन्, ‘जे भयो, मैले त्यसलाई स्वीकार गरेँ । मैले यदि धेरै कोरोना संक्रमितमा देखिएजस्तै मेरो दिमाग वा मस्तिष्कको कोशिकामा कुनै नोक्सानी पुगेको रहेछ भने के होला ? भन्ने सोच्न थालेँ । मैले सोचेँ कि म पढाउन जाँदा मेरा बच्चाहरु आमा विना नै बस्नुपर्ने अवस्था आउनसक्छ र मेरा पतिले मेरो काम गर्नुपर्ने हुनसक्छ ।’

अमेरिकामा यो महामारीको कारण अहिलेसम्म एक लाख ४८ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । मुलकमा संक्रमितको संख्या पनि ४२ लाखभन्दा धेरै छ ।

विद्यालय खोल्ने विषयामा तीव्र बहस

अहिले दैनिक करिब ६० हजार नयाँ संक्रमित थपिइरहेको अवस्थामा अमेरिकामा पुनः विद्यालय खोल्ने कि नखोल्ने भन्ने बहस चलिरहेको छ । पूर्णरुपमा विद्यालय खोल्ने, आशिंक रुपमा सञ्चालन गर्ने वा सेप्टेम्बरमा नयाँ शैक्षिक सत्र शुरु हुँदा समग्र व्यवस्थालाई भर्चुअल एजुकेसनको (अनलाइनबाट हुने कक्षा)मा शिफ्ट गर्ने भन्ने बहस चलिरहेको छ ।

कोरोना महामारीमा प्रभावकारी भूमिका नखेलेको भनेर आलोचना खेपिरहेका राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्, ‘स्कुल खोल्नक गभर्नरहरु र अन्य मानिसलाई दबाब दिन गइरहेका छौं ।’

स्कुल खोल्नुपर्ने पक्षमा वकालत गरिरहेका मानिसहरुले भने बालबालिकाहरुलाई धेरै दिनसम्म घरमा राख्दा उनीहरुमा नराम्रो असर पर्नसक्ने बताउँछन् । टेक्सास राज्यमा बस्ने केसी टर्नमायरका भन्छिन्, ‘मेरा दुई छोराछोरी छन्, मलाई उनीहरु बिरामी पर्छन् कि भन्ने डर छैन ।

यदि कोरोना भाइरसको संक्रमण भइहालेको खण्डमा पनि त्यसको सामना गर्न तयार रहेको बताउँछिन् ।

तर उनीहरुले कोरोना भाइरसको संक्रमण घरमा ल्याए भने के हुन्छ ? केसी भन्छिन्, ‘मलाई थाहा छ कि यसको आशंका छ र म यो पनि मान्छु कि हरेक मानिसहरु कोरोना भाइरसविरुद्धको खोप नबन्दासम्म संक्रमित हुन गइरहेका छन् । यस्तोमा संक्रमण हुन्छ कि हुँदैन भन्ने प्रश्नभन्दा पनि संक्रमण कहिले हुन्छ ? भन्ने प्रश्न महत्वपूर्ण हो ।’

विद्यालय खोल्नुपर्ने पक्षमा रहेका मानिसहरु लामो समयसम्म अनलाइनमा बढाउँदा बालबालिकाको मानसिक र सामाजिक विकासमा असर पर्छ । साथै बन्द कोठामा बालबालिकाहरु शोषणमा पर्नसक्ने आशंका पनि गरिँदै आएको छ । धेरै पटक शिक्षकले नै बालबालिकालाई के भइरहेको छ भन्ने कुरा बुझेर त्यसैअनुसारको कारबाही गर्न सक्छन् ।

उनीहरुको अर्को तर्क बालबालिकालाई कोरोना भाइरसको संक्रमणको जोखिम पनि कम हुन्छ भन्ने छ । यद्यपि फ्लोरिडामा कोरोना संक्रमणको कारण एकै आमाका दुई बच्चाको मृत्यु र टेक्सासमा एक नवजात शिशुको मृत्युको समाचार आइरहेको छ ।

एमिली/रोबर्ट

नेवाडाकी एमिली ओयर्स कोरोना भाइरसको संक्रमणबाट नवजात शिशुको मृत्यु हुनु सामान्य कुरा नभएको बताउँछिन् । तर, अपवाद जहिले पनि हुन सक्ने उनको भनाइ छ ।

अमेरिकाको मिल्वाकीका मार्टी मेरिक आफ्ना बालबालिकाहरुलाई जिन्दगी खुलेर जिउने मौका दिनुपर्ने बताउँछन् । साथै बालबालिकालाई विद्यालय नपठाउँदा उनीहरुलाई हेर्न अभिभावक घरमा बस्नुपर्ने र यसले उनीहरुको आम्दानीमा कमी आउन सक्ने बताउँछन् ।

पढाइभन्दा पहिला जिन्दगी

स्कुल अहिले नै खोल्नु हुँदैन भन्ने पक्षका मानिसहरु पनि अनलाइनबाट दिइने शिक्षा विद्यालयमा दिइने शिक्षाको विकल्प नहुने बताउँछन् । तर, पढाइभन्दा पहिला जीन्दगी आउने पनि बताउँछन् ।

जेनिफर हार्टलाइन

टेक्सासकी जेनिफर हार्टलाइन पेशाले शिक्षिका हुन् र उनलाई पनि यो चिन्ताले सताउने गरेको छ । उनी साना बालबालिकाहरुका लागि यो महामारीको सामना गर्नु निकै कठिन हुने बताउँछिन् । यस्तोमा अवस्थामा शिक्षकले पनि संक्रमण वा नोकरीमा एउटा छान्नुपर्ने बताउँछिन् । अहिलेसम्म कुनै मापदण्ड तय गरिएको छैन, केवल विद्यालय खोल्ने तयारी गरिएको छ । यसले समस्या उत्पन्न हुन सक्ने उनको भनाइ छ ।

लाखौं शिक्षक र विद्यार्थी प्रभावित

अहिले चलिरहेको बहसको असर अमेरिकाका करिब ३७ लाख शिक्षक र पाँच करोड ६० लाख स्कुले बालबालिका तथा लाखौँ विद्यालयका कर्मचारीहरुमा पर्नेछ । स्कुल खोल्ने र नखोल्ने दुवै पक्षका समर्थकहरुले आफ्नो कुरा राख्नका लागि विरोध प्रदर्शन गरेका छन् ।

एक अनुमानका अनुसार सरकारी र निजी विद्यालयका १० लाखभन्दा धेरै शिक्षक कोरोनाको सबैभन्दा धेरै जोखिम रहेको उमेर समूहमा पर्छन् । अमेरिकामा पुनः पढाइ शुरु हुन सक्ने भएसँगै विद्यालयहरु पनि अहिले विभिन्न विकल्पको बारेमा छलफल गरिरहेका छन् । विकल्पहरुमा अनलाइन कक्षा सञ्चालन, बिहान र दिउँसो गरी पढाउने, एक दिन छाडेर पढाउनेलगायतका उपायहरु छन् । अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने बालबालिकाको अस्पतालमा भर्ना हुनेको संख्या पनि निकै कम छ ।

तर कुनै बालबालिका निकै बिरामी हुने र उनीहरुले अरुलाई पनि सार्ने सम्भावना भने अझै कायम रहन्छ ।

विद्यालय तयार छन् ?

यस विषयमा पनि अहिले बहस चलिरहेको छ । विस्कन्सीन लुथेरान हाइस्कुलका प्रिन्सिपल फिल रेयरर हालै गरिएको एक सर्वेक्षणमा ७० प्रतिशत अभिभावक आफ्ना बालबालिकालाई पुनः विद्यालयमा ल्याउनुपर्छ भन्ने पक्षमा रहेको बताउँछन् । उनकाअनुसार उनीहरु विद्यालयले गरेको कोरोना संक्रमणको योजना तथा तयारीमा आश्वस्त थिए ।

मिल्वोकी विद्यालयका प्रिन्सिपल पनि विद्यालय खोल्नु पर्ने तर्क राख्छन् । तर सोही विद्यालयकी एक शिक्षिका भने विद्यालय सञ्चालनका लागि शिक्षकहरुका लागि पनि सुरक्षाको प्रत्याभूति हुने सामग्री उपलब्ध गराइनुपर्ने बताउँछिन् । अहिले विद्यालयमा हावा आसपास गर्ने झ्याल पनि नभएको अवस्थामा हावा सफा गर्ने मेसिन, मास्क, स्यानिटाइजरलगायतका सामग्रीहरु उपलब्ध गराइनुपर्ने उनको भनाइ छ ।

प्रश्न यति मात्र होइन, कुनै विद्यार्थी कोरोना संक्रमित भयो भने के हुन्छ ? विद्यार्थी र काम गर्ने कर्मचारीको कोरोना परीक्षण दिनहुँ गरिन्छ ? कसैलाई केही भइहाले जिम्मेवारी कसको ? भन्ने पनि छ ।

कसरी कक्षाकोठामा भौतिक दुरी पालना गरिन्छ ?

अहिले अमेरिकामा सबैभन्दा ठूलो चुनौतीको रुपमा यसलाई दिइएको छ । धेरै शिक्षकहरु एक दिनमा सयौं विद्यार्थीको सम्पर्कमा आउँछन् । यस्तो अवस्थामा उनीहरुलाई संक्रमणबाट कसरी बचाउने भन्ने चिन्ता पनि रहेको जानकारहरु बताउँछन् ।

अमेरिकामा राष्ट्रपतीय निर्वाचन आउन तीन महिना बाँकी छ । यस्तोमा कोरोना भाइरसको महामारीको विषय राजनीतीकरण भएको छ । यद्यपि बालबालिकाहरुलाई विद्यालय नपठाए अर्थतन्त्रमा सुधार गर्नु निकै कठिन रहेको अर्थशास्त्रीहरुको भनाइ छ । यद्यपि अमेरिकाको संक्रमणको अवस्था हर्दा विद्यालय खोल्न ट्रम्पले निकै चुनौती सामना गर्नुपर्ने हुन्छ ।

यसैबीच एम महिनाभन्दा लामो समय बितिसकेको छ र क्याथरिन स्मार्टको परिवार पनि निको हुने क्रममा छ । उनी भन्छिन्, ‘यदि हाम्रा छोराछोरीहरु साना हुन्थे र हामी ग्रामीण भेगमा हुन्थ्यौँ भने हामी कसरी बच्थ्यौँ होला, मलाई पनि थाहा छैन ।’

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment