Comments Add Comment

वितरकमाथि निर्माताको बदमासीः फिल्म फ्लप भएपछि भागाभाग

केही दिन अगाडि निर्माता रोहित अधिकारीले चलचित्र ‘छ माया छपक्कै’का वितरकले आफूलाई शेयर नदिएको गुनासो गरे । काठमाण्डौ बाहिर चलचित्र वितरण गरेको एफडी कम्पनीले मात्र डेढ करोड रकम दिन बाँकी रहेको रोहितको भनाई थियो । वितरण कम्पनी एफडीले समयमै रकम भुक्तानी गर्न नसकेको भन्दै रोहितसँग अनलाइनखबरमार्फत माफी पनि माग्यो ।

निर्माताले वितरकबाट शेयर रकम उठाउन लामो समय लागेको उदाहरण त चलचित्र क्षेत्रमा प्रशस्त छन् । तर, वितरकले निर्माताबाट करोडौ रकम उठाउन बाँकी छ । निर्माताले वितरकको रकम नतिरिदिदा निर्माताहरुले हिसाब मिलाउन सकेका छैनन् ।

निर्मातालाई मुद्दा हाल्ने तयारीमा एफडी

काठमाण्डौ बाहिर चलचित्र वितरण गरिरहेको एफडी कम्पनीले निर्माताहरुमाथि मुद्दा दर्ता गर्ने प्रक्रिया अगाडि बढाएको छ । यसका लागि, कम्पनीले वकिलसँग छलफल गरिसकेको छ ।

एफडीका एमडी सुशिल पोख्रेलले अनलाइनखबरसँग भने–‘हो, हामीले मुद्दा हाल्ने तयारी गरेका छौ । बजारबाट हामीले ७० लाख हारहारीको रकम उठाउन बाँकी छ । तर, कैयौ निर्माता सम्पर्कमा आएका छैनन् भने कतिपयले बाउन्स चेक दिएका छन् । अब, सबैलाई एकमुष्ट मुद्दा हाल्ने तयारी गरेका छौं ।’

निर्माताले कुनै वितरकलाई वितरणको जिम्मा दिएपछि उसँग एडभान्स रकम लिन्छ । सो एडभान्स रकम वितरकले चलचित्रको व्यापार भएपछि काट्ने गरेका छन् । तर, चलचित्र असफल भयो भने वितरकको एड्भान्स रकम पनि उठ्न सक्दैन । यसपछि, निर्माता वितरकको सम्पर्कमा आउँदैनन् र वितरकलाई समस्या पर्न जान्छ ।

सुशिल भन्छन्–‘नेपालका नाम चलेका निर्मातादेखि एउटा चलचित्र बनाएर चलचित्र क्षेत्रमा नफर्किएका निर्मातासँग हामीले पैसा लिनुछ । बारम्बार ताकेता गर्दा पनि पैसा नउठेपछि मुद्दा दर्ता गर्ने तयारीमा लागेका हौं ।’

सुशिलले आफूहरुले बजारबाट उठाउन बाँकी रकम मात्र उठाउन सकेको भए कम्पनी नै अर्को तहमा जाने बताए ।

गोपालको डेढ करोड उठाउन बाँकी

काठमाण्डौमा चलचित्र वितरणको जिम्मा लिदै आएका वितरक गोपालकाजी कायस्थले आफ्नो डेढ करोड पछिल्लो २ बर्षमा फसेको बताए । भने–‘मेरो करिब डेढ करोड रकम पछिल्लो २ बर्षमा फसेको छ । निर्माताहरु सम्पर्कमा नै आउँदैनन् । चलचित्र संघ, निर्माता संघमा बारम्बार उजुरी दिएपनि निर्माताले वेवास्ता गर्दा रकम उठ्न सकेको छैन ।’

कायस्थले नामै तोकेर भने–‘जय शम्भु चलचित्रका निर्माताबाट १९ लाख उठाउन बाँकी छ । चलचित्र ‘विरंगना’का निर्माताबाट ९ लाख, सुश्री सम्पत्तीका निर्माताबाट १२ लाख उठाउनुछ । सुश्री सम्पत्तीका निर्माता त चलचित्रको व्यापारिक हिसाबकिताब गर्न पनि आएका छैनन् । यस्तै, चलचित्र ‘अनुराग’का निर्माताबाट साढे ४ लाख लिनुछ ।’

निर्मातालाई वितरकले दिएको एड्भान्स रकम चलचित्र असफल भएपछि निर्माताले तिर्न सक्दैनन् र सम्पर्क बाहिर रहन्छन् । धेरै निर्माताले दोश्रो चलचित्र बनाउँदा वितरकले रकम मिलाउने गरेका छन् । तर, दोश्रो चलचित्र बनाउन तयार नहुने निर्माताबाट वितरकलाई रकम उठाउन समस्या पर्छ ।

कायस्थ भन्छन्–‘चलचित्र रिलिज भएपछि हामीलाई नै दोष दिएर गाली गर्छन् । चलचित्र रिलिज राम्रोसँग नगरेर डुबाइदिएको भन्दै आरोप लगाउँछन् । तर, हाम्रो गुनासो कसले सुनिदिने ?’

वितरक कायस्थले पनि आफूले मुद्दा दर्ता गर्ने प्रक्रिया अगाडि बढाएको बताए । एफडी कम्पनी र गोपालकाजी कायस्थ मात्र होइनन्, अन्य थुप्रै वितरकले पनि निर्माताबाट रकम उठाउन सकेका छैनन् । जसलेगर्दा, कतिपय वितरक मुद्दा दर्ता गर्ने प्रक्रियामा लागेका छन् भने कतिपय वितरक निर्माताले अर्को चलचित्र बनाउँदा हिसाब मिलाउने आशमा बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment