Comments Add Comment

पोखरियाका स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता

१४ साउन, वीरगञ्ज । गत जेठ ३२ गते पर्साको पोखरियामा ५ जना स्वास्थ्यकर्मी र एक जना एम्बुलेन्स चालकमा कोरोना संक्रमण देखियो । उनीहरु वीरगञ्जस्थित अस्थायी कोरोना अस्पताल गण्डकको आइसोलेसनमा बसेर संक्रमणमुक्त भई पुनः काममा फर्किएका छन् ।

तर उनीहरुमा काम गर्ने जोस पहिलेको जस्तो छैन । किनभने कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि खटिने स्वास्थ्यकर्मीलाई सरकारले दिने भनेको शत प्रतिशतसम्म प्रोत्साहन भत्ता उनीहरुले पाएका छैनन् ।

‘काम गर्ने क्रममा संक्रमित भइयो । आइसोलेसन र होम क्वारेन्टिन बसेर फर्किसक्यौं । तर पनि राज्यले कामको मूल्यांकन गरेन’ उनीहरुको भनाइ छ ।

पोखरिया–८ वैरियाविर्तामा कार्यरत ३२ बर्षीया अनमी कञ्चनकुमारी काम गरेवापत दिने भनिएको सुविधा नपाएको बताउँछिन् । ‘क्वारेन्टिनमा खट्दा जोखिम भत्ता दिने कुरा थियो, ४ महिना भइसक्यो । कहिले दिने ? कसले दिने ? दिने नदिने केहि अत्तोपत्तो छैन ।’

पोखरियामा स्वास्थ्य शाखा, ५ वटा स्वास्थ्य चौकी र एउटा आधारभूत स्वास्थ्य केन्द्र छ । जसमा ३० जना जति स्वास्थ्यकर्मी कार्यरत छन् । झण्डै २० जना जति स्वास्थ्यकर्मी सम्भावित कोरोना संक्रमित राखिएको क्वारेन्टिनस्थलमा खटिएका थिए ।

कतिपय स्वास्थ्यकर्मीले जोखिमभत्ता नपाएकोले अब क्वारेन्टिन र आइसोलेसनमा नखटिने चेतावनीसमेत दिएका छन् । स्वास्थ्य शाखा प्रमुख कौशलेन्द्र मिश्र जोखिम भत्ता नपाएकोले स्वास्थ्यकर्मीहरु निराश देखिएको बताउँछन् ।

‘काम गर्ने क्रममा ५ जनामा कोरोना संक्रमण भयो, अझैसम्म जोखिम भत्ता पाएको छैन भनेर स्वास्थ्यकर्मी काममा खटिन आनाकानी गरिरहेका छन्’ मिश्र भन्छन् ‘अन्यत्र दिएको छ हामीलाई किन नदिएको भनेर सोध्न आउँछन् ।’

पोखरियाको उपमेयर सलमा खातुनले बुधबार स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन किन समन्वय नगरेको भन्दै नगर प्रमुखको ध्यानाकर्षण गराएकी छन् । योजना तर्जुमा एवं कार्यालय व्यवस्थापनबारे उनले बुझाएको ६ बुँदे ध्यानाकर्षण पत्रमा जोखिम भत्ताको विषय पनि उल्लेख छ ।

उपमेयर खातुनले संघीय सरकारको निर्देशन बमोजिम स्वास्थ्यकर्मीको जोखिम भत्ता व्यवस्थापनमा नगरपालिका किन उदासीन देखिएको ? भन्दै प्रश्न गरेकी छन् ।

‘संघ सरकारले विवरण पठाएपछि प्रोत्साहन भत्ता पठाइदिने भनेर परिपत्र गरेको सुनेको छु । तर नगर प्रमुख र प्रशासकीय अधिकृतले त्यसका लागि समन्वय गरिरहनुभएको छैन’ उनले भनिन् ‘जिल्लामा समुदाय स्तरमा कोभिड संक्रमण देखिएको छ । पोखरिया क्षेत्रमा पनि भोलि देखियो र स्वास्थ्यकर्मीले काम गर्न मानेनन भने के गर्ने ?’

कोरोना राहत कोषमा नगरपालिकाले छुट्ट्याएको ६० लाख रुपैयाँ, प्रदेश सरकारले आइसोलेसनका लागि दिएको ३७ लाख, एम्बुलेन्स र सब बाहन खरिदका लागि दिएको ३१ लाख २५ हजार रुपैयाँ कहाँ कसरी खर्च भएको वा नभएको कुनै जानकारी आफूलाई नभएको उनी बताउँछिन् ।

नगर प्रमुख दीपनारायण रौनियारले संघ सरकारलाई विवरण पठाएर जोखिम भत्ता माग गरिएको तर आइनसकेको बताए ।

उनले संघ सरकारले वित्तीय समानीकरण अनुदानवापत आर्थिक वर्ष ०७५÷७६ मा ६ करोड पठाउने भनेपनि नपठाएको, ०७६÷०७७ मा राजश्व बाँडफाटमा दिने भनेको ७ करोड ४७ लाख मा ४ करोड ९ लाख रुपैयाँ मात्र पाएकाले रकम अभावमा योजना अधँुरो रहेका बताए ।

प्रदेश सरकारले आइसोलेसनलगायत कामका लागि ३७ लाख रुपैयाँ सिधै पोखरिया अस्पतालमा पठाएको र शव बाहन र एम्बुलेन्सका लागि खरिद प्रक्रिया शुरु गरिसकिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment