Comments Add Comment

किन बढ्यो तरकारीको भाऊ ? कोही भन्छन् भारतबाट आएन, कोही भन्छन्– भारतबाट ल्याउँदा महंगियो !

१५ साउन, काठमाडौं । पछिल्लो डेढ महिनामा तरकारीकोे मूल्य अत्यधिक बढेको छ । आलु, गोलभेडा, काउली, भण्टादेखि धनियाँ लगायतको मूल्य ६ सय प्रतिसतसम्म बृद्धि भएको छ । थोकमै बढेपछि खुद्रा मूल्य झनै आकासिएको छ । प्रभावकारी सरकारी अनुगमन नहुँदा हरेक छाक तरकारीको खरिदमा उपभोक्ता ठगिन बाध्य छन् ।

कालीमाटी तरकारी बजारले तोक्ने थोक मूल्य र उपभोक्ताले खरिद गर्ने हरेक तरकारीको मूल्यमा धेरै अन्तर रहेको कालीमाटी तरकारी बजार विकास समितिको स्वीकारोक्ति छ ।

तर, बजार अनुगमन गर्ने सरकारी निकाय वाणिज्य विभागले भने तरकारीको बढेको मूल्यबारे सूचना लिएको जनाएको छ । ‘बढेको मूल्य हामीले नोटिसमा राखेको छौँ, अनुगमन गर्छौ,’ विभागका अनुगमन शाखा प्रमुख सागर मिश्रले भने ।

उपत्यकाका विभिन्न स्थानबाट तरकारीको मूल्य संकलन गर्ने काम भइरहेको मिश्रको भनाइ छ । तरकारीमा बजार अनुगमन गरेर चलखेल भएको पाइए कारबाही गरेरै छाड्ने विभागको भनाइ छ ।

उपभोक्ता संरक्षण ऐनले बजार अनुगमनको जिम्मेवारी स्थानीय तह र संघलाई पनि दिएको भए पनि कुनै पनि स्थानीय तहले हालसम्म बजार अनुगमन गरेका छैनन ।

कुन तरकारीको मूल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार बिकास असार १ देखि साउन १४ गतेसम्म ४१ प्रकारका तरकारीको थोक तथा खुद्रा मूल्य तोकेको छ । यस अवधिमा जम्मा चार प्रकारका तरकारी बाहेकमा मूल्य बढेको छ । भान्सामा अति आवश्यक आलुको मूल्य थोकमै ७० देखि १०९ प्रतिशतसम्म मूल्य बढेको छ ।

असार एक गते ३३ रुपैयाँ किलोमा थोक बिक्री भएको रातो आलुको भाउ साउन १४ मा प्रतिकिलो ६९ रुपैयाँ पुगेको छ । यस्तै मुडेको आलु सोही सामयमा ३४ रुपैयाँ किलोमा पाइने मुडेको आलु प्रतिकिलो ५८ रुपैयाँसम्म पुगेको छ ।

डेढ महिना अवधिमा हरियो धनियाँको मूल्य सबै भन्दा धेरै ६८४ प्रतिशतले बढेको छ । असार एकमा प्रतिकिलो ६५ रुपैयाँ रहेको हरियो धनीयाको भाउ साउन १४ मा पाँच सय १० रुपैयाँ पुगेको छ । यस्तै अकबरे खुर्सानी, भारतीय प्याज, गाँजर, बन्दा, काउली, मुलालगायतको मूल्य थोक बजारमै निकै बढेको छ । अनुगमन र नियमन नभएका कारण खुद्रामा तरकारीको मूल्य पसलै पिच्छे फरक–फरक छ ।

अधिकांश तरकारीको मूल्य बढे पनि यस अवधिमा कुरिलो, न्यूरो, चुकुन्दर, पुदिना, तामा, इमली, तोफु, गुन्द्रुकलगायतको तरकारीको मूल्य भने थोक बजारमा स्थिर छ । असार १ मा २५५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको कुरिलोको भाउ साउन दोस्रो सातासम्म पनि उस्तै छ । यस अवधिमा निगुरो प्रतिकिलो १०५ रुपैयाँ, चुकुन्दर ५५, इमली १३५ र तामा ११५ रुपैयाँ मूल्य रहेकोमा खुद्रामा पनि खासै भाऊ नबढेको कालीमाटी तरकारी बजार विकास समितिले जनाएको छ ।

बर्खायाममा धेरै उत्पादन भएका तथा मौज्दातमा रहेका केही तरकारीको मूल्य घटेको बजार विकास समितिले जनाएको छ । कागती, अदुवा, कन्य च्याउ तथा कुरिलोको मूल्य पनि यसबीचमा घटेको छ । असार १ गते १२५ रुपैयाँ प्रतिकिलो थोक बिक्रीमूल्य रहेको कागतीको मूल्य घटेर प्रतिकिलो ९५ रुपैयाँमा झरेको छ । १२५ रुपैयाँ प्रतिकिलो मूल्य रहेको अदुवाको भाऊ प्रतिकिलो मूल्य ६६.४० प्रतिशतले गिरावट भएर ४२ रुपैयाँमा आइपुगेको छ ।

मूल्य बढ्नुको कारण के हो ?

वर्षातको मौसममा माग र उत्पादनको असमानताले सधैं तरकारीको मूल्य बढ्ने गरेको कालीमाटी तरकारी तथा फलफूल विकास समितिका प्रवक्ता विनय श्रेष्ठको तर्क छ । स्थानीय उत्पादनको बोडी, लौका, घिरौँला, काउलीलगायतको मौसम सकिएकाले मूल्य बढेको श्रेष्ठले बताए ।

बाढी र बर्षातका कारण भारतबाट तरकारी आउने तरकारीमा पनि अवरोध भएको उनले बताए । होलसेलमै तरकारीको मूल्य बढ्दा खुद्रा बिक्रेताले पनि अस्वाभाविक मूल्य बढाएको हुनसक्ने र यसको मारमा उपभोक्ता परेको उनको भनाइ छ ।

कोरोनाका कारण कृषक डराउँदा घटेको उत्पादनको असर बजारमा देखिएको व्यवसायी बताउँछन् । बर्षायाममा पालुङ, मुडे, जिरीलगायतका उच्च पहाडबाट बजारमा तरकारी झर्ने विगतको अभ्यास भए पनि यस वर्ष सो ठाउँबाट कृषकले तरकारी पठाउन नसकेको संस्थाका अध्यक्ष गीता आचार्य बताउँछन् ।

‘उच्च पहाडी भूभागबाट बन्दा, काउली मूला, धनियाँ र बन्दाकोभी र भेडे खुर्सानी बजार आउथ्यो अहिले उत्पादन नै छैन, बेंसीमा घिरौला र चिचिन्डो र लौका फल्ने सिजन हो । तर, किसानले डराएर खेती नगर्दा भारतबाट लौका मगाउनुपरेको छ,’ आचार्यले भने ।

नेपालमा आलुको अभाव भएकाले भारतबाट ल्याउनुपरेकाले महंगो भएको र त्यो पनि पाइन छाडेपछि भुटानबाट आलु मगाउनुपर्ने अवस्था आएको उनले बताए ।

भारतबाट तरकारी मगाउँदा महंगो परेको आचार्यले बताइरहँदा कतिपय व्यवसायी चाहिँ भारतबाट तरकारीको आयात ठप्प भएकाले तरकारीको भाऊ बढेको तर्क गर्छन् ।

कालीमाटीमा लामो समयदेखि आलु–प्याजको व्यवसाय गर्ने दधिराम उप्रेतीले भने, ‘स्वदेशी उत्पादन छैन, भारतबाट तरकारी आयात ठप्पजस्तै छ, खुल्ला बजारमा माग र आपूर्ति सन्तुलन नमिलेपछि मूल्य बढ्छ नै ।’

भारतबाट आलु नआउनु र नेपाली कृषकले पनि आलुको मूल्य उच्च राख्नुले स्वभाविक रुपमा मूल्य बढेको उनको भनाइ छ । उनले भने, ‘कुनैबेला बजारमा प्याजको मूल्य झण्डै पाँच सय पुगेको थियो । तर, अहिले होटल रेष्टुरेन्ट नचल्दा २८ रुपैयाँमा बिक्री गरेको छु, अन्य तरकारी पनि त्यस्तै भएका छन् ।’

काउली, आलु, धनियाँ जस्ता तरकारी अहिले नफल्ने भएकाले मूल्य स्वभाविकरुपमा बढेको र गोलभेडामा भने बाढीको असरले उत्पादन बिग्रिँदा मूल्य बढेको व्यवसायीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment