Comments Add Comment

अनलाइनखबरकर्मीमाथि ‘इनफ इज इनफ’ का कार्यकर्ताको दुर्व्यवहार, महासंघद्वारा भर्त्सना

१५ साउन, काठमाडौं । समाचार संकलनको क्रममा रहेका अनलाइनखबरकर्मीमाथि ‘इनफ इज इनफ’का कार्यकर्ताले दुर्व्यवहार गरेको विषयमा नेपाल पत्रकार महासंघले निन्दा गरेको छ । अनलाइनखबरका पत्रकार विश्वास खड्काथोकीलाई मंगलबार दुर्व्यवहार गरेका थिए ।

विभिन्न माग राखेर बसन्तपुरमा अनशन बसिरहेका अभियन्ताहरुको विषयमा समाचार संकलनका लागि पुगेका खड्काथोकीमाथि दुर्व्यवहार भएको थियो । महासंघका महासचिव रमेश विष्टले एक विज्ञप्ति जारी गरी घटनाको निन्दा गरेका छन् ।

‘स्वतन्त्ररुपमा पेशागत धर्म निर्वाह गर्ने पत्रकारमाथि कुनै पनि पक्षबाट दुर्व्यवहार हुनु निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो,’ विज्ञप्तिमा भनिएको छ । प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न, पत्रकारलाई निर्वाध र स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाउन, तथा यस्ता घटना नदोहोर्‍याउन महासंघले आग्रह गरेको छ ।

पत्रकार खड्काथोकीका अनुसार अभियन्ताहरुसँग अनुमति लिएर उनले अनसनरत समायरासँग उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेका थिए । कुराकानीकै दौरान ‘इनफ नफ इज इनफ’ को प्लेकार्ड छातिमा टाँसेका एक व्यक्तिले खड्कालाई कुममा समातेर ताने । खड्काले अनुमति लिएरै कुराकानी गरेको बताउँदा पनि उनको आक्रोश साम्य भएन । उनले ‘तिमी कहाँबाट हो, निस्किहाल’ भन्दै ज्याकेटमा समातेर बाहिर निकाले । यसरी दुर्व्यवहार हुँदा अनशनकर्ता समायरा मौन रहिन् ।

आफूलाई सचेत र सभ्य मान्ने युवाहरुबाटै भएको यस्तो व्यवहारले आफू मर्माहत भएको खड्काथोकीले बताएका छन् ।

‘इनफ इज इनफ’ ले पनि समाचार संकलनका लागि आएका पत्रकारमाथि आफ्ना अभियन्ताबाट दुर्व्यवहार भएको स्वीकारेको छ । अभियानले जारी गरेको विज्ञप्तिमा उक्त घटनाप्रति क्षमायाचना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment