Comments Add Comment

ठूला होटलमा अब यसरी हुनेछ पाहुनाको सत्कार !

सञ्चालक भन्छन्ः व्यापार होइन, पूर्वाभ्यास मात्र

१५ साउन, काठमाडौं । होटेलको गेटबाट भित्र छिर्नासाथ सुरक्षा गार्डले रोके । अलि पर बसेर उनले भने, ‘कृपया जुत्ता स्यानिटाइज गर्नुस है !’

जुत्ता स्यानिटाइज गर्नका लागि केमिकलमा डुबाइएको एउटा म्याटमा टेक्नुपर्ने रहेछ । त्यसपछि जुत्ता पुछ्नलाई अर्को सुख्खा म्याट । दुवै म्याटबाट अगाडी बढेपछि अटोमेटिक मेसिनले ज्वरो नाप्ने प्रबन्ध थियो ।

ज्वरो नापिएपछि त्यहाँ भाइजर, पीपीई, मास्क तथा अन्य सुरक्षा सामग्री लगाएर बसेका कर्मचारीले व्यक्तिगत विवरण लिए । नजिकै राखिएको अटोमेटिक मेसिनमा हात थाप्दा हृयान्ड स्यानिटाइजर चुहियो । यी सबै प्रक्रिया पूरा भएपछि बल्ल होटेलको लबीसम्म जाने अनुमति प्राप्त भयो ।

चार महिनादेखि बन्द रहेका होटलहरु आजबाट खुल्ला भएका छन् । त्यसमध्ये लाजिम्पाटस्थित सांग्रिला होटेलमा अवलोकनका लागि अनलाइनखबरको टिम पुगेको थियो । पाँचतारे स्तरको यो होटेलले पर्यटन बोर्डबाट बनाइएको कोरोना विरुद्धको सुरक्षा सतर्कतासम्बन्धि निर्देशनहरुको पालना गर्दै सेवा सञ्चालन थालेको छ । आगामी दिनमा सबै होटेलले यसै प्रोटोकल पालना गर्दै सेवा थाल्नेछन् ।

सांग्रिलामा माथिका प्रक्रियापछि बल्ल चेक-इन गर्न सकिन्छ । त्यसक्रममा पनि कर्मचारी र ग्राहकको मुखा-मुख हुँदैन । चेकइन गर्ने काउन्टरमा सिसाको बार लगाइएको छ । तर, आवाज भने सुनिन्छ । यसरी चेकइन गरिसकेपछि होटेलको कोठासम्म जान सकिन्छ । कोठामा जाने क्रममा लिफ्ट प्रयोग गर्दा एक पटकमा एक जना मात्र बस्न पाइन्छ ।

तर, एउटै परिवार वा समूहमा आएको पाहुनाहरुका लागि भने यो लागु हुने छ्रैन । लिफ्ट सेन्सरमा आधारित छैन । सोहीकारण औलाले छुनुपर्छ ।

तर, हरेक पटक पाहुनाले लिफ्ट प्रयोग गरीसकेपछि पाहुनाले छुने स्थानलाई तत्काल किटाणुरहित बनाइने छ । कर्मचारीले किटनासक स्प्रे छर्किएर ती वस्तुको सफाइ गर्नेछन् ।होटेलको कोठा हरेक पाहुना चेकआउट भइसकेपछि कम्तीमा ४८ घण्टा खाली राखिनेछ । यसको मतलब शतप्रतिशत अक्कुपेन्सीमा होटेल भरिने अवस्था आएमा समेत तत्कालका लागि ५० प्रतिशतभन्दा बढी कोठा प्रयोग हुने छैनन् ।

कोठाबाट पाहुना निस्किएपछि त्यहाँ प्रयोग भएका तन्ना, विभिन्न भाडा, टावलसहित सबै वस्तुहरुलाई सफा गरी २४ घण्टासम्म पुनः प्रयोग नगर्ने गरी छुट्टै राखिनेछ ।

रेष्टुरेन्टमा सामाजिक दूरी

होटेलहरुले सामान्यतया बेड एण्ड ब्रेक फास्ट मोडलमा सेवा दिन्छन् । सोहीकारण होटेल संचालनमा आएपछि रेष्टुरेन्ट स्वतः सञ्चालनमा आउँछन् । सांग्रीलाले रेष्टुरेन्टमा कम्तिमा एक मिटरको सामाजिक दूरी कायम गरेको छ ।

एउटै समूह वा परिवारमा आएको व्यक्तिबाहेक छुट्टाछुट्टै समुहलाई एकै स्थानमा बस्न नपाउने गरी रेष्टुरेन्टको सीट डिजाइन गरिएको छ । एउटा सीटमा बसेको ग्राहक उठेर गएपछि त्यो टेवल र कुर्सिलाई कर्मचारीले स्प्रे गरी कुटाणुरहित बनाउनेछन् ।

एक दिनमा एकपटक ग्राहकले प्रयोग गरेको प्लेट तथा कपलाई सोही दिन प्रयोगमा नल्याउने गरी व्यवस्था मिलाईएको सांग्रीला होटेलका प्रवन्ध निर्देशक प्रविण पाण्डेले जानकारी दिए ।

‘उदाहरणका लागि कुनै पाहुनाले कफि पिएको कप त्यो दिन हामी अर्को पाहुनाका लागि प्रयोग गर्ने छैनौं,’ उनले भने, ‘भाँडाहरु मेसिनमा सफा गरी कम्तिमा १२ घण्टा प्रयोग नगरी राख्नेछौं ।’

रेष्टुराँमा अहिले सिमित मेनु मात्र रहनेछ । सकेसम्म तयारी परिकारलाई प्राथमिकता दिइनेछ । खाना कर्मचारीले नै टेवलसम्म पुर्‍याइ दिनेछन् । बुफे स्टाइलमा खाना वितरण गर्ने काम अहिले बन्द हुनेछ ।नमस्ते अभिवादन
होटेलमा कर्मचारी तथा अन्य पाहुनाबीच अब ‘नमस्ते’ आदानप्रदान हुनेछ । सकेसम्म कर्मचारी र पाहुनाबीच एक मिटरको दूरी अनिवार्य कायम गर्नुपर्नेछ । दूरी कायम गर्न होटेलको लबीमा नै मार्किङ गरिएको छ ।

सरकारले पहिलो चरणमा कतिसम्मको समुहलाई स्वागत गर्ने भन्नेबारे निर्णय गरिसकेको छैन । तर, सकेसम्म फरक फरक समूहमा आएका पाहुनालाई एक अर्को समूहसँग नजिक नहुने गरी होटेलले व्यवस्थापन मिलाएको प्रवन्ध निर्देशक पाण्डेले जानकारी दिए ।

होटेलमा आएका पाहुना वा सेवामा खटिएका कर्मचारीमा कोरोना भाइरसको कुनै लक्षण देखिएमा उनलाई तत्काल आइसोलेसन रुममा लगिनेछ । सांग्रिलाले यस्तो रुम मूख्य भवनमा नभई अर्को भवनमा बनाएको छ । अरुबाट छुट्टै राखिएको ती व्यक्तिलाई त्यसपछि भने एम्बुलेन्स बोलाएर अस्पताल वा तोकिएको स्वास्थ्य संस्थामा लगिनेछ ।

‘व्यापार होइन, पूर्वअभ्यास’

सरकारले १५ साउनबाट होटेल र पर्यटन खुला गर्ने निर्णय गरेको भए पनि तत्काल यी सेवाले विजनेश गर्ने सम्भावना छैन । किनकी अहिले व्यवसायिक हवाई उडान प्रतिवन्ध छ । यस्तो प्रतिवन्ध १ भदौबाट मात्र खुला हुनेछ ।

त्यसपछि पनि सरकारले सबै पर्यटकलाई सिधै होटेलमा आउन दिने छैन । क्वारेन्टिनका प्रावधान पुरा गर्नुपर्नेछ । त्यसका लागि तयार भएको अवस्थामा मात्र पाहना आउनेछन् । आन्तरिक पर्यटकका लागि समेत अहिले घुमफिरको सुविधा छैन ।

अहिले व्यापार नभई पाहुनाको स्वागतका लागि पूर्वअभ्यास गर्न मात्र सेवा संचालनमा ल्याइएको होटेल सांग्रीलाका प्रवन्ध निर्देशक पाण्डेले बताए ।‘हामीले पहिलो चरणमा १० प्रतिशत कर्मचारीलाई एक दिनमा बोलाउँछौं’ उनी भन्छन्, ‘आलोपालो गरी कर्मचारीलाई सिक्ने अवसर दिन्छौं ।’ यसरी एक/दुई महिना तालीम दिएपछि असोज/कात्तिकमा आउन सक्ने सम्भावित पाहुनालाई सुरक्षित रुपमा सेवा दिन कर्मचारी तयार हुने उनको भनाइ छ ।

होटेलले कर्मचारीका लागि आवश्यक पोशाकसहित स्वास्थ्य सुरक्षा सामग्री प्रदान गर्नेछ । कर्मचारीको समेत हरेक दिन ज्वरो नापदेखि स्यानिटाइज प्रक्रिया पार गरेपछि मात्र छिर्न सक्ने गरी नियम बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment