Comments Add Comment

लकडाउनपछि मोबाइलको ‘रेकर्ड ब्रेकिङ’ ब्यापार

मोबाइल पसलमा लागेको उपभोक्ताको भीड

१७ असार, काठमाडौं । असार १ पछि लकडाउन खुकुलो भएसँगै मोबाइल पसलहरु खुल्न थाले । पसलहरुमा सुरुमै ग्राहकको बाक्लो उपस्थिति देखियो । त्यतिबेला मोबाइल बिक्रेताहरुलाई लागेको थियो, तीन महिना बन्द रहेको पसल खुल्दा सुरुमा भीड त लागिहाल्छ नि !

तर, सामान्य अवस्थाको भन्दा तेब्बरसम्म व्यापार हुन थाल्यो । मोबाइल छान्न र किन्न पसलमा पुग्नेको संख्या अझै पातलिएको छैन । मोबाइल बिक्रेता संघका अध्यक्ष पुरु बस्नेत भन्छन्, ‘अहिलेजस्तो मोबाइलको ब्यापार यसअघि भएकै थिएन ।’

उनका अनुसार, दशैंतिहारमा पनि मोबाइलको माग यति धेरै हुँदैनथ्यो । अहिले २० हजारदेखि ३० हजारसम्मका मोबाइल सेटको माग आकासिएको बस्नेत बताउँछन् ।

मागअनुसार आपूर्ति गर्न कठीन भइरहेको छ, अहिले पनि बजारमा कतिपय नयाँ मोडलका सेटहरुको अभाव छ-प्रणयरत्न स्थापित, महाप्रवन्धक, सामसुङ नेपाल

भन्सार विभागको तथ्यांकअनुसार लकडाउनको बाबजुद पनि गत आर्थिक वर्षमा नेपालमा कुल ४३ लाख ६५ हजार ९९० वटा सेट (भन्सार मूल्यांकन १८ अर्ब १७ करोड बराबर) वैधानिक च्यानलबाट भित्रिएको थियो ।

त्यसभन्दा अघिल्लो आर्थिक वर्ष (०७५/७६)मा जम्मा ४२ लाख ७५ हजार ५१८ मोबाइल सेट भित्रिएको थियो ।

‘रेकर्ड ब्रेकिङ’ ब्यापार

नेपालमा सबभन्दा धेरै बिक्री हुने मोबाइल ब्रान्ड ‘सामसङ’को अनुभवले पनि अध्यक्ष बस्नेतको भनाइलाई पुष्टि गर्छ । जुलाई महिनामा सामसङ मोबाइलले नेपालमा ‘रेकर्ड ब्रेक’ ब्यापार गरेको बताउँछन् सामसुङ इलेक्ट्रोनिक्सका नेपाल हेर्ने महाप्रवन्धक प्रणयरत्न स्थापित ।

‘हामीलाई मागअनुसार आपूर्ति गर्न कठीन भइरहेको छ, अहिले पनि बजारमा कतिपय नयाँ मोडलका सेटहरुको अभाव छ,’ उनी भन्छन्, ‘मँहगो पर्ने चार्टर्ड फ्लाइटबाट ल्याएको फोनले पनि बजारको माग धान्न गाह्रो भयो ।’

लकडाउन खुकुलो भएपछि आपूर्ति बढाउँदै लगिए पनि अझै मागअनुसार ग्राहकलाई मोबाइल दिन नसकिएको स्थापित बताउँछन् ।

प्रणयरत्न स्थापित

‘लकडाउन खुल्नासाथै बजारमा मोबाइलको माग यसरी बढ्यो कि आपूर्ति सहज बनाउनै चुनौती भयो,’ उनी भन्छन्, ‘हामीलाई यसरी माग बढ्ला भन्ने लागेको थिएन, तर जुलाईमा अहिलेसम्मकै सबभन्दा धेरै मोबाइल बिक्यो ।

महामारीबाट सिर्जित बजार

स्थापितका अनुसार लकडाउनमा मोबाइल पसलहरु बन्द रहँदा थुप्रिएर बसेको माग (पेन्ट अप डिमान्ड) एकैपटक आउँदा यस्तो व्यापारिक अवसर सिर्जना भएको हो ।

बजारमा अझै मागअनुसार मोबाइल आपूर्ति हुन नसक्नुले भने ब्यापार बढाउने अरु पनि कारण रहेको संकेत गर्छ । व्यापारीहरुका अनुसार मोबाइलको ब्यापार बढ्नुको सबभन्दा महत्वपूर्ण कारण हो- कोभिड १९ ले सिर्जना गरेको जोखिम ।

भेटघाटका लागि बाहिर निस्कन नमिल्ने भएपछि समय बिताउन पनि स्मार्ट फोन चाहियो, वर्क फर्म होमको अवधारणा आएसँगै यस्ता डिभाइसको माग हवात्तै बढ्यो – दीपक मल्होत्रा अध्यक्ष, आईएमएस समूह

यो जोखिम नियन्त्रण गर्न लागु गरिएको लकडाउनले मोबाइलमा मानिसको निर्भरता बढायो । मोबाइल बिक्रेता संघका अध्यक्ष बस्नेतका अनुसार सामाजिक दुरीको कारण पनि मोबाइलको प्रयोग बढ्यो ।

अहिले त अनलाइन कक्षा र भर्चुअल मिटिङहरु बाक्लिएका छन् । यसले गर्दा पनि स्मार्ट फोनको माग हृवात्त बढ्यो । ‘घरमा भएको एउटा ल्यापटपले परिवारका सबैलाई पुगेन’, बस्नेत भन्छन्, ‘थप डिभाइस चाहिएपछि सबैभन्दा उपयुक्त विकल्प मोबाइल नै बन्यो ।’

उनको अनुभवमा लकडाउनका कारण घरमै बस्नुपर्दा भिडियो हेर्दा, गेम खेल्दा, अनलाइन सपिङ तथा कारोबारहरु गर्दा मोबाइल चलाउने बानी परेकाले पनि मानिसहरु किन्न आइरहेका छन् ।

नेपालको सबभन्दा मोबाइल आपूर्तिकर्ता कम्पनी आईएमएस समूहका अध्यक्ष दीपक मल्होत्रा इन्टरनेटको पहुँच बढ्दै जाँदा स्मार्ट फोन अपरिहार्य बनिरहेको बताउँछन् ।

विगतमा बिलासी वस्तु मानिएको स्मार्टफोन अहिले हरेकको आवश्यकता बनेकाले पनि यसको ब्यापार फस्टाएको उनको निष्कर्ष छ । कोभिड- १९ महामारीपछिको अवस्थाले त स्मार्ट डिभाइसलाई अनिवार्य आवश्यकता बनाइदिएको मल्होत्रा बताउँछन् ।

‘भेटघाटका लागि बाहिर निस्कन नमिल्ने भएपछि समय बिताउन पनि स्मार्ट फोन चाहिने भयो,’ उनी भन्छन्, ‘वर्क फर्म होमको अवधारणा आएसँगै यस्ता डिभाइसको माग हवात्तै बढ्यो ।’

दीपक मल्होत्रा

मोबाइल मात्रै हैन, ट्याबलगायतका डिभाइसको व्यापार पनि बढेको उनले बताए ।अहिले चार्टर्ड बाहेकका अन्तर्राष्ट्रिय उडान बन्द छ । विदेशबाट आफन्त वा साथीभाईले मोबाइल सेट उपहार ल्याउन पुरै रोकिएको छ । यसबाट पनि मोवाइल व्यापार बढ्न सघाउ पुगेको छ ।

तस्करी नियन्त्रणले लाभ

व्यवसायीहरुका अनुसार नेपालमा अहिले मोबाइलको ब्यापार बढ्नुमा तस्करीमा भएको नियन्त्रण पनि एउटा कारण हो । लकडाउनका कारण मोबाइलको चोरीपैठारी लगभग ठप्प भएको सामसङका नेपाल महाप्रवन्धक स्थापित बताउँछन् ।

नेपालमा वैधानिक च्यानलबाट सयवटा मोबाइल सेट भित्रिँदा ५०-६० वटा अवैध बाटो भएर आउने अनुमान छ । लकडाउन कडा भएपछि त्यो अवैध बाटो बन्द भयो ।

स्थापितका अनुसार लकडाउनअघि मोबाइल कम्पनीहरुले भित्र्याएका नयाँ फिचर्सका मोबाइलहरु पनि ब्यापार बढाउन सहायक सिद्ध भए ।



तस्वीर: विकास/चन्द्र/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment