
News Summary
Generated by OK AI. Editorially reviewed.- डिजिटल युगमा मोबाइलले हाम्रो ध्यान, धैर्य र मानसिक स्थिरतालाई कमजोर बनाउँदैछ।
- सामाजिक सञ्जालले निरन्तर सूचना दिँदा दिमाग सतही जानकारीमा अड्किन्छ र ध्यान केन्द्रित गर्न गाह्रो हुन्छ।
- कलामा समय बिताउँदा ध्यान स्थिर हुन्छ र दिमागलाई नकारात्मकताबाट टाढा लैजान मद्दत गर्छ।
बसमा यात्रा गर्दा, खाली समयमा वा टिभी हेर्दा प्रत्येक दोस्रो व्यक्ति मोबाइलमा व्यस्त देखिन्छ । उनीहरूका औंलाले सामाजिक सञ्जाललाई निरन्तर स्क्रोल गरिरहन्छन् ।
यसले के देखाउँछ भने अहिलेको डिजिटल युगमा, मोबाइल हाम्रो जीवनको अभिन्न अंग बनेको छ, जसले एकातिर हामीलाई संसारसँग जोडेर राख्छ, भने अर्कोतर्फ हाम्रो ध्यान, धैर्य र मानसिक स्थिरतालाई
बिस्तारै कमजोर बनाउँदैछ ।
ध्यानलाई मानिसको सबैभन्दा ठूलो शक्ति मानिन्छ । पूर्ण ध्यान अर्थात् ध्यान केन्द्रित गरेर काम गर्ने व्यक्तिले कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न सक्छ । तर, मोबाइल र सामाजिक सञ्जालको बानीले ध्यानको यो शक्तिलाई बिस्तारै कमजोर बनाउँदैछ ।
हो, मोबाइल संसारले हामीलाई तत्काल सुविधा दिएको छ, तर बदलामा यसले हाम्रो ध्यान, धैर्य, मानसिक स्थिरता र क्षमतामा गहिरो असर पारेको छ । त्यसैले, हामीले यो डिजिटल बानीलाई बुझ्नु आवश्यक छ । आफ्नो संसारलाई स्क्रिनमा चलिरहेको संसारसँग यति हदसम्म नजोड्नुहोस् कि त्यहीँ तपाईंको संसार बनोस् ।
मोबाइलले कसरी ध्यान भड्काइरहेको छ ?
वास्तवमा, हरेक क्षण सामाजिक सञ्जालमा केही न केही नयाँ सामग्री आइरहन्छन् । सूचना आएर सूचित हुनु राम्रो कुरा हो ।
तर, सूचना हर सेकेन्डमा निरन्तर बाढी जसरी ओइरो लाग्दा हाम्रो दिमाग सतही जानकारीमा अड्किन्छ र गहिरो रूपमा सोच्न वा एक ठाउँमा ध्यान केन्द्रित गर्न गाह्रो हुन्छ ।
अर्को कारण भनेको सामाजिक सञ्जालमा हामी केही सेकेन्डमा एउटा पोस्टबाट अर्को पोस्टमा जान्छौं । यो बानीले दिमागलाई बिस्तारै लामो समयसम्म एउटै काममा ध्यान केन्द्रित गर्नबाट रोक्छ ।
त्यति मात्र होइन, अहिले एउटा रिल वा भिडियो समेत लामो समयसम्म हेर्ने धैर्य हामीसँग छैन । एउटा हेर्दाहेर्दै हामी यसलाई बीचमा छाडेर अर्को भिडियोमा जान्छौं । फलस्वरूप, लामो समयसम्म कुनै पनि काममा ध्यान केन्द्रित गर्न गाह्रो हुँदै गइरहेको छ । यसले विचार र बानीहरू पनि प्रभावित हुन्छन् ।
१. निर्णय लिन नसक्ने
सामाजिक सञ्जालमा धेरै विकल्पहरू बीच दिमाग अलमल्लमा पर्छ । र, थकित महसुस गर्न थाल्छ । जसकारणले निर्णय लिने क्षमता प्रभावित हुँदै गइरहेको छ । जीवनमा महत्त्वपूर्ण निर्णय लिनुपर्दा, हाम्रो दिमाग गहिरो रूपमा सोच्न असमर्थ हुन्छ ।
२. रचनात्मकताबाट टाढा हुँदै
मोबाइलको दुनियाँमा अल्झिएर, मानिसहरू बिस्तारै चित्रकला, लेखन वा संगीत जस्ता आफ्ना रचनात्मक गतिविधिहरूबाट टाढा हुँदै गइरहेका छन् । पढ्ने रुचि पनि घट्न थालेको छ । एकातिर किताब र अर्कोतिर मोबाइल हुँदा धेरैजसो मानिसहरू मोबाइल उठाउन रुचाउँछन् ।
३. मल्टिटास्किङ गर्ने बानी
एकै पटकमा धेरै एपहरूमा चाहार्दा मानिसलाई एकैसाथ धेरै काम गर्न सकिन्छ भन्ने भ्रम हुन्छ । जबकि, वास्तविकतामा, तिनीहरू आफ्नो पूर्ण क्षमतामा एउटा काम पनि गर्न सक्षम हुँदैनन् ।
कलासँग जोडिएर तपाईं सुधार गर्न सक्नुहुन्छ
जब दिमागलाई केही रचनात्मक काम दिइन्छ, यो बिस्तारै मोबाइल र सामाजिक सञ्जालको बानीबाट टाढा हुन थाल्छ । कला यस दिशामा प्रभावकारी माध्यम बन्न सक्छ । चित्रकला, संगीत, नृत्य, लेखन जस्ता कलाका विभिन्न रूपहरूले एकाग्रता बढाउने मात्र होइन, दिमागलाई शान्ति र आनन्द दिन्छ ।
कलाले कसरी मद्दत गर्छ ?
– कलामा व्यस्त हुनेबित्तिकै व्यक्तिको ध्यान स्थिर हुन्छ । त्यही गतिमा जाँदा ध्यान भड्किँदैन ।
– जब हामी आफैंले केही सिर्जना गर्छौं, चाहे त्यो चित्रकला होस्, कविता होस् वा हस्तकला, हामी आत्म–सन्तुष्टिको भावना महसुस गर्छौं ।
– रचनात्मक प्रक्रियाले दिमागलाई नकारात्मकताबाट टाढा लैजान्छ । यसले खाली समयलाई स्क्रोल गर्नुकोसट्टा सिर्जनामा परिणत गर्छ ।
– चित्रकलामा लाग्न सके रङहरूसँग खेल्दा दिमाग स्थिर र एकाग्र हुन्छ ।
– शास्त्रीय नृत्य÷संगीतमा लाग्ने हो भने अनुशासन र गहिरो ध्यान गर्ने बानी बसाल्छ ।
– हातले गर्ने केही काम सिलाई, बुनाई र हस्त कला गर्ने हो भने दिमागका विभिन्न भागहरू जागृत हुन्छन् । मोबाइल फोनको आवश्यकता पर्दैन । हरेक दिन कम्तीमा ३०
मिनेट कलामा समर्पित गर्ने प्रयास गर्नुपर्छ ।
– चेस, लुडो, पजल, क्रसवर्ड लगायत जस्ता बोर्ड गेमहरूले मनोरञ्जन मात्र दिँदैनन् तर दिमागको गति र एकाग्रता पनि बढाउँछन् । बाहिरी खेलहरू पनि खेल्न सकिन्छ ।
– किताबहरू पढ्नाले दिमागलाई स्थिरता, कल्पनाशक्ति र गहिरो सोचको शक्ति दिन्छ । हरेक दिन कम्तिमा २०–३० मिनेट किताबहरू पढ्ने बानी बसाल्नुपर्छ ।
प्रतिक्रिया 4