
१८ साउन, काठमाडौं । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा संकटकाल घोषणा गरिएको छ । साथै लकडाउनको नयाँ नियम लागू गरिएको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढेसँगै अष्ट्रेलियाको उक्त राज्यमा संकटकाल घोषणा गरिएको हो । भिक्टोरियाका प्रिमियर ड्यानिअल एन्ड्रयुजले आइतबार साँझको ६ बजेदेखि संकटकाल लागू हुने बताएका छन् ।
नयाँ नियमपछि भिक्टोरियाको राजधानी मेलबर्नमा रातको समयमा कफ्र्यु लगाइनेछ । सहरमा जारी गरिएको घरमा नै बस्ने नियममा थप कडाइ गरिनेछ । यसअघि व्यवस्था गरिएअनुसारको घरबाट बाहिर जान पाउनुपर्ने प्रयोजनहरु घटाइएको छ ।
मानिसहरुले आफ्नो घरभन्दा पाँच किलोमिटरभन्दा टाढा जान पाउने छैनन् । एक दिनमा एकपटक मात्र अभ्यास र शपिङका लागि बाहिर जान पाइनेछ । शुरुवातमा कोरोना भाइरसलाई नियन्त्रणमा राखेको अष्ट्रेलियामा अहिले कोरोना भाइरसका १७ हजारको हाराहारीमा संक्रमित फेला परेका छन् भने करिब दुई सयजनाको मृत्यु भएको छ ।
यद्यपि पछिल्लो केही समययता भिक्टोरियामा निरन्तर कोरोना भाइरसका नयाँ संक्रमित बढिरहेका छन् । नयाँ संक्रमण बढेसँगै जुलाईको शुरुदेखि लकडाउन लगाइएको थियो । आइतबार दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भिक्टोरियामा कोरोना भाइरसका ६७१ नयाँ संक्रमित फेला परेका छन् । यो राज्यमा अहिलेसम्म समग्र संक्रमितको संख्या ११ हजार ५५७ पुगेको छ भने मृत्यु हुनेको संख्या १२३ पुगेको छ ।
स्रोत :बीबीसी
प्रतिक्रिया 4